यसकारण संकटमा छैन पूँजीवाद

संकट पूँजीवादको होइन। यो त विश्वव्यापीकरणका असमान असर र परम्परागत रूपमा व्यवसायीकरण गर्न उपयुक्त नठानिएका क्षेत्रमा भएको पूँजीवादी विस्तारले सिर्जना गरेको संकट हो।

यसकारण संकटमा छैन पूँजीवाद

हालैमात्रै ‘पूँजीवादको संकटबारे’ प्रकाशित लेख र किताबहरूको बाढी आएको छ। ती सामग्रीले पूँजीवादको पतन र अवनतिको भविष्यवाणी गर्छन्। सन् १९९० को दशकसम्मको सम्झिने मानिसहरूले एउटा अनौठो समानता पाउनेछन्। त्यतिबेला पनि हेगेलको अवधारणा लिँदै इतिहासको अन्त्य भएको साहित्य प्रकाशित भएको थियो (मिलेनोभिकले फ्रान्सिस फुकुयामाको ‘इन्ड अफ हिस्ट्री’लाई संकेत गरेका हुन्–अनु.)। पछिल्ला साहित्यहरूले त्यो दाबीलाई गलत साबित गरेका छन्। त्यो दाबीलाई मैले भने तथ्यगत त्रुटी र समस्याको गलत निदान भनेको थिएँ।

अहिले गरिरहेको दाबीको विपरीत तथ्यहरूले भने पूँजीवादको संकट नभई अहिलेसम्म सबैभन्दा सबल भएको देखाउँछन। पूँजीवाद भौगोलिक र क्षेत्रगत (जस्तै फुर्सदको समय वा सामाजिक सञ्जाल) दुवै तर्फ फैलिएको छ। यसले विशुद्ध नयाँ बजार निर्माण गरेको छ। र, अहिलेसम्म लेनदेन नै नभएका वस्तुलाई माल बनाइदिएको छ (यहाँ लेखकले भनेको माल (कमोडिटी) को अर्थ हो, बेचिन योग्य वस्तु)।

भौगोलिक रूपमा, पूँजीवाद (वा त्यो मात्रै) अहिले विश्वभरी नै प्रबल उत्पादन पद्दति भएको छ। ७० प्रतिशत श्रमशक्तिलाई जागिर दिने नीजि क्षेत्र भएको स्वीडेन होस् वा ८५ प्रतिशतलाई जागिर दिने अमेरिकामा वा ८० प्रतिशत सामग्री उत्पादन गर्ने (पूँजीवादी तरिकाले संगठित) नीजि क्षेत्र भएको चीनमा होस् यही उत्पादन पद्दति लागू भएको छ। पक्कै पनि यस्तो अवस्था न पूर्वी युरोप र रुसको समाजवाद ढल्नुअघि थियो न त उसले ‘रुपान्तरण’ भने पनि वास्तविकतामा समाजवादी उत्पादन सम्बन्धलाई पूँजीवादी उत्पादन सम्बन्धले विस्थापन गर्नु अघि नै।

थप, विश्वव्यापीकरण र प्रविधी क्रान्तिलाई धन्यवाद दिनैपर्छ। अहिलेसम्म अस्तित्वमै नरहेका असंख्य बजारहरू सिर्जना भएका छन्। ठूलो मात्रामा व्यक्तिगत डेटाको बजार सिर्जना भएको छ (सामाजिक सञ्जाल)। आफ्नै कार र घर भाडामा लगाउने बजार बनेको छ (उबर, लिफ्ट, एयरबीनब आदि कम्पनी नहुँदासम्म तिनले पूँजी सिर्जना गरेका थिएनन्)। त्यस्तै वृद्ध, बालबालिका, घरपालुवा जनावरको स्याहार गर्ने बजार तयार भएका छन्। चाहेको सामग्री ढोकासम्मै ल्याइदिने बजार सिर्जना भएको छ।

यी नयाँ बजारहरूको सामाजिक महत्त्व के हो भने, यिनले नयाँ पूँजी सिर्जना गरेका छन्। त्यसका लागि उनीहरूले अहिलेसम्म उपयोग मात्रै हुने गरेका वस्तु (उपभोग मूल्य)लाई माल (विनिमय मूल्य)मा रुपान्तरण गरेका छन्।

पूँजीवादको यो विस्तार १८औं र १९औं शताब्दीमा युरोपमा भएको भन्दा आधारभुत रूपमा फरक छैन जसबारे एडम स्मिथ र कार्ल माक्र्सले अध्ययन अनुसन्धान गरेका थिए। नयाँ बजारहरू सिर्जना भएपछि यी सबै सामग्री र गतिविधीमा छद्म मूल्य पनि बनेको छ। यसको अर्थ हामी सबैले तुरुन्तै घर भाडामा दिन्छौं वा कारलाई ट्याक्सी बनाइहाल्छौं भन्ने होइन। तर के चाहिँ हो भने त्यसो नगर्दा हामीलाई हुने वित्तीय नोक्सानीबारे सचेत छौं। हामीमध्ये धेरैजसो सही मूल्य पाउनेबित्तिकै (चाहे परिस्थिति फेरिएर होस् वा सापेक्षिक रूपमा मूल्य बढेर) यी नयाँ बजारमा जोडिने छौं र तिनलाई सुदृढ बनाउनेछौं।

पूर्ण दिनको कामको आवश्यकता नपर्ने वा त्यस बराबरको परिणाम नदिने भएकाले यी बजार विभाजित छन्। त्यसैले यो मालकरण (वस्तुबाट माल बन्ने प्रक्रिया) गिग अर्थतन्त्रसँगै जान्छ (रोजगार र सेवा उपलब्ध गराउने संस्था स्थायी हुने तर कामदारको अनुबन्धन अस्थायी र स्वंयनिर्धारित हुने अर्थतन्त्रलाई गिग (नष्न) अर्थतन्त्र भनिन्छ, जस्तै पठाओ वा टुटल –अनु.)। गिग अर्थतन्त्रमा हामी सेवाप्रदायक (फुर्सदमा हामी पठाओ चलाउन सक्छौं) र अहिलेसम्म मुद्रीकरण नभएका सेवा (पकाउने, भाँडा माझ्ने आदि)का सेवाग्राही हुन्छौं।

यस्तो अर्थतन्त्रले हरेक व्यक्तिलाई आफ्ना सबै आवश्यकता पूरा गर्ने सम्भावना बढाइदिएको छ। साथसाथै दीर्घकालीन रूपमा यसले उपयोगिता र परिवारको अस्तित्वजस्ता ठूला समस्या सिर्जना गर्नेछ।

तर प्रश्न हो– पूँजीवाद यसरी सबै दिशामा फैलिएको छ भने हामीले किन यसको संकटको कुरा गरिरहेका छौं ?

किनभने पश्चिमा देशमा सिमित रहेको असन्तोष संसारभर फैलिनेछ भन्ने हामीले ठानिरहेका छौं। तर त्यस्तो हुनेछैन।

त्यस्तो किन हुने छैन भने पश्चिमा असन्तोष विश्वव्यापीकरणको लाभको असमान वितरणबाट सिर्जित भएको थियो। १९ औं शताब्दीको विश्वव्यापीकरणका लाभ युरोपेलीहरूले हत्याएका थिए। अहिलेको पूँजीवादीकरणको परिणाम त्यस्तो हुनेछैन।

विश्वव्यापीकरणको यो नयाँ चरण शुरु हुँदा पश्चिमा देशमा यसलाई राजनीतिक रूपमा ‘बेचिएको’ थियो। खासगरी ‘इतिहासको अन्त्य’बाट शुरु भएको भन्दै यसबाट धनी देश र तिनका जनता लाभान्वित हुनेछन् भनिएको थियो। तर परिणाम ठ्याक्कै उल्टो भयो। यो विश्वव्यापीकरणबाट खासगरी एसिया र त्यसमा पनि चीन, भारत, भियतनाम र इण्डोनेसियाजस्ता अत्याधिक जनसंख्या भएका देश लाभान्वित भए।

यसले पश्चिमा मध्यम वर्गले राखेको आशा र उनीहरूको न्यून आय वृद्धिबिच खाडल बनाइदियो। साथसाथै विश्वव्यापी आय स्तरमा उनीहरूको स्थिति खस्कियो। परिणाम, त्यसले विश्वव्यापीकरणप्रति नै असन्तुष्टि बढाइदियो। यही असन्तुष्टिलाई पूँजीवादप्रतिको असन्तुष्टिको रूपमा गलत निदान गरियो।

अर्को विषय पनि छ। परिष्कृत पूँजीवादको विशेषता हो, समाजका सबैजसो क्षेत्रमा बजारको विस्तार। त्यही विस्तारले राजनीतिलाई व्यावसायिक गतिविधीमा परिणत गरिदिएको छ। सैद्धान्तिक रूपमा राजनीतिलाई बजार क्रयविक्रयको क्षेत्र मानिन्थ्यो। तर अहिले दुवै त्यस्तै भएका छन् अर्थात् राजनीति नै बजार बनेको छ। यसले राजनीतिलाई अझ बढी भ्रष्ट बनाइदिएको छ। राजनीतिलाई अन्य आर्थिक गतिविधि सरह लिन थालिएको छ। यदि कुनै व्यक्ति आफ्नो राजनीतिक कार्यकालमा भ्रष्टाचारमा संलग्न छैन भने पनि त्यतिबेला उसले आर्जन गरेको सम्बन्ध र ज्ञानले त्यसपछि आर्थिक लाभ हासिल गर्न थालेको छ। यस्तो खालको मालकरणले जताततै राजनीति र राजनीतिज्ञप्रति निन्दा र उपेक्षा सिर्जना गरेको छ।

त्यसैले वास्तवमा संकट पूँजीवादको होइन। यो त विश्वव्यापीकरणका असमान असर र परम्परागत रूपमा व्यवसायीकरण गर्न उपयुक्त नठानिएका क्षेत्रमा भएको पूँजीवादी विस्तारले सिर्जना गरेको संकट हो।

अर्को शब्दमा, पूँजीवाद निकै शक्तिशाली बन्न पुगेको छ र कतिपय हकमा दृढ मान्यताहरूसँग ठोक्किन पुगेको छ। यो कि त अहिलेसम्म व्यावसायिक नभइसकेका क्षेत्रमा पनि विजय हासिल गर्दै निरन्तर विस्तार हुनेछ वा यसको ‘कार्यक्षेत्र’ सिमित गर्दै नियन्त्रण गर्नुपर्नेछ जसरी पहिले गरिन्थ्यो।

(सर्बियाली–अमेरिकी अर्थशास्त्री ब्रान्को मिलेनोभिक विकास र असमानताका विज्ञ हुन्। सबस्ट्याक प्लेटफर्ममा प्रकाशित लेखको अनुवाद लेखकको अनुमतिमा लक्ष्मण श्रेष्ठले गरेका हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved