तेस्रो लहरसँग जुध्न यस्तो छ उपत्यकाका अस्पतालको तयारी

पहिलो र दोस्रो लहरको अनुभवबाट सिक्दै सम्भावित नयाँ लहरको सामना गर्न पूर्ण रूपमा तयार रहेको सरकारी अस्पतालहरूको दाबी छ।

तेस्रो लहरसँग जुध्न यस्तो छ उपत्यकाका अस्पतालको तयारी

काठमाडौं। कोभिड संक्रमणको दर ह्वात्तै बढेको छ। पछिल्लो एक हप्तामै नेपालमा संक्रमण दर १० प्रतिशत पुगेको छ। विज्ञहरू नेपाल कोभिड महामारीको अर्को लहरको संघारमा पुगिरहेको बताइरहेछन्।

बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राखेर सरकारले देशभरका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

सरकारले देशभरका ७८ वटा अस्पताललाई कोभिड–१९ केयर युनिट सञ्चालन भएका अस्पतालको सूचीमा राखेको छ। कोभिडको सम्भावित नयाँ लहरको सामना गर्न विभिन्न अस्पतालको तयारी यस्तो छ :

वीर अस्पतालको तयारी

सरकारले वीर अस्पताललाई कोभिड–१९ केन्द्रिय अस्पताल भनेको छ। कोभिड–१९ युनिफाइड अस्पताल समेत नाम दिइएको यो अस्पतालले काठमाडौं उपत्यका भित्रका १३ वटा कोभिड अस्पताल र सबै प्रदेशका सात वटा अस्पतालसँग समवन्य समेत गर्दछ।

वीर अस्पताललाई पाँच सय बेड पूर्णरूपमा तयारी अवस्थामा राखेको अस्पतालका प्रशासकीय अधिकृत प्रा.डा भुपेन्द्रकुमार बस्नेतले बताए।

“सय वटा आइसीयू, सय वटा एचडीयू नयाँ भवनमा छ तर परेको खण्डमा पुरानो वीर अस्पताललाई पनि प्रयोगमा ल्याएर आइसीयू र एचडीयू ४ सय बेडको हारारीमा पुर्याउन सक्छौं,” उनले भने।

अस्पतालले २४ घण्टानै पीसीआर जाँचदेखि हटलाइनको समेत व्यवस्था गरेर सेवा गरिरहेको उनले बताए। तथापी दोस्रो लहरमा जस्तो समस्या नहुने डा. बस्नेतको आकलन छ।

“अहिले सबै अस्पतालहरूले आफुलाई डिभ्लप गरेका छन्”, उनी भन्छन्, “भेन्टिलेटरदेखि लिएर अक्सिजन समेत जडान गरेका छन्। अहिलेसम्म ओमिक्रोन दोस्रो लहर जस्तो संक्रामक पनि देखिएको छैन हुन त यो पछिका दिनहरूले देखाउने हो, देखिएको छैन भने हेलचक्राइ गर्नु त भएन।”

तयार अवस्थामा रहेका कारण दोस्रो लहरमा जस्तो उपचारकै अभाव हुने अवस्था आउने सम्भावना न्यून रहेको उनले दाबी गरे।

“पहिलेको जस्तो यो पटक उपचार र अस्पताल नै नपाएर भौतारिनु पर्ने अवस्था आउने छैन्, सबैतिर तयारी गरिरहेका छौं,” उनले भने, “कोभिडका लागि छुटाइएका बेडहरू अपुग भए भने ननकोभिडका बेडहरू पनि थप्दै लैजान्छौं।”

त्रिवि शिक्षण अस्पतालको तयारी

त्रिवि शिक्षण अस्पतालमा अहिले कोभिड संक्रमितका लागि भनेर ३८ वटा बेड मात्र छुट्टाइएको छ तर आवश्यकता अनुसार सात सय सम्म बिरामी धान्न सक्ने क्षमता भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए।

उनका अनुसार त्रिविले दोस्रो लहरमा १२ वटा एचडीयू बेड छुटाएको थियो भने अहिले ६ वटा बेड थपेर  १८ वटा पुर्‍याएको छ। ५० वटा भन्दा बढि आइसीयू बेड छन् भने  करिब ६० वटा भेन्टिलेटरहरू चल्न सक्ने अवस्थामा छन्।

“सरकारले तयारी अवस्थामा रहन भनेको छ तर एकै पटक ह्वात्तै संक्रमित आउने हुदैन, बिस्तारै आउने होला हामीसँग सम्पूर्ण सामग्रीहरू छन्, जडान गर्न धेरै समय लाग्दैन बिरामी आउँदासम्म सबै तयारी पुरा गर्छाैं,” उनले भने।

अस्पतालसँग पहिले नै दुईवटा अक्सिजन प्लान्ट भएको र अहिले एउटा थपिएको उनले जानकारी दिए।

त्रिवि अस्पतालमा एक हप्तादेखि पाँच जनाका दरले कोभिड संक्रमित बिरामी थपिएको उनले जानकारी दिए।

टेकु अस्पतालको तयारी

टेकुस्थित ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’को नाम नसुन्ने कमै होलान्। कोभिड महामारीको शुरुदेखि नै यो अस्पतालले अहं भूमिका निर्वाह गरिरहेछ। पहिलो र दोस्रोगरी महामारीका दुवै लहरमा यस अस्पतालले २५ सय भन्दा बढी संक्रमितको उपचार गरेको थियो। त्यतिबेलाको अनुभवबाट पाठ सिक्दै सम्भावित नयाँ लहरका लागि पूर्ण रूपमा तयार रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

“पहिलो र दोस्रोे लहरले हामीलाई धेरै कुरा सिकाएको हुनाले हामी अहिले पूर्वतयारी अवस्था मै छौं, चाहे त्यो स्वास्थ्य सामग्रीको हिसाबले होस कि स्वास्थ्यकर्मीको तर्फबाट होस वा भौतिक सामग्रीको तर्फबाट होस्”, गौतमले भने।

टेकु अस्पतालमा पहिले २४ यटा आइसीयू बेड थियो भने अहिले त्यसलाई बढाएर  २८ वटासम्म बनाउन सकिने उनको भनाइ।

उनका अनुसार अस्पतालमा २४ वटा नै भेन्टिलेर र १ सय वटा बेड छन् दोस्रोे लहर जस्तै चाप बढ्यो भने टहरामा राखेर थप २५ वटा बेड पनि संचालन गर्न सकिन्छ।

दोस्रो लहरमा टेकु अस्पतालमा एउटा मात्र लिक्विड अक्सिजन प्लान्ट थियो भने अहिले दैनिक १ सय सिलिन्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट पनि जडान गरिएको सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।

दोस्रो लहरपछि अस्पतालमा क्रिटिकल केयर र रेडियोलोजिस्ट गरेर ६ जना चिकित्सकहरू थपिएको उनले जानकारी दिए। कोभिड संक्रमण भएर भर्ना हुन आउनेको दर कम नै भए पनि बहिरंग सेवामा आउनेको संख्या भने बढेको उनले बताए।

सशस्त्र प्रहरी बल अस्पतालको तयारी

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा एक हप्ता पहिले नौ जना संक्रमित थिए भने अहिले ३० पुगेकोे कोभिड फोकल पर्सन डा.प्रबिन नेपालले बताए।

“ल्याबमा पीसीआर गर्नेको संख्या पनि ह्वात्तै बढिरहेको छ”, उनले भने,“ इर्मेजेन्सीमा आएकाहरू पनि संक्रमण पुष्टि भएको छ।”

सशस्त्र प्रहरी बल अस्पतालमा लिक्विड अक्सिजन एउटा र दैनिक एक सय सिलिन्डर भर्न सक्ने क्षमताको भएको अक्सिजन प्लान्ट रहेको उनले बताए।

उनका अनुसार दोस्रो लहरमा भएको जस्तो अक्सिजन अभाव यो पटक नहोस् भनेर अर्को अक्सिजन प्लान्ट पनि जोडिँदै छ।

त्यस्तै, अस्पतालमा ४० वटा भेन्टिलेटर छन् भने कोभिडका लागि दुई सय वटा बेड छुट्टाइएको छ। संक्रमितको संख्या बढ्दै गए बेड थप्न सकिने उनले बताए।

“दुई सय वटा बेडमा पनि संक्रमित अटेनन् भने ननकोभिड सेवामा केहि रोक लगाएर त्यता पनि बिरामी राख्न सकिन्छ,” उनले भने, “अस्पतालले पहिले पनि संक्रमितहरूको सेवा गरे कै हो र यो पटक पनि गर्छ, अहिले नै उपचार नपाइएला  भनेर आत्तिनु पर्ने अवस्था छैन।”

पाटन अस्पतालको तयारी

दोस्रो लहरमा ललितपुर स्थित ‘पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले पनि प्रशंसनीय सेवा दिएको थियो। कोभिड संक्रमतिहरूको उपचार गर्ने दोस्रोे ठुलो अस्पतालकारूपमा पनि पाटनलाई लिइएको थियो।

अस्पतालसँग कुल ६ सय ५० बेड क्षमता छ। दोस्रो लहरमा संक्रमण उच्च बिन्दुमा पुगेको बेला एकसाथ तीन सय २० जना संक्रमितको उपचार गरिएको अस्तालका निर्देशक शवि शाक्यले बताए।

उनी भन्छन “अस्पतालको क्षमता  साडे तीन सय हो अहिले ननकोभिडको पनि उपचार भइरहेको छ, संक्रमण बढ्दै गयो भने सबै बेडहरूलाई कोभिडकै लागि पनि छुट्याउन सक्छौं।”

अस्पतालले दैनिक २ सय ७० वटा सिलिन्डर उत्पादन गर्न सक्ने र ३१ वटा आइसीयू, २७ वटा भेन्टिलेटर रहेको उनको भनाइ छ।

“दोस्रो लहरमा अक्सिजनको कमी भयो यो पटक स्वास्थ्यकर्मीको अभाव हुने हो कि भन्ने लागि रहेको छ,” उनले भने,“संक्रमण छिटो फैलिने भएकाले उपचारमै खटिएका डाक्टर पो संक्रमित बन्ने हुन कि भन्ने डर लागिरहेको छ।”

कुन प्रदेशमा कति स्वास्थ्य सामग्री ?

सरकारले पहिलो लहरमा कोभिड संक्रमितहरको मात्र उपचार गर्ने केहि अस्पताल मात्र तोकेको थियो तर दोस्रो लहरमा धेरै संख्यामा संक्रमित थपिएपछि कोभिडबाहेकका बिरामीको सेवा नरोकिने गरी सरकारी र निजी दुवै क्षेत्रका अस्पतालले  कोभिडको उपचार गर्नैपर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले ल्यायो।

त्यसकारण सरकारले देशभरका अस्पतालहरूमा २५ वटा अक्सिीजन ट्यांक स्थापना गर्ने योजना बनायो। त्यसमध्ये १९ वटा जडान गरिसकेको छ। त्यस्तै एक सय सातवटा अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाइएकोमा ८७ वटा जडा गरिसकेको मन्त्रालयका प्रवक्ता डा. अधिकारीले बताए।

देशैभर अक्सिजन कन्सन्ट्रेटर ६ सय ९३ वटा, अक्सिजन सिलिन्डर १३ हजार नौ सय ३९, भेन्टिलेटर एक हजार ८ सय, आइसीयू बेड दुई हजार सात सय ९७, एचडीयू ३ हजार आठ सय ४६, आइसोलेशन बेड आठ हजार दुई सय दुईवटा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा मात्र आइसोलेशन बेड दुई हजार चार सय ९४, एचडीयू तीन सय २४, आइसीयू बेड चार सय ४५, भेन्टिलेटर दुई सय ५४ वटा रहेको प्रवक्ता डा. समिरले बताए।

छैन समन्वय

अस्पतालहरूले पर्याप्त तवरमा तयारी गरे पनि राज्यका तीन तहमा प्रभावकारी समन्वय नभएको स्वास्थ्यविज्ञहरूको गुनासो छ। समन्वयको अभाव हुँदा खोप वितरण पनि प्रभावकारी हुन नसकेको उनीहरूको आरोप छ।

प्रधानमन्त्रीकै स्वास्थ्य सल्लाहकार प्रा. डा. आर. पी विच्छाले समन्वय नभएकैले खोप वितरण सुस्त भएको बताए।

“प्रधानमन्त्री ज्यूले पटकपटक खोप अभियानलाई चुस्तदुस्त बनाउँदै लैजानुपर्छ भने तापनि एकआपसमा सम्वन्य नहुादा ढिलो भइरेको हो कि भन्ने लाग्छ,” उनले भने।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीकरकुमार अधिकारीले भने समन्वयको अभाव रहेको स्विकार गरे।

“समन्वय भन्ने कुरा गाह्रो समयमै अलि बढि आवश्यक पर्ने भए पनि यो शब्द जति मिठो छ त्यति नै व्यवहार गाह्रो पनि छ”, डा. अधिकारीले भने।

संघीय, प्रादेशिक र स्थानीय तह बिचको मात्र नभएर अन्तरसंस्थागत तवरमा पनि समन्वय अभाव भएको उनले बताए।

डा. अधिकारीले भने, “स्वास्थ्य मन्त्रालय पनि तीन तहमा विभाजित छ, २५ हजार जति कर्मचारी स्थायितहमै छन्, पाँच देखि ६ हजारको बिचमा कर्मचारी प्रदेशमा छन्, २५ सय जति कर्मचारी सघंमा छन् त्यसकारण पनि सबै कर्मचारी बिच सम्वन्य चुनौतीपूर्ण देखिएको छ।”

२३ पुसमा बसेको सीसीएमसीको बैठकमा पनि मुख्य सचिव शंकरदास बैरागीले पहिलो लहरमा स्थानीय र प्रदेशले संघसँग निकै राम्रो सम्वन्य गरेको देखिए पनि दोस्रोमा कुनै पनि काम नै गरेको नदेखेको बताएका थिए।

यो पटक पनि तीन तहको त्यस्तो अवस्था नआउनका लागि उनले ध्यानाकर्षण गराएका थिए।

 

सातै प्रदेशका अस्पतालहरूको तयारी यस्तो छ :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved