स्वास्थ्यकर्मी आफैँ बिरामी हुँदा उपचारमा समस्या

उपचारमा खटिने डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी आफैँ बिरामी हुन थालेपछि अस्पतालका बिरामीको उपचारमै समस्या हुनसक्ने असहज परिस्थिति सिर्जना हुनसक्ने खतरा बढेको छ ।

स्वास्थ्यकर्मी आफैँ बिरामी हुँदा उपचारमा समस्या

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या पछिल्ला केही दिनयता उच्च दरमा वृद्धि भइरहेको छ।

महामारी पुन: फैलिएपछि अस्पतालमा बिरामीको सङ्ख्या त बढ्ने नै भयो ।  त्यससँगै स्वास्थ्यकर्मी आफैँ पनि सङ्क्रमित हुने दर बढेको छ ।

एक सातामा वीर अस्पतालका १५ जना र त्रिविका ६० जना गरि ७५ जना स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन्। सबै खाले विशेषज्ञहरूमा सङ्क्रमण पुष्टि भएको छ।

उपचारमा खटिने डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी आफैँ बिरामी हुन थालेपछि अस्पतालका बिरामीको उपचारमै समस्या हुनसक्ने असहज परिस्थिति सिर्जना हुनसक्ने खतरा बढेको छ ।

मीनभवनस्थित सिभिल अस्पताल पनि धेरै कर्मचारी सङ्क्रमित भएको अस्पतालमा कार्यरत डा. विदेश विष्टले जानकारी दिए। उनले भने, “यो पटक कोभिड भाइरसले बढी असर पुर्‍याउने भनकै अस्पताललाई हो, त्यस कारण यो पटक चिकित्सकको अभाव होला जस्तो देखिन्छ।

२९ पुसमा मात्र १५ हजार जनाको स्वाव परीक्षण गर्दा ३ हजार ३५३ जनामा सङ्क्रमण पुष्टि भयो। १९ पुसमा ३ दशमलव ६ प्रतिशत सङ्क्रमित दर रहेकोमा २९ पुससम्म (९ दिन) सम्म आइपुग्दा ह्वात्तै बढेर २३ दशमलव ६ प्रतिशतमा पुगेको छ भने अस्पतालमा भर्ना हुने बिरामीहरूको संख्या पनि बढ्दै गइरहेको छ।

९ दिनमै २० प्रतिशतले सङ्क्रमित दर बढेसँगै सङ्क्रमितहरू अस्पताल भर्ना हुने दर पनि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सङ्क्रामक रोग विशेषज्ञ तथा टेकु अस्पतालका पूर्व निर्देशक डा. सागरराज भण्डारीले भने, ”यसरी नै तीव्र गतिमा सङ्क्रमण बढ्दै गयो र स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित भए भने उपचारै गराइदिने व्यक्तिकै कमी हुनसक्ने जस्तो देखिएको छ।”

सशस्त्र प्रहरी बल अस्पताल

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा अहिले ७० जना सङ्क्रमितहरू उपचाररत छन्। ७० जना मध्ये ६ जना आइसीयू र वाकी सबै जनरल वार्डमा उपचाररत रहेको प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले भने।

२६ पुसमा अस्पतालमा ३० जना सङ्क्रमित मात्र थिए भने ४ दिन मै बढेर पुस २९ मा ५५ जना सङ्क्रमित भर्ना भएको उनले बताए। पुसको बीचतिर (१५ गते) ७-८ जनाको हाराहारीमा सङ्क्रमित उपचाररत थिए भने त्यो संख्या बढ्दै अहिले दैनिक १० देखि १४ जनासम्म भर्ना भएको उनले बताए।

उनी भन्छन्, “६ दिनयता अस्पतालमा भर्ना हुन आउने सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ र यो अझै बढ्दै जाने अनुमान गरिएको छ।” अस्पतालमा भर्ना हुन आउने बिरामीहरू दोस्रो लहरको जस्तो अक्सिजनमा राख्नु नपरेको उनको भनाइ छ।

“लक्षण नभएर अस्पताल कोही पनि आउदैनन,” उनले भने, “तर पहिलेको जस्तो गम्भीर लक्षण भने यो पटकको सङ्क्रमितहरूमा देखिएको छैन र अक्सिजन नै राख्नुपर्ने अवस्था पनि अहिलेसम्म छैन।”

सङ्क्रमितहरूमा हल्का ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने र रुघाखोकी जस्ता लक्षण देखिएको र पहिलेको तुलनामा अहिले अलि गाह्रो नभएको उनले बताए।

त्रिवि शिक्षण अस्पताल

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना सङ्क्रमितको ह्वात्तै बढेको छ। २७ पुसमा २१ जना सङ्क्रमित रहेकोमा २९ पुसमा ३८ जना सङ्क्रमित उपचाररत रहेको उपचारमा खटिरहेका छातीरोग विशेषज्ञ डा. निरज बमले बताए। ३८ जनामध्ये २७ जना जनरल वार्डमा, ९ जना आईसीयू र ३ जना भेन्टिलेटरमा राखिएको उनले बताए।

दैनिक ९-१० जनाको हाराहारीमा सङ्क्रमित अस्पताल भर्ना हुन आएको पनि उनले जानकारी दिए।

वीर अस्पताल

वीर अस्पतालमा पनि २७ पुसमा २७ जना सङ्क्रमित अस्पतालमा उपचाररत थिए भने त्यो संख्या ह्वात्तै बढेर २९ पुससम्म ४६ पुगेको अस्पतालका सहनिर्देशक डा.प्रज्वल श्रेष्ठले बताए।

उनका अनुसार, उपचाररत सङ्क्रमित मध्ये ४ जना आईसीयूमा, ४ जना भेन्टिलेटरमा, ४ जना हाई–फ्लो अक्सिजनमा र बाँकी रहेका ३४ जना भने वार्डमा छन्।

पहिले पहिले सङ्क्रमितहरूमा ज्वरोको लक्षण धेरै देखिन्थ्यो भने अहिले रुघाखोकी,टाउको दुख्ने, जीउ दुख्ने, घाटी खस–खस हुने बढी देखिएको उनको भनाइ छ।

वीरमा १० दिनअघि अस्पतालमा १० जना सङ्क्रमितहरू भर्ना थिए भने अहिले बढेर ४६ पुगेको उनले बताए।

उनी भन्छन्, “माघको तेस्रो सातातिर तेस्रो लहरको उच्च बिन्दुमा पुग्ने छ, त्यसमा लगभग २ लाख ४५ हजार जना बिरामी थपिने छन्, त्यसमध्ये १५ हजारलाई गम्भीर खालको निमोनिया हुने छ भने ४५ लाई मध्यम खालको लक्षण देखिने मन्त्रालयको आँकलन छ।”

वीर अस्पतालमा भर्ना भएका ४६ जनामध्ये २५ जना खोप लगाएको उनले बताए। २५ जनामध्ये १७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने ८ ले पहिलो मात्रा लगाएको सहनिर्देशक डा. श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई पनि पहिलो लहरबाटै कोभिड सङ्क्रमितहरूको उपचार गर्ने केन्द्रका रुपमा छुट्याइएको हो। केन्द्रमा अहिले ३८ जना कोभिड सङ्क्रमितहरू उपचाररत रहेको केन्द्रका कोभिड फोकल पर्सन डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए।

केन्द्रमा २८ पुससम्म दुई हजार ५४० जना सङ्क्रमितहरू भर्ना भएकामध्ये जम्मा एक जनाको मृत्यु भएको, दुई जना भागेको र बाँकी रहेका बिरामीहरू भने निको भएर घर फर्किएको उनले बताए।

उनका अनुसार, अस्पताल शून्यजस्तै थियो तर १५ -२० दिनदेखि भने बिरामीहरू भर्ना हुन आइरहेका छन्। “आजभोलि त दैनिक चार–पाँच जना त सङ्क्रमित भर्ना हुन आउँछन्, अस्पतालको क्षमता १ सय ७५ जना बिरामी राख्ने सक्ने हो”, उनले भने।

अस्पतालमा भर्ना हुन आउने धेरै जसो बिरामी विमानस्थलमा सङ्क्रमण पुष्टि भएर आउने रहेको उनको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अहिले कोभिड १९ सङ्क्रमित बिरामीको चाप बिस्तारै बढ्न थालेको छ। अस्पतालमा २७ पुसमा चार जना बिरामी उपचाररत थिए भने २९ पुस (आज) नौ जना बिरामी उपचाररत छन्।

जसमध्ये चार जना वार्डमा, २ जना आईसीयू र एक जना भेन्टिलेटरमा राखिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

अस्पतालमा लक्षण लिएर आउने बिरामी त धेरै भए पनि भर्ना नै गर्नुपर्ने बिरामीहरू भने निकै कम रहेको उनले बताए ।

नेपाल निजामती (सिभिल) अस्पताल

बानेश्वस्थित नेपाल निजामती (सिभिल) अस्पतालमा १४ जना कोरोना सङ्क्रमित उपचाररत रहेको अस्पतालका कार्यररत डा. विदेश बिष्टले बताए।

अस्पतालमा सङ्क्रमित भएर आउँनेको संख्या धेरै भए पनि भर्ना भने निकै कमलाई मात्र गर्न आवश्यक परेको उनको भनाइ छ।

पाटन अस्पताल

त्यस्तै पाटक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोभिड सङ्क्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।
हाल अस्पतालमा ४५ जना सङ्क्रमितहरू उपचाररत छन्। ती मध्ये २१ जना जनरल वार्डमा, १७ जना एचडीयु, ५ जना आइसीयू र २ जना भेन्टिलेरमा राखिएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए।

स्वास्थ्यकर्मी नै बढी सङ्क्रमित हुने अनुमान

एक सातामा वीर अस्पतालका १५ जना र त्रिविका ६० जना गरि ७५ जना स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन्। एकसाता देखि कोभिड वार्ड मै काम गर्ने स्वास्थ्यकर्मी डाक्टर देखि रेडियोलोजीस्ट, डेन्टिस्ट, मेडिकल अफिसर नर्सगरि १५ जना सङ्क्रमित बनेको वीर अस्पतालका सह–निर्देशक प्रज्वल श्रेष्ठले बताए।

त्यस्तै त्रिवि शिक्षण अस्पतालमा नर्सिङ निर्देशकदेखि लिएर आईसीयू र इर्मेनेन्सीमा काम गर्ने धेरैमा सङ्क्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा‍. दिनेश काफ्लेले बताए।

“अहिलेसम्म ६० जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएको छ,“उनले भने, “एक जनाबाट अर्को जनामा छिटो सरेका कारण एक हप्तादिन मै सङ्क्रमितको संख्या ६० पुगेको हो तर सबै जनाको स्वास्थ्य अवस्था राम्रै छ।”

६० जना स्वास्थ्यकर्मी नै सङ्क्रमित बनेपछि बेलुका, बिहान सिफ्टअनुसार काम गर्ने नै नभएपछि अस्पताललाई निकै भार परेको उनले बताए।

उनी भन्छन्, “६० जना बिरामी त अस्पतालमा भर्ना भएका बिरामी मात्र हुनुहुन्छ , सय जना जति इर्मेजेन्सीमा हुनुहन्छ, हिजो मात्र एक जनाको मिर्गौला प्रत्यारोपण गर्नु थियो तर डोनर नै पोेजेटिभ भएपछि रोकियो सबै तिर गाह्रो नै भइरहेको छ।”

अहिले लक्षण त्यति कडा नदेखिने भएकाले चिसोले गर्दा होला भन्ने धेरैलाई लागेका कारण सङ्क्रमण एक व्यक्तिबाट अर्कोमा सजिलै पुगिरहेको उनको भनाइ छ। त्यस कारण लक्षण देखिने व्यक्ति र स्वास्थ्यकर्मीले विशेष सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

केही दिन पहिले मात्र डा. रवि शाक्यले पनि, दोस्रो लहरमा अक्सिजनको अभाव भए जसरी यो पटक स्वास्थ्यकर्मीको अभाव हुने हो कि भन्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved