काठमाडौँ । जीवनको कालखण्डमा कहिले कुन कहिले कुन पात्र मन पर्ने चलिरहन्छ नै। त्यस्ता धेरै पात्र छन्। एक पात्र जुन मलाई असाध्यै मन पर्छ, जसको बारेमा कहीँकतै लेखिएको थिएन। अनि मैले लेखिदिएँ, त्यो पात्र हो जिरोकुमारी।
यसरी आफ्नै कथाको पात्र मन पराइरहँदा मार्केटिङ जस्तो देखिएला, तर त्यो सत्य होइन। यो कथाको भन्दा पनि मेरो समाजको पात्र हो। यसको उमेर म बाँचेभन्दा निकै धेरै छ। म सम्झिन सक्ने भएदेखि यो पात्र मेरै वरिपरि छ। जहाँ छाउपडी गोठ बनिरहेका छन्, भत्किरहेका छन्। त्यो समाजकी पात्र जिरोकुमारीले अन्तमा आफ्नो आवाज बुलन्द गरिदिन्छे ‘नो मिन्स नो’।
हामीले सभ्य र आधुनिक ठानिरहेको अहिलेको समाजमा पनि हाम्रो मस्तिष्कमा हाम्री बहिनीले केटा साथी बनाउनुहुँदैन भन्ने डरले घर बनाएर बसेको छ। बहिनीलाई स्वतन्त्रता दिनुपर्छ भन्ने आधुनिक मानिसहरु पनि बहिनीले केटा साथी बनाउनुहुँदैन, ऊ बाहिर जाँदा केटी साथीसँगै जानुपर्छ, ऊ आफ्नो केटा साथीसँग सुरक्षित छैन भन्ने ठानिरहेका छन्। त्यो पात्रले यस विरुद्ध बोलेकी छ। शुरुमा त उसले ‘दाइलाई भन्दिऊँ’ भन्छ। अन्तमा भन्छ ‘पोइ बन्नेहरु पोइ बन्न हतार गर्दैनन्’। उसले बोलेको यो भाषा निम्न वर्गको भाषा हो, सिमान्तकृतले बोल्ने विद्रोहको भाषा हो।
प्रथमतः यो समाजको हरेक नारी जिरोकुमारी होइन। तर जिरोकुमारी यसै समाजको पात्र हो। पितृसत्तात्मक राज्य व्यवस्था पुरुषहरुबाट नेतृत्वदायी क्षेत्रमा बहिष्कार र सामाजिक विभेद हुँदै जाँदा यो समाजमा जिरोकुमारीहरु आफू केही होइन, एउटा सामान जो यो समाजमा प्रयोग भइदिन आएको हो भन्ने ठान्छे। यो राज्यव्यवस्थाले उसलाई शून्य बनाउन बाध्य पारिदिन्छ। ऊ यसलाई स्वीकार्छे। अनि ऊ केही रहन्ने। जिरोकुमारी त्यो खोक्रोपन हो, त्यो खालिपन हो। त्यो आफू केही नहुनु स्वीकारिसकेकी यो समाजकी पात्र हो। त्यसैले यो समाजको हरेक नारी जिरोकुमारी होइन नै, तथापि जिरोकुमारी यो समाजको हरेक नारी हो। चाहे त्यो सिँगमर्मरमा बसेकी नारी होस् वा सडकको मान्छे उसले आफूभित्र जिरोकुमारी महशुस गरिरहेकी छ। छाउपडी गोठ, होटल, टेबल नम्बर सात अनि त्यहाँ भनिएको नेताको चश्मा, इन्जिनियरको चश्मा, बुद्धिजिविको चश्मा लगाएर आउने पुरुष भनेर ती पुरुषहरुले आफ्नो घरमा श्रीमतीलाई जिरोकुमारी देखिरहेका छन्, बनाइरहेका छन् भन्ने विम्वका रुपमा देखाइएको हो। नारीले आफूलाई जेसुकै ठानोस्, पुरुष अहममा नारी एक वस्तु मात्रै हो। यहाँ पुरुष भनेर समग्र राज्य व्यवस्था बुझ्नुपर्छ।
नारीले लगाउने बाला, चुरा, रिङ सबै जिरो आकारका हुन्छन्। पुरुष सत्ताले गहनामा सृंगारेर राखिरहेको छ, व्यक्तिभन्दा पनि सुन्दर बस्तुको रुपमा निर्माण गरिरहेको छ, जिरो बनाइरहेको छ। नारीले लगाउने हरेक गहनाले उसलाई जिरो प्रमाणित गर्दछ, पुरुषलाई नारीमा चाहिएको त्यही जिरो हो।
जिरोकुमारी उत्पादन गर्ने ‘कम्पनी’ तपाईँ र मेरो सोच हो। पुरुषले नारीको योनीमा उसको इज्जत राखिदिएको छ। पुरुषलाई के घमण्ड छ भने अहिले पनि ऊ कोहीसँग शारिरीक सम्पर्क राख्नुलाई गर्व ठान्छ। ऊ त्यसलाई युद्ध जिते जस्तोगरी साथीहरुको समूहमा प्रचार गर्छ। पितृसत्तात्मक राज्यव्यवस्थाको लघुत्तम अंश पुरुष हो। लघुत्तत अंश पुरुषले चलाएको पुरुषवाद नै हो अन्ततः। एउटा महिलाका लागि एउटा पुरुष पनि सत्ता हो। उसका लागि फेरि सिंगो सत्ता पनि पुरुष नै हो।
यो कथाको सार यति मात्रै हो कि छोरी जन्मिनु यो देशमा रहरको विषय बनेन। हरेक पुरुषको मनमा छोरी जन्मियो भन्ने छ। मैले बुझेँ भन्ने मान्छेले पनि छोरी जन्मियोस् भनेर किन भनिरहेको छ भने ऊ चाहन्छ कि समाजलाई छोरी कसरी हुर्काइन्छ भनेर देखाइदिऊँ। छोरी भयो भने देखाइदिऊँ यसरी छोरी हुर्काइन्छ भनेर ऊ खुशी भएको छ भने छोरो हुँदा चाहिँ यथार्थमा ऊ खुशी छ।
मलाई जिरोकुमारी पात्र नै किन मन पर्छ भने कुनै पनि पुरुष आफूलाई जिरो भन्ने रुचाउँदैन। समाजले उसलाई जिरो बनाउँदैन। पुरुष भएर जन्मिएपछि ऊ जिरोकुमार हुँदैन। एउटा सामान्य पुरुषको घमण्ड राजापछिको छ। किनकी यो समाजले पुरुषलाई त्यसैगरी जन्माइरहेको छ। नारी मुद्दाका विषयमा काठमाडौं भ्रममा छ। कथित सभ्य काठमाडौंदेखि विकट भनिएको कर्णालीसम्म नारीहरु जिरोकुमारी नै छन्। हाम्रो मुद्दा नै गलत ढंगले अघि बढिरहेको छ। यही दिशामा अघि बढ्दा हाम्रो समाजमा उत्पादन हुने जिरोकुमारी नै हुन्।
Facebook Comment
Comment