चीनमा छन् तीनथरी असमानता, सी चिनफिङले अन्त्य गर्न सक्लान्?

चिनियाँ विशेषता सहितको समाजवाद अवलम्बन गरिरहेको चीनले अमेरिकाकै अभ्यास दोहोर्‍याइरहेछ जसले तीनथरी असमानता सिर्जना गरेको छ।

चीनमा छन् तीनथरी असमानता, सी चिनफिङले अन्त्य गर्न सक्लान्?

चिनियाँ सरकारले घरेलु नीतिमा हालै गरेको परिवर्तनले विश्वकै ध्यान तानेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशक सिद्धान्तको रुपमा ‘साझा समृद्धि’ सँगै ‘महान् पुनरुत्थान’ पनि जोडिएको छ।

यी परिवर्तन स्थापित गर्न अनेक उपाय अपनाइएको छ। वित्तिय क्षेत्र र ठूला प्राविधिक कम्पनीलाई राजनीतिक हिसाबमा नियन्त्रण गर्नेदेखि लिएर सन् २००८ मा अमेरिकामा आएको जस्ता आर्थिक मन्दिबाट चीनलाई बचाउन दिशामा चीनको नेतृत्व लागि परेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनपिङको इच्छा अनुरुप पार्टीको आगामी निर्वाचनबाट नेतृत्वमा उदय नभएसम्म राजनीतिक कोर्स परिर्वतन गर्दै न्यायसंगत समाज निर्माणका लागि गहन समायोजन गर्ने दिशातर्फ चीन अग्रसर भएको देखिन्छ।

पक्कै पनि ‘साझा समृद्धि’को उद्धेश्यले असमानता  र यसको नियन्त्रणलाई जोड दिन्छ। (प्रसंगवश, यो उद्धेश्य करीब १० वर्षअघि विश्व बैंकले अवलम्बन गरेको नारा ‘साझा समृद्धि’ (सेयर्ड प्रस्पेरिटी) सँग मिल्छ।) गत दुई दशकमा उच्च असमानता चीनको गम्भीर समस्या बन्न पुगेको छ।

गिनी कोफिसियन्ट

चीनको गिनी कोफिसियन्ट ०.४७ छ। अमेरिकाको गिनी कोफिसियन्ट ०.४८ र ‘आर्थिक सहयोग र विकास संगठन’ (ओईसीडी) देशको ०.३५ छ। गिनी कोफिसियन्ट शुन्यदेखि एकको बीचमा गणना गरिन्छ। समानतायुक्त समाजको गिनी कोफियिन्ट शुन्य हुन्छ भने सबैभन्दा धेरै असमान समाजको एक।

गिनी कोफिसियन्टबाट अघि बढेर कसैले चीनको असमानताका अन्य पक्षहरू खोज्छ भने केही दशक अघिको तुलनामा अहिले झनै बढेको पाउनेछ। शहर र गाउँबीच असमानता, ज्यालामा असमानता, नीजी क्षेत्र र राज्य नियन्त्रित क्षेत्रमा काम गर्ने मजदूरहरूबीच असमानता, लैंगिक असमानता– जताततै असमानता बढिरहेछ।

सैद्धान्तिक रूपमा भए पनि यीमध्ये केही असमानता घटाउन सकिन्छ। चिनियाँ सरकारले अहिले त्यहीँ गरिरहेछ। त्यसको सबैभन्दा टड्कारो उदाहरण हो, प्रान्तहरूबीच भएको असमानता न्यूनीकरण। समुद्र किनारका प्रान्तहरू धनी थिए भने मध्य र पश्चिम चीनका प्रान्तहरू गरीब। कम विकसित प्रान्तहरूमा उच्च गतिको रेल सञ्जाल लगायतका ठूलो लगानी गरेर असमानता घटाएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिनैपर्छ।

शहरी क्षेत्रमा बस्नका लागि अनुमति लिनुपर्ने (हुकोउ) प्रणाली हटाएर शहर र गाउँबीचको असमानता हटाइएको छ। यो प्रणाली लागू गर्ने, नगर्ने निर्णय प्रान्तहरूले गर्न पाउनेछन्। यसले अहिले गैरकानूनी रुपमा शहरमा बसिरहेका लाखौं मानिसलाई कानूनी बनाउनेछ भने शहरमा थप गाउँलेहरू ल्याउनेछ।

प्रणालीगत असमानताहरू

चिनियाँ सरकारले यी असमानता घटाए पनि अरू तीनवटा असमानता भने कायमै छन्। यी असमानता अमेरिकाले भोगेकाजस्तै छन्। र, यी सबै आधुनिक पूँजीवादी समाजमा हुने प्रणालीगत असमानता हुन्। ती हुन्– नीजी सम्पत्ति(पूँजी)मा स्वामित्वको संकेन्द्रीकरण, पूँजी र श्रम आय दुवैमा धनी सम्भ्रान्तको सिर्जना र अन्तरपुस्तामा सुविधाको प्रसारण। (पूँजी आय भन्नाले पूँजी लगानीबाट पाउने नाफा र श्रम आय भन्नाले श्रमबापत प्राप्त हुने ज्याला बुझिन्छ– अनुवादक।)

केही दशकदेखि सबैजसो उन्नत अर्थतन्त्रहरूमा कूल गार्हस्थ्य उत्पादनमा (नीजि) पूँजीको हिस्सा बढिरहेछ। चीनजस्ता  उदियमान अर्थतन्त्रहरूमा त झनै बढिरहेछ। यसले मध्यम वर्ग र गरीबले भन्दा धनीहरूको आयमा निकै असमानतापुर्वक वृद्धि गर्छ।

अमेरिकामा यस्तो असमानता स्वाभाविक भइसकेको छ जहाँ सन् २०१९ मा जनसंख्याको उच्च आययुक्त १० प्रतिशतले कूल पूँजी लगानीको ६० प्रतिशत आय प्राप्त गरेको  थियो। चीनको अवस्थामा पनि यो भन्दा खासै फरक छैन। अहिलेसम्म प्राप्त सबैभन्दा पछिल्लो तथ्यांक सन् २०१३ को हो। उक्त तथ्यांक अनुसार चीनमा जनसंख्याको उच्च आययुक्त १० प्रतिशतले कूल पूँजी आयको ४५ प्रतिशत प्राप्त गर्थ्यो । त्यस यता उक्त प्रतिशत अझ बढेको हुनुपर्छ।

स्वचालिचत यन्त्र र रोबोटहरूले श्रम शक्तिलाई थप विस्थापित गरिरहेछन् र पूँजी लगानीको आम्दानी बढिरहेछ। जसले गर्दा आयमा यो असमानता झनै बढ्दो छ। यसको एउटै समाधान नीजी पूँजीको समान वितरण हो। सम्पत्तिमा उच्च कर वा मजदूरलाई शेयर वितरणबाट सम्भवतः पूँजीको समान वितरण हुनसक्छ। तर यो दिशामा न चीन न त पश्चिम जगत नै अघि बढेको देखिन्छ।

अर्को प्रणालीगत असमानता हो, ‘होमोप्लोउसिया’। यो असमानता सबैभन्दा पहिला अमेरिकामा ‘पहिचान’ गरिएको थियो जहाँ कूल जनसंख्याको सबैभन्दा धेरै आय हुने १० प्रतिशतको एक तिहाई एकैसाथ धनी पूँजीपति र सबैभन्दा धेरै कमाउने श्रमिक हुन्। यस्तो वर्गका मानिस दुई प्रकारका छन्। एक, धेरै तलब खाने कार्यकारी अधिकृत (सीइओ), वित्त विश्लेषक र डाक्टरहरू जसले आफ्नो तलबबाट गरेको बचतले पूँजी सिर्जना गरेका छन्। अर्काथरी हुन्, प्रशस्त पैतृक सम्पत्ति भएका जो राम्रा विश्वविद्यालयमा पढेका हुन्छन् र धेरै तलब पाउने जागिर खान्छन्। एउटै मानिस यी दुवै प्रकारका पनि हुनसक्छन्।

यो वर्ग पुराना पूँजीपति भन्दा फरक छन्। यिनीहरूको आय आफ्नै सम्पत्तिबाट सिर्जना भएको हुन्छ। उनीहरूले नयाँ सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्छन्। ‘मानव’ र वित्तीय पूँजी प्रशस्त भएकाले उनीहरू संकटको त्रासबाट मुक्त हुन्छन्। चीनमा पनि यो वर्ग देखापरेको छ। त्यो मेहनती छ र प्रशस्त पूँजी पनि उसँग छ। अमेरिकामा जस्तै उच्च आय हुने १० प्रतिशतमध्ये एक तिहाई धनी पूँजीपति र उच्च आय हुने श्रमिक दुवै हुन्।

धनाढ्यको  निरन्तरता

माथी उल्लेख गरिएका सम्भ्रान्त सक्षम हुन्छन् र आफूसँग भएको सम्पत्ति, शिक्षा र सामाजिक सम्बन्ध आफ्ना सन्ततिमा प्रसारण गर्न जोड गर्छिन्। हालै प्रकाशित एक शोधपत्रका अनुसार चीनमा ‘व्यक्तिगत सामाजिक गतिशिलता’ अमेरिकामा जस्तै साह्रै न्यून छ (कुनै व्यक्तिको सामाजिक हैसियत परिवर्तन हुनुलाई सामाजिक गतिशिलता भनिन्छ)। समयसँगै यस्तो सम्भ्रान्त बन्नु निकै महंगो र अति प्रतिस्पर्धात्मक शैक्षिक प्रणालीमा आधारित भएको छ।

नीजी नर्सरी विद्यालयबाट शुरु भएर वार्षिक ७० हजार अमेरिकी डलरमा टुंगिने अमेरिकाको महंगो शिक्षा प्रणालीले धनीबाहेक अन्यका सन्तानलाई सजिलै बहिस्कृत गरिदिन्छ। चीनमा पनि औषत ज्यालाको तुलनामा विश्वविद्यालय शिक्षा निकै महंगो छ। विद्यार्थीले परीक्षामा राम्रो गरुन् भनेर पढाइने बेग्लै ट्युसनले यो खर्च झनै बढाउँछ।

असमानता हटाउने उद्धेश्यले हालै चिनियाँ सरकारले नाफाका लागि पढाउन प्रतिबन्ध लगाएको छ। तर यो नीति सफल हुनेमा शंका छ। धनी अभिभावकले आफ्ना सन्तानका लागि बेग्लै शिक्षक राखेर नीजि शिक्षणको अभ्यास कायमै राख्नेछन् जसले असमानता झनै बढाउनेछ।

चीनको अति साह्रो प्रतिस्पर्धात्मक शिक्षा प्रणाली अभिभावकको सम्पत्तिसँग जोडिएको छ जसले परीक्षामा उनीहरूको प्रस्तुतीको आधारमा बच्चाहरूको ५० वर्षपछिको भविष्य निर्दिष्ट गर्छ। परीक्षामा राम्रो गर्न नसक्ने विद्यार्थीलाई विभेद गर्ने र पढाईबाटै वितृष्णा सिर्जना गर्ने भएकाले यस्तो अभ्यासले असमानता बढाउँछ र प्रतिभा मारिदिन्छ।

यस्तो खालको असमानता चीनका र जहाँसुकैका शहरी युवाको जन्ममै छ।

(सर्बियाली–अमेरिकन अर्थशास्त्री ब्रान्को मिलेनोभिक विकास र असमानताका विज्ञ हुन्। सोसल युरोपमा प्रकाशित लेखको अनुवाद लेखकको अनुमतिमा लक्ष्मण श्रेष्ठले गरेका हुन्।)

 

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved