सन्यास फिर्ता हुन्नः पारस खड्का

नेपालभ्युज

सन्यास फिर्ता हुन्नः पारस खड्का

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काले सन्यास फिर्ता लिने सम्भावना नरहेको बताएका छन्।

सन्यास घोषणापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै खड्काले भने, “म आफू खेलाडीको रुपमा अब फेरि नेपालको जर्सीमा अन्तर्राष्ट्रिय म्याच खेल्छु भन्ने लागेको छैन। तर, घरेलु क्रिकेट भने खेल्छु।”

क्रिकेट समर्थकहरुले खड्का फेरि राष्ट्रिय टोलीमा फर्किने अपेक्षा गरिरहेका बेला उनको आधिकारिक धारणा आएको हो। शुक्रबार कसमस कलेजले उनलाई ब्राण्ड एम्बेस्डर घोषणा गरको छ।

यही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले खड्कालाई पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरे। “जसरी मेस्सीले सन्यास घोषणापछि पनि देशलाई आवश्यक पर्दा राष्ट्रिय टीममा फर्किएका थिए त्यसैगरी राष्ट्रको अनुरोधमा पारसले सन्यास फिर्ता लिएर मैदानमा उत्रनुपर्छ”, सिलवालले भने।

प्रतिउत्तरमा खड्काले भने,“खेलाडीको रुपमा मैले दिने योगदान यति नै हो, अब नेपाली क्रिकेट विकासका लागि क्रिकेट ऐकेडेमी मार्फत अगाडि बढ्छु।” उनले चाँडै ‘क्रिकेट एक्सेलेन्स सेन्टर’ (सीईसी) नामक ऐकेडेमी सञ्चालन गर्दैछन्। सम्पूर्ण तयारी पूरा भएकाले दुई साताभित्रै एकेडेमीको औपचारिक शुभारम्भ हुने खड्काले जानकारी दिए।

एकेडेमीले देशभरबाट ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममार्फत युवा प्रतिभालाई भित्र्याउनेछ। यही एकेडेमी मार्फत राष्ट्रियस्तरका खेलाडी जन्माउने खड्काको सपना छ। एकेडेमीमा छनोट हुनेलाई कसमस कलेजले छात्रवृतिसहितको शैक्षिक सुविधा प्रदान गर्नेछ।

कलेजले ऐकेडेमीका खेलाडीलाई २५ देखि सत् प्रतिशतसम्म छात्रवृति दिने घोषणा गरेको छ। राष्ट्रिय क्रिकेट टिममा छनोट हुने खेलाडीले शतप्रतिशत छात्रवृति पाउने कलेजले जनाएको छ।

तस्वीरहरु गोपेन राई ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved