राष्ट्रिय जनगणना

जनगणनामा पहिलो पटक मातृ मृत्युदर तथ्यांक समावेश

सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्य

जनगणनामा पहिलो पटक मातृ मृत्युदर तथ्यांक समावेश

काठमाडौं। गर्भावस्थामा आमाहरूको मृत्यु भइरहेको कारण र त्यसलाई निराकरण गर्न पहिलो पटक राष्ट्रिय जनगणनामा मातृ मृत्युदर तथ्यांक समावेश गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा यो कार्य बढाइएको केन्द्रीय तथ्यांक विभागका उपसचिव कपिलप्रसाद तिमल्सेनाले बताए।

उनका अनुसार सुत्केरीको मृत्यु हुने मुख्य कारणहरू तीन ओटा छन्। जसमध्ये पहिलो, सुत्केरी हुने समयमा अस्पताल लैजाने वा घरमै गराउने भन्ने अन्योल, दोस्रो, यातायातको असुविधाका कारण समयमै अस्पताल लैजान नसक्नु र तेस्रो, कअस्पतालमा दक्ष जनशक्ति नहुनु हो।

मातृ मृत्युदर निर्धारण गर्ने र मृत्यु हुने आमाहरूको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ राष्ट्रिय जनगणनामा यो पटक मातृ मृत्युदर अध्ययन गरिन लागिएको उनले बताए।

यो अध्ययनमा गणकहरूले कुनै परिवारमा १२ महीनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएरनभएको डाटा संकलन गर्नेछन्। मातृ मृत्यु भएका परिवारको पहिचान २५ कात्तिकदेखि ९ मंसीरसम्म गरिनेछ भने मौखिक परीक्षण कात्तिक २६ देखि मंसीर मसान्तसम्म यो सकिनेछ।

उनी भन्छन्, ‘‘पहिले पनि जनगणनामा मातृ मृत्यु संख्या पत्ता लगाइन्थ्यो। जुन औपचारिक मात्र थियो। तर यो पटक भने परिवारमा एक वर्षभित्र गर्भावस्था, प्रसव अवस्था, सत्केरी अवस्था ९४२ दिन० र अन्य गरेर यी चार अवस्थामा परिवारमा कुनै महिलाको मृत्यु भएको छ वा छैन भनेर प्रश्नावली नै तयार पारिएको छ।”

‘यी प्रश्न गणकहरूले परिवारलाई सोध्नेछन्। मृत्यु भएको छ भन्ने यकिन भएमा गणकहरूले स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी गराउनेछन्,” उनले थपे। देशभरबाट आउने तथ्यांकले गत वर्षको मातृ मृत्युदर पत्ता लगाउन सहयोग पुग्ने उनले अपेक्षा गरे।

गणकहरूले यसरी मृत्यु भएको हो भनेर पत्ता लगाइसकेपछि भने स्थानीय स्वास्थ्यकर्मीहरू कारण खोज्नका लागि पठाइने छ। सरकारले सातै प्रदेशमा गरी आठ सय ४१ जना स्वथ्यकर्मीलाई यसरी कारण पत्ता लगाउन तालिमसमेत दिइरहेको उनले जानकारी दिए।

यसरी यो जनगणनामा मातृ मृत्युको कारण र यकिन संख्या पत्ता लगाउन लागिएको एशियामै पहिलो पटक भएको उनले अनुमान गरे। प्रजनन् उमेरका महिलाको मृत्युमध्ये करीब १२ प्रतिशतको मातृ मृत्युका कारण रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा समावेश छ।

सन् २०१६ मा मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्यअनुरूप २०३० सम्ममा यसलाई ७० मा झार्ने लक्ष्य रहेको जनसंख्या महाशाखा प्रमुख इन्द्रमणि पोख्रेलले बताए।

आगामी दिनमा पनि सुत्केरी आमा र नवजात शिशुको मृत्यु रोकथामका लागि तथ्यांक संकलन गरिने र यसकै आधारमा मातृ मृत्यु अनुपात तथा मृत्युको कारण व्याख्यासहित संघीय, प्रादेशिक र स्थानीय तहलाई उपयोगी हुने गरी प्रतिवेदन प्रकाशित गरिने उनको भनाइ छ।

प्रतिवेदनका आधारमा भविष्यमा कुनै मातृ मृत्युदर घटाउन कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने उनले बताए। उनी भन्छन्, ‘‘यो अध्ययन राष्ट्रिय प्राथमिकताप्राप्त भएको हुँदा सबै तहका स्वास्थ्य संस्था तथा व्यक्तिबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले सहयोगको अपेक्षा राखेको छ।”

पहिलेको तथ्याकंलाई आधार मानेर हेर्ने हो भने यो जनगणनामा प्रति एक लाख गर्भावस्थाका आमामध्ये दुई हजारको हाराहारीमा मृत्यु भइरहेको अनुमान गरेको तथ्याकं विभागले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved