एमसीसीको विरोध (फोटोफिचर)

नेपालभ्युज

एमसीसीको विरोध (फोटोफिचर)

काठमाडौं। मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) विरुद्ध नेपालमा केही दिनयता दिनहुँजसो प्रदर्शन हुन थालेका छन्।

गठबन्धनको सत्तारुढ दलहरू नै एमसीसी पास गर्ने कि नगर्ने भन्ने दुई खेमामा विभाजित हुँदा यसको विरोधमा आवाजहरू चर्किन थालेका छन्।

दललका नेताहरू नै यसप्रति दुई खेमामा विभाजित छन्। कसैले यो नेपालका लागि हानि हुने र कसैले नेपाललाई फाइदा पुर्‍याउने भनेर विष्लेषण गरिरहेका छन्।

अझ कतिपयले एमसीसीलाई सीधै अमेरिकी सेना नेपाल प्रवेश गर्ने ढोकाको रूपमा अर्थ्याउन थालेका छन्। नेपाललाई प्रयोग गरेर अमेरिका आफ्ना विरोधीशक्तिविरुद्ध लाग्न सक्ने उनीहरूले बताइरहेका छन्। उनीहरूको व्याख्याले भन्छ- नेपालमा अमेरिकी साम्राज्यवाद लादिन्छ, नेपाललाई परनिर्भर बनाउँछ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार यस परियोजना नेपालमा लागु गर्ने विषयमा छलफल गर्न नेपाल आउने कार्यक्रम तय भए पनि उनको आगमन कहिले हो भन्ने यकिन छैन। सुमारको नेपाल आगमन र एमसीसीमा पास हुने भन्दै यसको विरोधमा देशभर विरोध झनै चर्किन थालेको छ।

एमसीसीविरुद्ध देशभर केही दिनयता कहाँ के के भयो ?

हिजो मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले हिजो (२१ भदौ) एमसीसीको विरोध गर्दै अमेरिकी दूतावासअघि प्रदर्शन गर्‍यो। उक्त क्रममा प्रहरीले केही प्रदर्शनकारी पक्राउ पनि गरेको थियो।

हिजो सोमबार दिउँसो महारागन्जस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसीलाई राष्ट्रघाती करार गर्दै खारेज गर्न दबाब दिइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूले दूतावासअघि ‘राष्ट्रघाती एमसीसी सम्झौता तत्काल खारेज गर’लगायत नारा लगाएका थिए।

यसैगरी हिजै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले एमसीसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका थिए।

पाँचथरको फिदिममा जिल्ला भेलामा उनले एमसीसी खुलेर विरोध गर्नुका साथै मुलुकलाई विदेशीको खेल मैदान बन्न नदिइने चेतावनी दिएका थिए।

यस्तै आज (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि विरोध प्रदर्शन भएको छ। एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूहलगायतको आह्वानमा युवाले एमसीसीविरुद्ध नाराबाजीसँगै कालो झण्डा देखाएका हुन्।

विमानस्थलको मुख्य गेटअघि भएको प्रदर्शनमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। एमसीसी खारेजीको माग गर्दै चितवनमा पनि प्रदर्शन भएको छ। १८ साउनमा एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति नै बनाएर प्रदर्शन भएको हो। प्रदर्शनकारीले ‘एमसीसी खारेज गर’, ‘नो एमसीस’, एमसीसी इज अ क्यान्सर’, ‘एमसीसी गेट आउट’ लेखिएका प्लेकार्डसहित विरोध जनाएका थिए।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले एमसिसीविरुद्ध २२ भदौ (आज) देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न आह्वान गरेको थियो। यस दलले एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितविरुद्ध एमसीसी भएको ठहर गरेको छ।

साथै यसका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबविरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न देशव्यापी विरोधका कार्यक्रम गरिएको जनाएको छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको (नेकपा) ले पनि एमसीसीविरुद्ध देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ। पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो।

जसअनुसार २३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी विरोध प्रदर्शन,
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने,
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने,
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा,
गर्ने पार्टीले जनाएको छ।

हाम्रो नेपाल हामी नेपाली अभियान, शाही युवा शक्ति नेपाल र राष्ट्रिय शक्ति नेपाल ९एमसीसीविरुद्ध संयुक्त महाअभियानले पनि आजै एमसीसीको विरोधमा ललितपुरको लगनखेलमा प्रदर्शन गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved