पाँच दिनदेखि भोकै छिन् रुबि खान, बाटैमा छन् नेपालगञ्जका प्रदर्शनकारी

कुर्मीको नाममा अहिलेको मूल्य अनुसार करीब ६० करोड रुपैयाँ पर्ने ४ विघा १० कट्टा जग्गा थियो। त्यो जग्गा बर्दियाकी पार्वती बिष्टको नाममा पास हुँदै बाँकेका प्रभावशाली व्यवसायी रमेश थापाकी श्रीमती रत्न थापाको नाममा नामसारी भएको देखिएको बाँकेका एसपी अधिकारीले बताए। 

पाँच दिनदेखि भोकै छिन् रुबि खान, बाटैमा छन् नेपालगञ्जका प्रदर्शनकारी
फाइल तस्वीर

काठमाडौं। न्यायका लागि २० दिन हिँडेर काठमाडौं आएकै अर्को दिन पक्राउ परेकी रुबि खान पाँच दिनदेखि अनसनरत छन्। उनले गएको २२ असोजदेखि केही पनि खाएकी छैनन्।

बाँकेका नकुन्नी धोबीको हत्या र बेपत्ता पारिएकी निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको मागसहित २० दिन हिँडेर काठमाडौं आएका  १६ जनामध्ये १४ लाई गएको शुक्रबार प्रहरीले पक्राउ गरेको थियो। सार्वजनिक स्थानमा खाना खाएको आरोपमा पक्राउ परेका उनीहरूमध्ये अरुलाई शनिबार छाडिएकोमा रुबिलाई भने नेपालगञ्ज पुर्‍याइएको थियो। ८ वर्षअघि मोहम्मद शेरबागवानसँग बिहे गरेकी रुबिमाथि प्रहरीले बहुविवाहको मुद्दा चलाएको छ।

यद्यपि, उनका पति शेरबागवान भने आफूले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेको बताइरहेका छन्। शेरबागवानकी पहिलो श्रीमतीले नभई तेस्रो पक्षले रुबिविरुद्ध मुद्दा दर्ता गरेको खुलेकोमा पक्राउको पछाडिको कारण आन्दोलन दबाउनु बाहेक केही नभएको नागरिक अभियन्ता सञ्जीव उप्रेती बताउँछन्। ‘‘उनीहरु आतंककारी होइनन्, बम बोकेर आएका थिएनन्, सार्वजनिक स्थानमा खाना खाँदा राज्यलाई के खतरा भयो र पक्राउ गरियो,’’ उप्रेती प्रश्न गर्छन्, ‘‘न्यायको लागि बोलिरहेकाको आवाज थुनेर सरकार कसलाई बचाउन खोजिरहेको छ?’’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम कृष्ण अधिकारीले आफूहरूले खाना खुवाउन खोजेपनि रुबिले ५ दिनयता नखाएको बताए। रुबिलाई आज (बुधबार) काठमाडौं पठाउन लागेको जानकारी उनले दिए। गत २६ असोजमा सर्वोच्च अदालतले रुबिलाई २८ गते सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो।

उनीहरू लामो समयसम्म दाइजो नल्याएको आरोपमा घरेलु हिँसा भोग्दै आएकी बाँके नेवाजीकी नकुन्नी धोबी र जग्गा हडपेर बेपत्ता पारिएकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौं आएका थिए।

नकुन्नीको शव गत ५ साउनमा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो। आत्महत्या भनी प्रहरीले मुद्दा टुंगाएकोमा चित्तबुझ्दो अनुसन्धान नभएको भन्दै बाँकेका ११ महिलासहित १६ जना गत असोज १ गते न्यायका लागि पैदलै हिँडेर काठमाडौं आएका थिए। बाँकेका एसपी अधिकारी भने नकुन्नीको पोष्टमाटम रिपोर्टमा आत्महत्या पुष्टि भएको बताउँछन्।

यस्तै प्रदर्शनकारीले अर्की महिला कुर्मीको सम्पत्ति हडपेर उनलाई बेपत्ता पारिएको आरोप लगाएका छन्। प्रदर्शनकारी सकिना तेलीले कुर्मीको नाममा ठूलो जमिन भएकाले उनलाई फसाएर बेपत्ता पारिएकोमा चुस्त अनुसन्धान नभएको आरोप लगाइन्।

कुर्मीका श्रीमानको २०६६ सालमा निधन भएको थियो। श्रीमानको निधन भएको सात महीनामै उनका दुई छोराको पनि हप्ता दिनको अन्तरमा निधन भएको तेलीले बताइन्। ‘‘पोष्टमाटम पनि नगरी दुवै छोरालाई बारीमा लगेर जलाइयो,’’ उनले भनिन्, ‘‘निर्मला कुर्मीलाई घरमा थुनेर राखियो।’’ माइतीघरमा भेटिएकी उनले न्याय नपाएसम्म घर नफर्किने बताइन्।

कुर्मीको नाममा बाँके परसुपुरमा अहिलेको मूल्य अनुसार करीब ६० करोड रुपैयाँ पर्ने ४ विघा १० कट्टा जग्गा थियो। त्यो जग्गा बर्दियाकी पार्वती बिष्टको नाममा पास हुँदै बाँकेका प्रभावशाली व्यवसायी रमेश थापाकी श्रीमती रत्न थापाको नाममा नामसारी भएको देखिएको बाँकेका एसपी अधिकारीले बताए।

यस बीचमा कुर्मीको भारतीय नागरिकसँग दोस्रो बिहे भएर उतै निधन भएको अनुसन्धानका क्रममा पत्ता लागेको जानकारी एसपी अधिकारीले दिए। बाँके प्रहरीले गत साता मात्रै कुर्मीका दोस्रो श्रीमानलाई नेपाल बोलाएर सोधपुछ गरेको थियो।

सोधपुछमा आफूहरूलाई ललाइफकाइ गरी प्रभावमा पारेर भारत घुम्न पठाएको र अर्काका नाममा जग्गा पास कसरी भयो भन्ने आफूहरूलाई थाहासम्म नभएको बयान ती व्यक्तिले दिएको एसपी अधिकारीले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved