के मेस्सी यो पटक बलुन डी’ओरका हकदार थिए?

यो पटक बलुन डी’ओरमा मेस्सीलाई टक्कर दिन सक्ने प्रदर्शन पोल्याण्ड र बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको मात्र थियो। यो उपाधिका लागि मेस्सीका निकटम प्रतिद्वन्द्वी लेवान्डोस्की नै थिए। मेस्सीले कुल ६१३ अंक प्राप्त गर्दा लेवान्डोस्कीलाई मात्र ३३ अंकले पछि पारेका थिए।

के मेस्सी यो पटक बलुन डी’ओरका हकदार थिए?

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले फेरि एकपटक फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत उपाधि बलुन डी’ओर जिते। हाल फ्रेन्च क्लब पीएसजीमा रहेका ३४ वर्षीय मेस्सीको यो कीर्तिमानी सातौँ बलुन डी’ओर उपाधि हो। सातपटक बलुन डी’ओर उपाधि जित्ने मेस्सको यो रेकर्ड अब तोडिन निकै गाह्रो छ।

विश्वभरका खेलाडी तथा खेलपत्रकारहरुको भोटिङको आधारमा फ्रान्सेली समाचार म्यागजिन ‘फ्रान्स फुटबल’ले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी छानेर यो उपाधि दिने गर्छ। मंगलबार राति पेरिसमा आयोजित एक भव्य समारोहका बीच मेस्सीकै पूर्वसहकर्मी तथा मिल्ने साथी मध्येका एक उरुग्वेका स्ट्राइकर लुइस सुआारेजले उनलाई यो ट्रफी थमाए।

तर यो पटक कतिपय विश्लेषकको टिप्पणी सायद मेस्सीले बलुन डी’ओर जित्नु हुँदैनथ्यो भन्ने पनि छ। के मेस्सी साँच्चै यो पटकको बलुन डी’ओरका हकदार थिएनन् त?

सन् २०२१ मा मेस्सीको प्रदर्शन

सन् २०२१ को पहिलो ६ महीना बार्सिलोनाबाट खेल्दा मेस्सीको प्रदर्शन बलुन डी’ओर जित्न लायक पक्कै थिएन। तर यसपछि जब उनले कप्तान र मुख्य खेलाडीको रुपमा करीब–करीब एक्लै काँधमा अर्जेन्टिनाको जिम्मेवारी लिएर राष्ट्रलाई कोपा अमेरिकाको उपाधिसम्म पुर्याए, त्यसले नै उनलाई सातौँ बलुन डी’ओरको हकदार बनायो।

यसअघि अर्जेन्टिनालाई सन् २०१४ को विश्वकपमा तथा २०१५ र २०१६ मा कोपा अमेरिकामा गरेर लगातार तीन वर्ष फाइनलसम्म पुर्याए पनि मेस्सीले देशको लागि प्रमुख उपाधिको लामो खडेरीलाई तोड्न सकेका थिएनन्।

अर्जेन्टिनालाई २८ वर्षमा पहिलो प्रमुख उपाधिको रुपमा उनले कोपा अमेरिकाको ट्रफी उचाल्न मुख्य भूमिका खेले। ब्राजिलमा भएको प्रतियोगिताको फाइनलमा घरेलु टिम र चिरप्रतिद्वन्द्वी ब्राजिललाई नै हराउँदै अर्जेन्टिनाले सन् १९९३ पछि पहिलोपटक कोपा अमेरिका जितेको थियो।

यो प्रतियोगितामा मेस्सी सर्वाधिक गोलकर्ता थिए भने उनले प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए।

जारी सिजनमा पीएसजी जानु अघिको आधा–आधी समय स्पेनिस क्लब बार्सिलोनामा रहँदा उनले अर्थिक संकटसँगै अन्य स्टार खेलाडीबिना खराब समयमा रहेको क्लबको जिम्मेवारी काँधमा बोकेका थिए। जहाँ उनले स्पेनिस कप (कोपा डेल रे)को उपाधि बार्सिलोनालाई दिलाएका थिए। उनी यो प्रतियोगितामा पनि सर्वोत्कृष्ट खेलाडी बने। उता, स्पेनिस लिगको उपाधि बार्साले नजिते पनि मेस्सी लिगको सर्वाधिक गोलकर्ता थिए।

सन् २०२१ मा क्लब र देशका लागि खेलेका सबै खेलमा गरेर उनले ४१ गोल गरे भने १७ गोलका लागि ‘असिस्ट’ गरेका थिए। साथै आफूले खेलेका खेल मध्ये २८ खेलमा उनी ‘म्यान अफ दी म्याच’ बनेका थिए।

‘निकै अफ्ठ्यारो समय र आलोचनाका बाबजुद अर्जेन्टिनाका लागि उपाधि जित्नु निकै विशेष थियो’, बलुन डी’ओर जितेपछि मेस्सीको भनाइ हो यो।

“यो वर्ष कोपा अमेरिकाको उपाधि जितेका कारण मेरा लागि निकै विशेष रह्यो। त्यो जित (फाइनलमा ब्राजिललाई १–० ले पराजित गरेको)ले धेरै महत्व राख्छ। अर्जेन्टिनाका जनतासँग त्यो उपाधिको उल्लास मनाउन पाउँदा म धेरै खुशी थिएँ”, मेस्सीले भनेका थिए, “मलाई थाहा छैन कि यो मेरो जीवनको उत्कृष्ट वर्ष हो कि हैन, अझै लामो फुटबल करियर बाँकी नै छ।”

नजिकका प्रत्यासी लेवान्डोस्कीको प्रदर्शन

यो पटक बलुन डी’ओरमा मेस्सीलाई टक्कर दिन सक्ने प्रदर्शन पोल्याण्ड र बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको मात्र थियो। यो उपाधिका लागि मेस्सीका निकटम प्रतिद्वन्द्वी लेवान्डोस्की नै थिए। मेस्सीले कुल ६१३ अंक प्राप्त गर्दा लेवान्डोस्कीलाई मात्र ३३ अंकले पछि पारेका थिए। लेवान्डोस्कीले पाएको अंक ५८० थियो।

सन् २०२१ मा लेवान्डोस्कीले देश र क्लबका लागि ५३ गोल गरेका थिए। ३३ वर्षीय लेवान्डोस्कीले यो वर्ष बायर्नबाट जर्मन लिगको उपाधि पनि जितेका थिए। तर पनि मेस्सीका कारण बलुन डी’ओरको दोस्रो स्थानमा नै चित्त बुझाउन बाध्य भए।

यसै वर्षको यूरो कपमा लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्याण्ड समूह चरणको अन्तिम स्थानमा रहँदै बाहिरिएको थियो। उनले यो वर्ष मेस्सीको भन्दा बढी गोल त गरेका छन्। तर सायद भोट गर्ने पत्रकारहरुले राष्ट्रिय टिममा उनको योगदान मेस्सीको जति देखेनन्।

फेरि बलुन डी’ओर वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई दिइने उपाधि हो, न कि सर्वाधिक गोलकर्तालाई। त्यसैले फ्रान्स फुटबलले उनलाई यो वर्षदेखि मात्र शुरु गरेको वर्षको सर्वोत्कृष्ट स्ट्राइकरको उपाधि प्रदान गर्‍यो।

धेरैले यो वर्षको उपाधि मेस्सीले पाउने हुँदा लेवान्डोस्कीलाई गतवर्ष पनि अन्याय भएको र यो वर्ष फेरि अन्याय हुने हुनाले यो नयाँ उपाधि रचिएको बताएका छन्। त्यो पनि यो समारोह शुरु हुनुभन्दा करीब एक घण्टा अघि मात्र यो नयाँ उपाधि थपिएको घोषणा भएको थियो।

सन् २०२० भने लेवान्डोस्कीकै वर्ष थियो। उनले त्यस वर्ष यूरोपियन च्याम्पियन्स लिग, जर्मन लिग, जर्मन कप, जर्मन सुपर कप, यूएफा सुपर कप र फिफा क्लब विश्वकपको उपाधि क्लबलाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

तर कोभिडका कारण त्यो वर्ष फ्रान्स फुटबलले बलुन डी’ओर उपाधि प्रदान नगर्ने घोषणा गरेका थियो। यदि त्यो वर्ष बलुन डी’ओर दिएको भए लेवान्डोस्की बाहेक अर्को विकल्प नै थिएन। उनी सायद अभागी थिए।

त्यसैले सातौँ पटक बलुन डी’ओर जितेपछि मेस्सीले सबैभन्दा पहिला लेवान्डोस्कीकै नाम लिँदै भने, “म यहाँ रोबर्टको नाम उल्लेख गर्न चाहन्छु। यो उपाधिका लागि तिमीसँग प्रतिस्पर्धा गर्न पाउनु मेरो सौभाग्य हो। सबैलाई थाहा छ र हामी सबैले स्वीकार पनि गरेका थियाँै कि गतवर्षको विजेता तिमी हो भनेर। मलाई लाग्छ कि फ्रान्स फुटबलले त्यो सन् २०२० को बलुन डी’ओर उपाधि तिमीलाई दिनुपर्छ, तिमी त्यो पाउन योग्य पनि छौ।”

यसअघि नै मेस्सीले अन्य खेलाडीले भन्दा धेरै पटक यो ट्रफी उचालिसकेका थिए। मेस्सीले यसअघि सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष र २०१५ र २०१९ मा गरेर ६ पटक बलुन डी’ओर जितिसकेका थिए।

मेस्सीपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सर्वाधिक पाँच पटक बलुन डी’ओर जितेका छन्। तर यो पटक भने रोनाल्डो सन् २०१० पछि पहिलो पटक बलुन डी’ओर को शीर्ष तीन भित्र पनि पर्न सकेनन्।

सन् २००८ देखि २०२१ सम्म मेस्सी र रोनाल्डोले मात्र यो उपाधिलाई आपसमा पालैपालो बाँडेका थिए। यो समयमा अपवादको रुपमा एक पटक मात्र सन् २०१८ मा लुका मोड्रिकको भागमा बलुन डी’ओर गएको थियो।

मेस्सी बलुन डी’ओर उपाधि जित्ने दोस्रो पाका खेलाडी (३४ वर्ष १९८ दिन) पनि बने। साथै उनी तीन फरक दशकमा यो उपाधि जित्ने पहिलो खेलाडी समेत हुन्, सन् २००० को दशक, सन् २०१० को दशक, र यो सन् २०२० को दशक।

अब मेस्सीको जीवनमा खड्केको भनेको एक विश्वकपको उपाधि मात्र हो। जुन पूरा गर्ने सायद अन्तिम मौकाको रुपमा रहेको छ, अर्को वर्षको कतार विश्वकप। करियरको उत्तरार्धमा रहेका मेस्सीका लागि जुन सायद अन्तिम विश्वकप हो।

कतार विश्वकपपछि उमेरका कारण पनि मेस्सीले सन्यास लिने सम्भावना प्रबल छ। उनले यदि त्यो विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउन सकेमा आठौँ पटक पनि बलुन डी’ओर जित्न भने सायद कसैले रोक्न नसक्ला।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved