वीरेन्द्रनगर। यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ। संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भीड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज मानिस खचाखच भएको दृश्य देखियो।
वीरेन्द्रनगर नगरपालिकाको दक्षिण अर्थात् अत्याधुनिक रङ्गशाला निर्माणधीनस्थलको उत्तरपट्टीको चौरमा एकाएक मान्छेहरू जम्मा भए र गोलो घेरा बनाएर देउडा खेल्न सुरु गरे। घरमा हुँदा देवदारका ठूला मुढा बाल्दै रातभरि जाग्राम बस्ने, एकाबिहानै चिसो पानीले नुहाइधुआइ गर्ने, आलु पोल्ने, फर्सी, पिडालु, भट्याउला (कन्दमूल) पकाउने र सेल रोटीसहितका मिठामिठा परिकार खाएर माघे सङ्क्रान्ति मनाउने उनीहरूले सुर्खेतमा देउडा खेलेरै यो पर्व मनाएका हुन्।
खासगरी थारु समुदायले माघी अर्थात् नयाँ वर्ष, मगर समुदायले मकर सकरातीका रूपमा मनाउँदा साविकको कर्णालीवासीले माघे सङ्क्रान्तिका रूपमा मनाउँदै आएका छन्। आज पर्वको अवसर भए पनि अक्सर यहाँका नागरिकले हरेक महिनाको १ र १५ गते देउडा खेल्ने गर्दछन्। कोरोना महामारीको बढ्दो सङ्क्रमणका विषयमा थाहा भए पनि देउडाबाट आफ्ना बिरह, दुःख, गुनासाका पोख्नुका साथै भलाकुसारी गर्न पाउँदा त्यसैमा उनीहरूले बढी सन्तुष्टि लिएका छन्।
कर्णालीका संस्कृतिसम्बन्धी जानकार डिल्लीप्रसाद तिवारीले देउडा खेल मात्र नभएर यहाँको सांस्कृतिक र मौलिक पहिचान भएको बताए। “देउडाले यहाँको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षलाई राम्रोसँग उजागर गर्दछ”, तिवारीले भने, “यो हाम्रो आपसी सम्बन्ध र सद्भावको सङ्गम पनि हो। समग्रतामा देउडा कर्णालीको सम्पति हो।”
तातोपानी गाउँपालिका जुम्लाका स्थानीय ज्येष्ठ महिला खुम्बिरा शाहीले देउडालाई कर्णालीको जीवनको संज्ञा दिइन्। “हामी देउडामै वेदना पोख्छौँ, यसमै हाँस्छौँ, यसमै रुन्छौं र यसबाटै समाजलाई सचेत बनाउछौँ,” उनले भनिन्। देउडाले मनोरञ्जन दिनुका साथै आफन्त, दाजुभाइ, दिदीबहिनीबीच मिलन गराउने उनले बताइन्।
तिला गाउँपालिका जुम्लाका स्थानीय महिला कालिका भट्टराईले देउडालाई समस्या, सङ्घर्षका सबै कुरा बिसाउने सरल, सहज र मौलिक माध्यमका रुपमा चित्रण गरिन्।
Facebook Comment
Comment