बंगलादेश विरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

महिला फुटबल : टिममा साम्बाको अभाव देखियो

नेपालको अपराजित यात्रा भने कायमै

फिनिसिङमा चुक्दा निर्धारित समयमा दुवै तर्फबाट गोल हुन सकेन। अघिल्लो खेलमा पहिलो हाफ मै २ गोल गरेको नेपालले यो खेलमा भने पूरै खेल अवधिभर बललाई जाली चुमाउन सकेन।

महिला फुटबल : टिममा साम्बाको अभाव देखियो

काठमाडौं। नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्र्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ। आइतबार दशरथ रङ्गशालमा भएको खेलमा दुवै टिमले पाएका केही अवसर गुमाउदा खेलमा कुनै गोल हुन सकेन।

यो बराबरीपछि पनि नेपाली महिला फुटबल टिमले बंगलादेशसँगको आफ्नो अपराजित यात्रालाई भने कायमै राखेको छ। हालसम्म भएका यी दुई बीचको ८ खेलमा नेपालले ६ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएको छ।

बिहीबारको पहिलो मैत्रीपूर्र्ण खेलमा नेपालले बंगलादेशलाइ २-१ गोल अन्तरले पराजित गरको थियो। बिहीबारको पहिलो खेलको टिममा ३ परिवर्तन गर्दै प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमलाई आइतबार मैदानमा उतारेका थिए।

खेलको छैठौँ मिनेटमा नै बंगलादेशले गोल गर्ने राम्रो मौका खेर फाल्यो। अघिल्लो खेलकी किपर अन्जली सुब्बाको ठाँउमा खेलिरहेकी अन्जना राना मगरले पेनाल्टी बक्स भित्र बल फुस्काएपछि बंगलादेशकी सिरोमोती सरकारले खाली पोष्टमा गोल गर्न सकिनन्। नेपालकी डिफेन्डर गीता रानाले उक्त बल बचाइन् र नेपाल शुरुमै गोल खानबाट पनि जोगियो।

तीन मिनेट पछि नै नेपालले खाता खोल्ने लगातार दुई मौका पायो। तर, दुवै प्रहारमा बंगलादेशकी किपर बाधक बनिन्। नवौँ मिनेटमा अमृता जैसीको पेनाल्टी बक्स बाहिरको कडा प्रहारलाई बंगाली किपर रुपमा चक्माले निकै कठिन रुपमा बचाइन्। लगत्तै मिडफिल्डर सरु लिम्बूको अर्को लामो प्रहारलाई पनि चक्माले नै डाइभिङ सेभमार्फत् विफल पारिन्।

खेलको २९ औँ मिनेटमा बंगलादेशले पनि लिड लिने अर्को मौका गुमायो। सिरोमोतीको बक्स बाहिरको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।

पहिलो मैत्रीपूर्ण खेलको तुलनामा बंगलादेशले आइतबार अझ सुधारिएको खेल देखाइरहको थियो। दुवै टिमले आक्रमक रणनीति अपनाएका थिए भने खेलमा गोल गर्ने राम्रा मुभ बनाइरहेका थिए। तर मौकालाई सही सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

त्यसपछि नेपालले दोस्रो हाफमा भने खासै राम्रो मौका बनाउन सकेन। आइतबारको खेलमा नेपाली टिमले आफ्नो स्टार स्टाइकर सावित्रा भण्डारी (साम्बा) लाई मिस गरिरकेको भान हुन्थ्यो। साम्बा हाल घुडाको चोटको उपचारका लागि कतारमा छिन्।

गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा उनको घुडामा चोट लागेको थियो। घुडाको शल्यक्रियापश्चात् कतार हस्पिटलमा आराम गरिरहेकी सावित्रा यो टिमका लागि उपलब्ध हुन सकिनन्। साम्बा पूर्णरुपमा ठीक हुन अझ केही समय लाग्ने बताइएको छ। उनी अर्को हप्ता हुने एएफसी महिला एसिएन कप फुटबलको छनौट खेलमा पनि नेपाली टिममा हुने छैनन्।

दोस्रो हाफमा दुवै टिम गोल गर्न आतुर देखिन्थे । तर फिनिसिङमा चुक्दा निर्धारित समयमा दुवै तर्फबाट गोल हुन सकेन। अघिल्लो खेलमा पहिलो हाफ मै २ गोल गरेको नेपालले यो खेलमा भने पूरै खेल अवधिभर बललाई जाली चुमाउन सकेन।

खेलको बारेमा नेपालकी कप्तान रणुका नगरकोटी भन्छिन्, “गेम ठीकै भयो, सोचे जस्तो त भएन। कमजोरी धेरै त होइन तर गोल स्कोरिङ बनाउन सकेनौँ ।”

बंगलादेशले भने नेपाललाई गोलरहित बराबरीमा रोक्नुलाई नै उपलब्धी मान्यो। “नेपाल जस्तो बलियो टिमसँग हामी ९० मिनेटसम्म एउटै लयमा खेल्न सक्यौँ, त्यो राम्रो भयो, एशिएन कप फुटबल छनौटका लागि यी २ खेलले आत्मविश्वास बढाएको छ”, खेलपछि बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानीले भने।

यी दुई बीचको खेलमा गोल नभएको यो पहिलो पटक हो। त्यसैगरी यी दुईले दोस्रो पटक बराबरी खेल खेलेका हुन्। महिला तर्फको फिफा वरीयता क्रममा नेपाल बंगलादेश भन्दा ३६ स्थान माथि छ। नेपालको फिफा वरीयता क्रम १०१ हो भने बंगलादेश १३७ औं स्थानमा छ।

यो खेलबाट रजिना थोकरले राष्टिय फुटबल टिममा डेब्यू पनि गरिन्। खेलको अन्तिम समयमा डेब्यू गराउनकै लागि मात्र प्रिती राईको ठाँउमा प्रशिक्षक फिलिप्सले उनलाई मैदान छिराएका थिए। ७ नयाँ खेलाडीले यसपटक टिममा ठाउँ पाए भने दुई खेलमा गरी ५ जनाले डेब्यू गरेका छन्।

नेपाली राष्टिय महिला फुटबल टिमले आफ्नो ३५ वर्षीय अन्तर्राष्ट्रिय फुटबल करियरमा पहिलो पटक दशरथ रङ्गशालामा फिफाको मान्यता प्राप्त यी २ खेल खेलेको हो। कोभिडका कारण धेरै लामो समयपछि यी दुवै टिम मैदानमा फर्किएका थिए। नेपाली महिला टिम र बंगलादेशी महिला टिमले अन्तर्राष्ट्रिय फुटबल म्याच नखेलेको करिब दुई वर्ष हुन लागेको थियो।

नेपाली महिला फुटबल टिम अर्को साता उज्वेकिस्तानमा हुने एएफसी महिला एशिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ। सो प्रतियागिताको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशी महिला फुटबल टिमलाई मैत्रीपूर्र्ण खेलको लागि बोलाएको हो।

६ सातादेखि तयारीमा रहेको नेपाल एएफसी महिला एशिएन कप फुटबल २०२२ को छनोट प्रतियागिताको समूह एफमा छ। समूह एफमा नेपालसहित फिलिपिन्स र हङकङ रहेका छन्।

नेपाली प्रशिक्षक फिलिप्स भन्छन, “आजको प्रदर्शनबाट निराश छु, तर यो तयारी खेल मात्र हो। एशिएन कप छनौटका २ टिम फिलिपिन्स र हङकङ वरीयतामा हामीभन्दा माथि छन्। तर ९० मिनेटमा जे पनि हुनसक्छ।”

छनोट प्रतियागितामा नेपालले आगामी असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूह जीमा रहेको बंगलादेशले भने जोर्डन र इरानसँग छनोट खेल खेल्नेछ।

नेपाली महिला टिमले ३ पटक एशियन कप फुटबल प्रतियोगिता खेलिसकेको छ। सन २००० अगाडि खेलिएका ती सबै खेलमा नेपालको यात्रा समूह चरणसम्मको मात्र थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved