संसद्को प्रभावमा राजनीतिक दल निर्णायकः सभामुख सापकोटा

“मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, शुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरि पार्टीहरुसँग छलफल गर्ने हो”, सभामुख सापकोटाले भने, “आवश्यकताअनुसार फेरि सर्वदलीय बैठकहरु गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ।”

नेपालभ्युज

संसद्को प्रभावमा राजनीतिक दल निर्णायकः सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलि (मंगलबार)देखि शुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताए।

सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने उनले बताए। संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए।

“मुख्यत्ः यो सदन भनेपछि पार्टीहरुकै भूमिका निर्णायक हुन्छ। सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख”, उनले भने, “जतिबेला खेल शुरु हुन्छ, त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ। हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौँ।”

सभामुख सापकोटाले संविधानले, नियमले, कानूनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुने बताए। बाँकी कुरा क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा भएको उनको भनाइ छ।

“मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरुलाई खुलाउनुस्, शुचारु गरौँ भनेर उहाँहरुसित छलफल गर्ने र फेरि पार्टीहरुसँग छलफल गर्ने हो”, उनले भने, “आवश्यकताअनुसार फेरि सर्वदलीय बैठकहरु गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ।”

सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत् नभएको बताए।

सभामुख सापकोटाले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए।

“उहाँहरुले जे गरिराख्नु भएको छ, त्यो संविधान, नियम, कानूनअनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्”, उनले भने, “जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु। र अझ मैले भन्नुपर्दा मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैंभरी त्यही गर्न म प्रतिवद्ध छु।”

भोलिदेखि संसद् अधिवेशन शुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर संसद् सचिवालयको तयारीको अवलोकन गरेका हुन्। संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसद्हरु र कर्मचारी लगायतको एन्टिजेन परीक्षण भइरहेको पनि जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved