चिनियाँ ज्वाइँको दशैं

अलिक टाढाको ससुराली त दशैंकै दिनका लागि साँचिएको हुन्छ।

चिनियाँ ज्वाइँको दशैं
चिनियाँ युवतीसँग विवाह गरेका विष्णु दुमरूको परिवार।

बेइजिङ। विवाहित पुरुषका लागि दशैंको मुख्य आकर्षण ससुराली जानु पनि हो। अलिक टाढाको ससुराली त दशैंकै दिनका लागि साँचिएको हुन्छ। दशैंमा बिदा पर्ने र सबैसँग भेटघाट गरी मान्यजनबाट टीका लगाइने भएकाले ठाँटिएर ससुराली लाग्ने चलनै छ।

ससुराली नजिकै भएर पनि कहिल्यै दशैंको टिको लगाउन नपाउँदा कस्तो होला? दशैंमा टीका लगाउने मनभरि रहरसँगै टीका लगाएर सासूससुराबाट आशिष र दक्षिणा लिने चाहना कहिल्यै पूरा नगर्ने नेपालीहरू पनि यही दुनियाँमा छन्।

दशैंमा टीका लगाउन नपाउँदा दुःख महसुस गरेपनि उनीहरू आफूलाई अभागी चाहिँ भन्दैनन्। उनीहरू हुन् चिनियाँ ज्वाइँ। चिनियाँ युवतीसँग बिहे गरेर चीनमै बसिरहेकाले दशैं मान्नबाट वञ्चित छन्।

चिनियाँ संस्कृति नेपाली भन्दा फरक छ। नेपालीले दशैं मनाइरहेका बेला चीनमा बिदा हुँदैन। स्कुल र कार्यालय खुल्ला हुने भएकाले दशैं मान्न सम्भव छैन। कथंकदाचित बिदाको दिन दशैंको टीका पर्‍यो भने पनि उनीहरू दशैं मान्दैनन्।

थुप्रै नेपाली पुरुषले चिनियाँ युवती बिहे गरेर चीनलाई नै आफ्नो कर्मथलो बनाएका छन्। ती मध्ये डा. बिकास राई, डा. सुवर्ण डङ्गोल र विष्णुप्रसाद दुमरु केही प्रतिनिधि पात्र हुन्।

हङकङमा जन्मिएका संखुवासभाका डा. विकास राई काटिकुटी चिनियाँ जस्तै छन्। उनले आफू नेपाली भनेर परिचय दिँदा चिनियाँले पत्याउँदैनन्। लाहुरे परिवारका सन्तान भएकाले उनको जन्म हङकङमा भएको हो। उनले हङकङमै कक्षा सातसम्म पढेर नेपाल गए। प्रमाणपत्र तहसम्म नेपाल पढेपछि चिकित्सा विकाज्ञ पढ्नका लागि उनी चीनमा पुगे।सन् १९९७ मा चीनको हनान प्रान्तमा आएर एक वर्ष चिनियाँ भाषा पढे। अनि बेइजिङ नजिकै रहेको थिआनचिन विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन थाले। उनले सन् २००३ मा थिआनचिन विश्वविद्यालयबाट एमबीबीएस सके। एमबीबीएस गर्दैगर्दा चाङ चियान नाम गरेकी एकजना चिनियाँ युवतीसँग मित्रता बस्यो। त्यो मित्रता बिस्तारै प्रेममा परिणत भयो।

एमबीबीएस सकेपछि उनले तुरुन्तै एमडी गर्न थाले। यसरी एमडी गर्नुको मुख्य कारण उनै चाङ चियानसँगको प्रेम पनि थियो। सन् २००६ मा एमडी गरेर नेपालको बीर अस्पतालमा चार वर्ष काम गरे। त्यो समयमा पनि राईले चाङसँगको प्रेमलाई कायम राखे। उनले आफ्नी प्रेमिकालाई धेरैपटक नेपाल घुमाएका थिए। बीर अस्पतालमा कार्यरत हुँदा पनि चीनबाट उनकी प्रेमिका भेट्न नेपाल गइरहन्थिन्।

सन् २०१० मा पिएचडी गर्न आउँदा मात्र विकासले बिहे गरे। विकास र चाङले पहिले चीनको थिआनचिनमा चिनियाँ परम्परा अनुसार बिहे गरे र पछि नेपाल गएर फेरि नेपाली परम्परा अनुसार बिहे गरे।

सन् २०१३ मा पिएचडी सकेपछि उनी बेइजिङको युनाइटेड फेमिली हेल्थ केयर अस्पतालमा काम गर्न थालेका छन्। यो अस्पताल १९९७ मा अमेरिकाले प्रसूति अस्पतालका रुपमा स्थापना गरेको हो। अहिले यो अस्पताल पूर्णतः निजी हो र चीनकै ख्यातिप्राप्त अस्पतालमध्ये एक मानिन्छ।

डा. विकास राईको परिवार।

डा. विकासले काम गर्ने अस्पताल बेइजिङमा छ। उनकी श्रीमती र छोरी चाहिँ ससुराली सहर थिआनचिनमा बस्छन्। हरेक साता शनिबार र आइतबारको बिदामा उनी परिवारसँग समय बिताउँछन्।

छोरीलाई नेपाली संस्कृति सिकाउने रहर छ विकासलाई। उनले सन् २०१९ मा छोरीलाई नेपाल लिएर गए र गुन्यु चोलो समारोहको आयोजना गरे। त्यतिबेला आफूलाई नेपाली हुनुको गौरवको आत्मानुभूति भएको उनले बताए। “छोरीलाई गुन्युचोली दिँदा मेरी श्रीमती पनि औधी खुसी भएकी थिइन्” राईले भने, “छोरीलाई नेपाली संस्कृति सिकाउनुपर्छ भन्ने कुरामा त्यतिबेला देखि नै श्रीमती पनि जागरुक भइन्।”

बिहे गरेपछि छोरी नजन्मिकन एउटा दशैं मात्र नेपाल गएर मनाउन पाएको उनी सुनाउँछन्। “दशैंमा टीका लगाउने कुरा त परै भयो भिडियो कल गरेर नेपालमा आफन्तसँग पनि कुरा गर्ने फुर्सद हुँदैन”, डा राई भन्छन् “आफू अस्पतालमा व्यस्त छोरी स्कुलमा।”

सानोमा हङकङमा छँदा दशैंको टीका लगाएको र पछि नेपालमा टीका लगाएको खुब सम्झन्छन् उनी। हाँस्दै सुनाउँछन्, “साथीहरू गमक्क परेर दशैंमा ससुराली जान्छन् आफू चाहिँ ससुरालीमै भएर पनि दशैं मान्न पाइन्न।”

काठमाडौंका सुवर्ण डंगोलले पनि विकाससँगै थिएनचिन मेडिकल युनिर्भरसिटीमा एमबीबीएस गरेका हुन्। २० वर्ष पुग्दा नपुग्दै उनी आफ्नै खर्चमा डाक्टरी पढ्न आएका थिए। थिएनचिनमा एमबीबीएस पढ्दा पढ्दै उनले स्थानीय होटलमा फिटनेसमा काम पनि गर्न थाले। त्यसपछि एउटा अमेरिकी फिटनेस कम्पनीमा आवद्ध भएर उनी चीनको उत्तर पूर्वमा पर्ने ल्याओनिङ प्रान्तमा जागिर खान पुगे। सन् २००३ मा ल्याओनिङ पुगेका सुवर्णले त्यहीँ श तानफिङ नामकी चिनियाँ युवतीसँग लगन गाँठो कसे। उनीहरूबीचमा सन् २००७ मा विवाह भयो।

अहिले सुवर्ण र श तानफिङ आफ्नी छोरी सहित बेइजिङमा बसोबास गर्दछन्। सुवर्ण पनि आफ्नी छोरीलाई नेपाली संस्कृति सिकाउन चाहन्छन्। दशैं, तिहार, म्हपूजा, इन्द्रजात्रा, गाईजात्रा, बेलबिबाह लगायतका संस्कृति आफ्नी छोरीलाई सिकाउने रहर पूरा हुन सकेको छैन। उनले छोरी र श्रीमतीलाई घुमाउन नेपाल लगेका छन्। नेपालको मनोरम दृश्य, आफन्तसँगको जमघट, चितवनको गैँडा आदिले उनीहरूलाई अति नै लोभ्याएको डंगोल बताउँछन्। उनी भन्छन्, “नेपालमा भए भव्यसँग दशैं मनाइन्थ्यो। चीनमा त्यो सम्भव छैन।”

दशैंको टीकाको दिन उनी छोरी र श्रीमतीलाई टीका लगाइदिन सक्छन् तर त्यसको पनि कुनै अर्थ रहँदैन।

“छोरी बिहान सातै बजे स्कुल हिँड्नुपर्छ कता टीका लगाइदिने?”, उनी प्रश्न गर्छन्, “निधारमा रातो अक्षताको टीका लगाइदिएमा आफ्नो बसोबास क्षेत्रमा सबैले आश्चर्य मानेर सोधखोज गर्न थाल्छन् अनि बेकारमा लफडा मात्र हुन्छ।”

सुवर्ण डंगोलको परिवार।

दशैंमा टीका नलगाए पनि चिनियाँ बसन्त चाडको लामो बिदामा उनी ल्यानोनिङमा रहेका ससुरालीमा भेटघाट गर्न भने जाने गर्दछन्। परम्परागत चिनियाँ नयाँ वर्ष जनवरीको मध्यपछि पर्ने गर्छ। चन्द्रमासको पात्रो अनुसार गणना गरिने भएकाले अघिपछि भइरहन्छ। कहिले फेब्रुअरीको तेस्रो सातातिर पनि पर्दछ।

टीका नलगाए पनि चिनियाँ नयाँ वर्षमा आफूभन्दा सानालाई रातो खाममा राखेर दक्षिणा दिने चलन छ। यो चलन नेपालीहरूको दशैंसँग मिल्दोजुल्दो भएको डंगोल बताउँछन्।

चीनको पूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊमा व्यवसाय गरिरहेका छन् भक्तपुरका विष्णुप्रसाद दुमरु। उनले सन् २०१० मा त्यहीँकी चिनियाँ युवती छन नाई चुनसँग बिहे गरे। विष्णुले श्रीमतीको नेपाली नाम जून दुमरु राखेका छन्। उनीहरूबीचमा सन् २००८ मा भेट भएको थियो।

चीनका लागि नेपाली राजदूतसँग विष्णु दुमरूको परिवार।

विष्णु र जूनबाट सन् २०११ र २०१४ मा दुई छोरी जन्मिएका छन्। विष्णुले छोरीको नाम अमिता र बिनिता राखेका छन्। श्रीमती लिएर दशैंमा नेपाल जाने गर्थे विष्णु। दुवै छोरी जन्मिएका साल भने उनीहरू नेपाल जान पाएनन्। ठूली छोरी ६ वर्ष पुगेपछि भने उनीहरूको दशैंमा नेपाल जाने कार्यक्रम स्थगित भयो। छोरीको स्कुल सुरु भएकाले उनीहरू सन् २०१७ पछिका दशैंमा नेपाल जान पाएका छैनन्।

नेपाल गएको बेला उनले छोरीहरूलाई मनकामना मन्दिर पनि घुमाएका छन्। छोरीहरू बाटोमा मन्दिर देखिसक्दा हात जोरेर नमस्ते गर्दछन्।

ससुराली गएर दशैं मान्न नपाए पनि विष्णुले नेपालीहरू भेला गराएर दशैं मान्ने गरेका छन्। उनी गैर आवासीय नेपाली संघ चीन शाखाका उपाध्यक्ष हुन् र यिऊमा गत वर्ष खुलेको नेपाल चेम्बर अफ कमर्सको शाखाका अध्यक्ष पनि हुन्।

नेपालीहरू भेला भएर मनाइने चाडपर्वमा उनी छोरीहरू र श्रीमतीलाई सहभागी गराउँछन्। “कमसेकम मेरा छोरीहरूले नेपाली संस्कृतिको बारेमा जानकारी राखुन् भनेर उनीहरूलाई यस्ता जमघटमा लाने गरेको छु”, दुमरु भन्छन्, “तर नेपालमै गएर दशैं मनाए जस्तो त किन हुन्थ्यो?”

उनका छोरीहरू पनि नेपाल जान पाउँदा फुरुङ्ग हुने गरेका छन्। कोभिड महामारीपछि भने उनीहरू नेपाल जान पाएका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved