रुबी खान पनि वामदेवको पार्टीमा, भन्छिन्, ‘तर मलाई थाहै छैन’

वामदेवको पार्टीको आठौँ वरीयतामा खानको नाम छ, तर खान स्वयं भने यसबारे आफू जानकार नभएको बताउँछिन्।

रुबी खान पनि वामदेवको पार्टीमा, भन्छिन्, ‘तर मलाई थाहै छैन’

काठमाडौं। बाँकेका दुई महिला नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारवाही गर्न माग गर्दै नेपालगञ्जदेखि-काठमाडौंसम्म पैदल यात्राको नेतृत्व गरेकी अभियन्ता रूबी खान वामदेव गौतमले गठन गरेको नयाँ दलको केन्द्रीय सदस्य बनेकी छन्।

तर खान स्वयं भने यसबारे आफू जानकार नभएको बताउँछिन्।

गौतमको संयोजकत्वमा १४ असारमा गठन गरिएको नेकपा एकता केन्द्रीय समन्वय समितिको केन्द्रीय सदस्यहरूको सूचीमा आठौँ वरीयतामा खानको नाम उल्लेख छ। तर आफूलाई यसबारे कुनै जानकारी नदिएको खानले फोन संवादमा बताइन्।

उनले भनिन्, ‘‘तपाईंले भनेपछि मैले हेरेँ, अरु नै हो कि सोचेकी थिएँ। तर फोन नम्बर पनि मेरै रहेछ। मलाई यस विषयमा कुनै जानकारी नै छैन।”

अहिले कुनै पनि राजनीतिक दलमा सक्रिय हुने सोच नै नराखेको उनले बताइन्। “मलाई विभिन्न दलले समानुपातिकतर्फबाट सांसद बनाउँछु भन्दा पनि मैले मानिनँ, अहिले राजनीतिमा आउने मेरो कुनै सोच नै छैन,” खानले भनिन्।

यता नयाँ गठित दलकी केन्द्रीय सदस्यसमेत रहेकी वामदेवपत्नी तुल्सा थापा गौतमले भने रूबी आफ्नै रूचीले पार्टीमा सहभागी भएको दाबी गरिन्। उनले भनिन्, “रूबी मिटिङमा सहभागी भएर पार्टीमा सहभागी हुन इच्छुक देखिएकी हुन्, त्यतिबेला उनले पार्टीमा सहभागी नहुनेबारे केही बताइनन्।”

उनको नेतृत्वमा १४ जना महिलाहरू १ असोज २०७८ मा घरेलु हिंसापछि हत्या गरिएकी नकुन्नी धोबी र सम्पत्ति हडपेर बेपत्तापछि हत्या गरिएकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौं आएका थिए। त्यसपछि १२ दिन माइतीघरमा अनसन बसेपछि सरकारले १२ असोजमा छानबिन समिति गठन गरेको थियो।

तर छानबिन समितिले उल्टै अभियुक्तलाई जोगाउन खोजेको भन्दै मंसीरमा पुन: रूबीको नेतृत्वमा बाँकेका अभियन्ताहरू काठमाडौं आई माइतीघरमा धर्नामा बसेका थिए। ४१ दिन धर्नापछि २४ घण्टा अनसन बसेपछि सरकारले दोस्रोपटक अनुसन्धान गर्ने सहमति गरेको थियो। त्यसपछि रूबीसहितका अभियन्ता नेपालगञ्ज फर्किएका थिए।

हाल नेपालगञ्जका ती दुई महिलाको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved