अब हराउन चाहन्नन् कवि चन्द्र गुरुङ

उनलाई मरूभूमिले कवि बनायो। उतै लामो समय बिताए, जति कविता लेखे उतै लेखे। उतै हराए। अन्तत: हराइसकेको एउटा चरो फेरि फर्किएर गुँडमै आयो।

अब हराउन चाहन्नन् कवि चन्द्र गुरुङ

‘एउटा आँगन हराउँछ
त्यही आँगन टेक्दै आउने खुट्टाहरू हराउँछन्
ती खुट्टाका आहट पर्खिबसेको ढोका हराउँछ
आँखाहरू देखादेख हुने झ्याल हराउँछ

हराउँछ एउटा घर
एउटा परिवारको सुगन्ध
दैनिकीको सुरताल हराउँछ
आँसु थाप्ने हातको स्पर्श हराउँछ

गीतको लय हराउँछ
शीतको बिम्बले पातमाथि कोर्ने कविता हराउँछ
मनभरिको व्यथा लेख्ने अक्षर हराउँछ
कथाको एउटा पात्र हराउँछ
हराउँछन् धड्कन व्यक्त गर्ने शब्दहरू
जब एउटा मान्छे हराउँछ’

(जब एउटा मान्छे हराउँछ)

एउटा मान्छे हराएपछि ऊ सँगसँगै के के हराउँछन् ? राम्रैसँग थाहा छ, कवि चन्द्र गुरूङलाई। हाँस्दाहाँस्दैको परिवारको हाँसो हराउँछ। गाउँदागाउँदैको जीवनको गीत हराउँछ। केटाकेटीको कल्याङमल्याङ आवाज हराउँछ। र, रहन्छ केवल सन्नाटा। अनि पर्खिबस्ने एउटा दैलो। सडकै सडक नजर दौडाइरहने एउटा झ्याल।

करीब १५ वर्ष मरूभूमिमा हराएर स्वदेश फर्किएका कवि चन्द्र त्यो अनुभूतीलाई कवितासंग्रहमा बोकेर आएका छन्। हुन त उनी कविता उनको पुरानो साथी हो, स्कुल पढ्दादेखिकै। २०५५ सालतिर काठमाडौं छिरेपछि उनी मीनभवन क्याम्पसमा बीबीएस पढ्न थाले जोरपाटीको एक स्कूलमा पढाउँदै। पढाइ र जागिरसँगै उनको जीवनमा थपिए पीडा, अभाव र दु:खका चाङहरू। जागिरले जिन्दगी थेगेन। छन त योग्यताको सर्टिफिकेट झोलाभरि  थियो, तर गतिलो जागिर खाने पहुँच थिएन। त्यसपछि उनलाई काठमाडौंबाट पनि हराउनुपर्ने भयो, एकाबिहानै चन्द्र काठमाडौंबाट पनि हराए।

२०६० सालमा साउदी अरब हान्निए। साउदीका गल्लीहरूमा हराए। होमिदिए आफैँलाई एक्लोपनमा। उतैको उजाड र रूखो मौसममा। आफन्त, साथी सगोत्री, देश केही पनि थिएन उनीसँग। थियो त केवल अनभूतीको उच्चाटलाग्दो चाङ र तिनलाई पोख्ने अक्षरहरू।तीनै अक्षरमा आफ्नोपन खोज्न थाले उनले। अनि त के थियो र? देशले उनलाई प्रवासी बनायो।  प्रवासले उनलाई कवि बनायो। तीन वर्षपछि स्वदेश फर्किँदा उनीसँग करीब ४५ कविता थिए। तिनैमध्येबाट  ३३ कविता संग्रहित गरेर प्रकाशन गरे कविता संग्रह- ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’।

कविता संग्रहको शीर्षक पो त्यस्तो। उनको मुटुभित्र देशको नक्सा होइन, सिंगो देश थियो। र त यतै जरा गाड्ने प्रयत्न थाले। फेरि स्कूलमा पढाउन थाले। कविहरूसँग हिमचिम बढ्यो। महफिलहरू धाए। स्कूल, डेरा र कविसँग बागबजारका गल्लीहरू नाप्दै बिताए दुई वर्ष। तर आफ्नो व्यवस्थापनको जिम्मेवारी मात्रै थिएन उनको काँधमा। घर व्यवहार मिलाउनुपर्थ्यो। जुन काठमाडौं बसेर पूरा गर्न नसक्ने अवस्थामा पुगे उनी। जिन्दगीको लय नमिलेपछि फेरि बरालिँदै पुगे बहराइन।

पहाडका आरुका फूल, मधेशका फाँटमा लहलह फल्ने धानका बाला, हिमालको काखको कलकल पानी पिएर हुर्किएका चन्द्र रूखो र सुख्खा भूमि, कष्टकर जीवन, पानीको अभाव भएको मरूभूमिमा हराउन पुगे। शिरिष, बुकी, सुनाखरी, गुराँसमा रमाउने आँखा अगाडि थपियो सीमाहीन बालुवाको मिराज। जहाँ उनी विध्वंस नै विध्वंस मात्रै देख्थे। बाटोमा हिँड्थे रुवाइहरू। सन्नाटाले चिथोर्थ्यो।एक्लोपनाले चिमोट्थ्यो। जीवन फगत एक उच्छवास थियो। चन्द्र आफूबाट आफै हराइसकेका थिए। जीवनको त्यो वैराग्य उनले फेरि पोखे कवितामै। जीवनका १५ वसन्त मरूभूमिमा बिताएर फर्किएका कवि गुरुङले पाटनको गल्लीमा भेट हुँदा भने, “मलाई त्यसबेला लेखनले बाँच्न सहयोग गर्‍यो, कविताले बाँचिराख्ने हौसला दियो।”

लेख्न थालेपछि उनले चर्को घामबाट छेकिनु र सेकिनुको पीडा मात्रै महशुस गरेनन्, बाहिर डुल्न रात पर्खिनुपर्दा रातको सौन्दर्य पनि महशुस गरे। विशाल मरूभूमिबीच देखिने खजुरका हरिया बोटले रोमाञ्चित भए। सेतै फुलेका सिउँडीका बोटमा वसन्त भेटाए। पानी बोकेर हिँड्ने उँटका लस्करहरूमा नेपाली झर्नाको कलकल सुने। उनी भन्छन्, “मरुभूमि केवल कठिनाइ मात्रै रहेनछ, त्यो पनि प्रकृतिकै एक रूप हो। हाम्रो र उनीहरूको प्रकृति फरक छ, तर प्रकृति त आखिर प्रकृति नै हो।”

लागेको हो उनलाई हराएँ। तर नेपाली साहित्यमा हराएका थिएनन्। बरू एउटा पुल बने। मरूभुमी र पहाड जोड्ने पुल। बहराइन बसिरहँदाका १५ वर्षमा उनले अनुवादमार्फत उतालाई यता ल्याए। युद्धले क्षतिग्रस्त प्यालेस्टाइन र इराकका कविका मुटुको सौन्दर्य अनुभूत गरे। विदेशबाट देश नियाले। संसारकै अग्लो सगरमाथा भएको देश, गौतम बुद्धको देश, गोर्खाहरूको देश भनेर गर्व गरिने गरेकोमा देशभित्र त्यस्तो कुनै उचाई, शान्ति र बहादुरी देखेनन् उनले। उनले यहाँ पीडा देखे, दु:ख, भागदौड र अशान्ति देखे। तर यति मात्रै होइन, देशको मायाले निथ्रुक्कै भिजे पनि उनी। ती भावनाहरू कवितामा उतारे त्यसैको नतिजास्वरूप तयार भयो कविता संग्रह–जब एउटा मान्छे हराउँछ, जुन इन्डिगो इन्कबाट अर्को साता प्रकाशित हुँदैछ।

“रहरले होस् वा करले हराउनु बाध्यता रहेछ हाम्रो, तर जब देशबाटै हराउँछौँ देश अझ भूगोलको परिधिभन्दा बाहिरबाट स्पष्ट देखिँदो रहेछ,” उनी भन्छन्, “जसरी समूहको बारेमा थाहा पाउन समूहबाहिर निस्किनुपर्छ देश पनि त्यस्तै रहेछ।”

उनलाई मरूभूमिले कवि बनायो। उतै लामो समय बिताए, जति कविता लेखे उतै लेखे। उतै हराए। अन्तत: हराइसकेको एउटा चरो फेरि फर्किएर गुँडमै आयो – चन्द्र देशमै फर्किए। राजनीति, देशको माया, समाज, परदेशीका सुस्केरा, र दर्शन अनि केही प्रेममाथि लेखिएका उनका ५० ओटा कविता यस संग्रहमा संग्रहित छन्।

पहिलो कविता संग्रह छापिएको करीब १६ वर्षपछि अर्को संग्रह ल्याउन लागेका कवि चन्द्र यसलाई आफ्नो उडानको रहर बताउँछन्। एउटा झुसिलकीरा पुतली बन्ने यात्रासँग दाँज्छन् उनी आफ्नो यात्रा। पाँच साता घिनलाग्दो भएर, पातहरू खाँदै, छुँदा पनि झुस बिझाउने झुसिलकीरा दुई साता हाँगाभित्र दुई साता भूमिगत भएर एउटा पुतलीसम्मको यात्रा गर्छ त्यही यात्राका रूपमा लिन्छन् कवि चन्द्र आफ्नो यात्रालाई। किम्बुका हाँगाको खोपिल्टाबाट जसरी एउटा पुतली उड्दै बगैँचासम्मको उडान भर्छ त्यसैगरी मान्छेले पनि एउटा उडानका लागि संघर्ष गर्ने उनी बताउँछन्।

उनी भन्छन्, “‘खासमा मान्छे हराउन नचाहँदो रहेछ, मान्छे आफ्नो अस्तित्वको खोजीमा निस्किँदो रहेछ।”

त्यही खोजको नतिजा हो उनको यो कविता संग्रह। १५ वर्षसम्म नलागेको जीवनप्रतिको मोह फक्रिएकै कारण उनी यो संग्रह प्रकाशित गर्ने निर्णयमा पुगेका हुन्। उनी भन्छन्, “एउटा मान्छे हराएपछि के के हुन्छ मैले बुझिसकेको छु, त्यसैले अब म हराउन चाहन्न।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved