कांग्रेस १४ औँ महाधिवेशन

प्रदीप पौडेललाई ६ प्रश्नः भन्छन्, ‘हाम्रो आफ्नै प्यानल हुन्छ’

हामीले कसरी एक अर्काको बारेमा बाहिर आकंलन गर्छौँ, त्यो भन्न सकिन्नँ। तर महाधिवेशनमा बन्ने समीकरण जहिले पनि अन्तिम समयमै गएर बन्ने हो। त्यो भनेको उम्मेदवारी मनोयन हुने बेलासम्म पनि जान्छ।

नेपालभ्युज

प्रदीप पौडेललाई ६ प्रश्नः भन्छन्, ‘हाम्रो आफ्नै प्यानल हुन्छ’

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४ औँ महाधिवेशको पूर्वसन्ध्यामा छ। भोलि शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन शुरु हुँदैछ।

१३ औँ महाधिवेशनमा जसरी यसपटक पनि कांग्रेसमा त्रिपक्षीय भिडन्त पक्काजस्तै देखिएको छ। त्यसबेला केन्द्रीय सदस्य जितेका युवा नेता प्रदीप पौडेल यसपटक महामन्त्रीको उम्मेदवार बन्दैछन्। प्रस्तुत छ उनै पौडेलसँग महाधिवेशन केन्द्रित भएर नेपालभ्यूजका लागि नवीन झाले गरेको कुराकानीः-

तपाईहरु जुन समूहमा हुनुहुन्छ, अर्थात सिटौला समूह भनेर जसलाई भनिन्छ, त्यो समूह के गर्छ यो महाधिवेशनमा ?

हामी पछिल्लो तीन दिन यता लागातार छलफलमै छौँ। छलफल यसअगाडि पनि भएकै हो। तर प्रदेश अधिवेशनपछि हामी केन्द्रीय महाधिवेशन केन्द्रित भएर गम्भीर मन्थनमा छाँै। यद्यपि, अहिले नै यो वा त्यो भनिने अवस्था छैन।

बाहिर आकंलन गरिएअनुसार तपाईहरुको समूह र सभापति देउवा पक्षको बीचमा पहिलो चरणमै तालमेलको कुरा आएको छ नि ?

मलाई त्यस्तो लाग्दैन। वास्तविकता के हो भने, कुनै पनि समूह वा गुट भनौँ, कसैले पनि अहिलेसम्म आफ्नै पक्षमा आन्तरिक सहमति जुटाउन सकेका छैनन्। सबै समूहलाई आफ्नै मानिसहरु व्यवस्थापन गर्ने चुनौती देखिन्छ। सभापति देउवा होस् वा अहिले इतर भनिएको समूह होस् कसैको पनि आन्तरिक रुपमै आफैमा सहमति बनिसकेको छैन।

त्यस्तो अवस्थामा हामीले कसरी एक अर्काको बारेमा बाहिर आकंलन गर्छौँ, त्यो भन्न सकिन्न। तर महाधिवेशनमा बन्ने समीकरण जहिले पनि अन्तिम समयमै गएर बन्ने हो। त्यो भनेको उम्मेदवारी मनोयन हुने बेलासम्म पनि जान्छ।

जहाँसम्म हाम्रो प्यानलको कुरा गर्नु भयो, हामीले सभापतिदेखि सबै पदाधिकारी सहितको प्यानल घोषणाको तयारी गर्ने गरी छलफल अघि बढाएका छौँ। र हाम्रो प्यानलबाट सभापतिमा कृष्णप्रसाद सिटौला, महामन्त्री म आफैंसहितको प्यानल नै घोषणा हुन्छ।

तपाईले यसो भनिरहँदा पनि बुधबार मात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेट गर्नु भएको छ। उहाँहरुको बीचमा के कुराकानी भयो ?

वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाको बीचमा बुधबार भएको छलफलमा महाधिवेशन समीकरणभन्दा बढी कुराकानी सैद्धान्तिक तहमै भएको मैले जानकारी पाएको छु। वरिष्ठ नेता पौडेलले पार्टीको सैद्धान्तिक धार जोगाउनै पर्नेमा जोड दिएको र त्यो कुरा ठीकै रहेको हामी सबैले भनेका छौँ। तर उहासँग महाधिवेशनमा बन्ने समीकरण बारेमा कुनै ठोस कुराकानी भएको मैलै बुझेको छैन।

त्यसो भए तपाईहरु आफ्नै प्यानल घोषणा गरेर १३ औँ महाधिवेशन जस्तै दोस्रो चरणमा देउवा पक्षलाई सघाउने हो त ?

अहिले कुनै पनि पक्षले प्यानल घोषणा गर्दा दोस्रो चरणको बारेमा सोचेकै छैन। सबैले आफू पहिलो चरणबाटै विजय हुने दाबी गरिरहेको छ। त्यही भएर त्यसको बारेमा अहिले नै केही भन्न सकिन्न।

तपाई आफै पनि गत निर्वाचनपश्चात् वर्तमान सभापति देउवाबाट पार्टी नै चल्न नसक्ने बताउँदै आएको नेतामा पर्नुहुन्छ। तर अहिले त देउवा समूह नै पार्टीमा बलियो देखियो त ?

महाधिवेशन प्रतिनिधिहरु छनौटको अधारमा अहिले देउवा बलियो रहेको कुरा ठीक हो। तर त्यसको पछाडि केही खास कारणहरु पनि छन्। जस्तो मेरो बुझाइमा एउटा सत्ताको शक्ति र दोस्रो पार्टी भित्रको प्रतिपक्ष कमजोर भएर यस्तो देखिएको हो।

पार्टीमा रुपान्तरणको बहस गर्ने मध्ये तपाई पनि एक जना हो ? तपाईलाई के लाग्छ, १४ औँ महाधिवेशनले नेपाली कांग्रेस साच्चिकै विगतभन्दा बलियो र राम्रो भएर आउँछ ?

यो हुनै पर्छ भन्ने मान्यता म राख्छु। म त्यसैकै लागि आफै महामन्त्रीमा अगाडि बढ्दै छु। मैलै पूरै विश्वास लिएको छु कि पार्टी पंक्तिका आम मतदाताहरु यसबारेमा गम्भीर मन्थन गरेर पार्टी नेतृत्व चयन गर्नु हुन्छ। र चयन भएको नेतृत्वले पनि त्यसलाई ध्यानमा राख्नु पर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved