संगीको समय हराएको घडी…

“जस्तोसुकै दुःख किन नहोस्, त्यस्तो समय पनि एक‍दिन बितेर जानेछ र खुसीका पलहरू फेरि आउनेछन् भनेर मानिस आशावादी हुन्छ। क्यानभासको एउटा खुला आँखा त्यसैको प्रतीक हो।”

संगीको समय हराएको घडी…

ललितपुर। ठूलो क्यानभासभित्र एउटा सानो घडी छ। घडीको वरिपरि रञ्जना लिपिमा समय कोरिएको छ। १, २, ३…देखि १२ सम्म। तर समय बताउने घडीका सुइहरू भने कतै हराएको छ। चित्रकार संगी श्रेष्ठले बनाएको चित्रमा घडीको सुइ मात्रै होइन, समय नै कतै रोकिएको वा हराएको झैं प्रतीत हुन्छ।

“लकडाउनको बेला घरभित्रै थुनिनुपर्दा मलाई समय कतै हराएको वा रोकिएको जस्तो लागेको थियो,” ललितपुरको चाकुपाटस्थित एमक्युब ग्यालरीमा चलिरहेको एकल कला प्रदर्शनीमा राखिएको चित्रको वर्णन गर्दै संगीले भनिन्, “त्यो बेलाको अनुभूति मैले क्यानभासमा रंगमार्फत् पोखेकी हुँ।”

‘संवेग’ शीर्षकमा थालिएको कला प्रदर्शनीमा संगीका दर्जन बढी चित्रहरू प्रदर्शनीमा राखिएका छन्। ती सबै उनले लकडाउनको समयमा सिर्जना गरेकी हुन्। कोभिडको त्रासदीबाट संगी पनि अछूतो रहन सकिनन्। त्यसैले उक्त त्रासदीबाट मुक्ति पाउन पनि उनले क्यानभासमा कुची चलाइन्। अनुभूतिलाई चित्रमा परिणत गरिन्। उनको चित्रमा समय हराएको घडीसँगै बसिरहेको छ एउटा मान्छे। उसको एउटा आँखा बन्द छ, अर्काे आँखा खुलेको। खुला आँखाले आशालाई इङ्गित गरेको उनी सुनाउँछिन्। भन्छिन्, “जस्तोसुकै दुःख किन नहोस्, त्यस्तो समय पनि एक‍दिन बितेर जानेछ र खुसीका पलहरू फेरि आउनेछन् भनेर मानिस आशावादी हुन्छ। क्यानभासको एउटा खुला आँखा त्यसैको प्रतीक हो।”

वर्गाकार, आयताकार जस्ता ज्यामितिय आकृतिको माध्यमले मानिसका भावनाहरू देखाउनु संगीको खुवी हो। प्रदर्शनीमा यस्तै आकृतिले मानिसका लागि समाजले बेरिदिएको घेरालाई देखाउन खोजेकी छन् उनले। साथै उनका चित्रमा शान्तिको कामना समेत देख्न सकिन्छ। उनले
एक्रेलिक, मिक्स मिडिया माध्यमबाट चित्र बनाएकी छन् भने केही पेन्टिङ पुरानो शैलीमा गरेकी छन्। “पहिले मसीमा कलम डुबाएर लेख्ने चलन थियो, त्यही शैलीमा मैले पेन्टिङ बनाएको छु,” उनले भनिन्।

उनी पाटनमै जन्मिइन्। पढाइ राम्रो थियो। घरकाले नर्स, डाक्टर वा इन्जिनियर बनाउने सोचेका थिए। उनको मन भने पेन्टिङतिर गयो। उनले ‘आर्ट नै पढ्ने, नत्र भने केही नपढ्ने’ जिद्दी गरिन्। त्यसपछि उनी ललितकला क्याम्पसमा भर्ना भइन्।

त्यसबेला पेन्टिङमा भविष्य बनाउन सकिन्छ भनेर सोच्ने खासै थिएनन्। रहरले ललितकला भर्ना भइन्। पढेपछि काम पाइँदो रहेछ। उनले काम पाउन थालिन्। इलुस्ट्रेसन(बालकथाका किताबमा चित्र बनाउने) र कार्टुनमा काम गरिन्। साथै ललितकलाको बारेमा आर्टिकल पनि लेख्थिन्। शुरु शुरुमा एउटा चित्रमा एउटा मात्रै फिगर(एक जना मानिस) बनाउँथिन् उनी। तर लकडाउनको समयमा उनी एक्लै हुन पाइनन्। परिवारका सदस्य सबै घरमा सँगै भए। त्यही प्रभावले होला, उनको चित्रमा पात्रहरू थपिएका छन्। उनी ‘अन्जानमै पात्र थपिन’ पुगेको बताउँछिन्।

सानोमा उनी गणेशका चित्र बनाउँथिन्। बीचमा उनले छाडेकी थिइन्। तर लकडाउनपछि उनले फेरि चित्रमा गणेशका आकृति थप्न थालेकी छन्। थुप्रै चित्रमा उनले गणेशका मण्डला, वन्दा र आकृतिहरूबनाएकी छन्। तर उनले गणेश र मण्डला बनाउनुको भने कारण छ। ‘‘लकडाउनको समयमा आफू र आफ्नो परिवारलाई मात्रै नभई अन्यलाई पनि केही नहोस् भनेर कामना गरेँ। त्यसबेला भगवानप्रति आस्था बढ्यो। चित्रमा गणेश र मण्डला बनाउन थालेँ।”

अब उनको योजना नै आफ्नो स्टाइलसँग संस्कृति मिसाउने छ। उनी भन्छिन्, “म एउटा नयाँ सिरिज शुरु गर्ने सोचिरहेको छु। जसमा संस्कृति र आफ्नो स्टाइल फ्यूजन गरेर नयाँ चित्र बनाउँछु।”

प्रदर्शनी २२ असोजसम्म चल्नेछ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved