थापाथली प्रसूति गृह : ६२ वर्ष पूरा, हालत उही

थापाथली प्रसूति गृह : ६२ वर्ष पूरा, हालत उही

काठमाडौं । थापाथालीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६२ औं वार्षिकोत्सव मनाएको छ। अस्पताल अगाडि हिलाम्मे र अस्तव्यस्त बाटोले वार्षिकोत्सवका लागि श्रृंगारिएको अस्पतालको शोभा भने घटाएको थियो।

केही दिनयता अविरल परेको पानीको प्रभावले अस्पताल अगाडिको पूरै बाटो टेकिनसक्नु छ। त्यहीँ आज (सोमबार) अस्पतालको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सहभागी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्दै थिए, “६१ औं वार्षिकोत्सवमा आउँदा भनेको थिएँ, यो बाटो चिल्लै बनाउँछु भनेर। बजेट पनि पाँच करोड छुट्याएँ। टेण्डर पनि पर्‍यो। तर ठेकेदारले काम ढिलो गरे।”

ठेकेदारतिर समस्या पन्छाएका मेयर शाक्यको भनाइलाई मान्ने हो भने त्यहाँ बाटो बनाउन लागिएको कुनै छाँटकाट नै देखिँदैन्थ्यो। अस्पतालमा आउने धेरैलाई हिलो छ्यापिने डरले होला तर्कीतर्की हिँडिरहेका देखिन्थे।

कोरोना महामारीमा सम्झनालायक प्रसूति अस्पताल

कोरोना महामारीका बे‍ला यो अस्पताल बिरामीका लागि जीवनदान बनेको छ।

अस्पतालले कुपोण्डोलमा आइसोलेसन सेन्टर, शल्यिक्रया र सुत्केरीहरूका लागि सय बेडको एचडियू र आइसियू सेवा दिइरहेको अस्पतालकी निर्देशक डा. संगीता कौशल मिश्रले बताइन्।

कार्यक्रममा उनले भनिन्, “संक्रमितका लागि अक्सिजन अभाव नहोस् भनेर लिक्विइड अक्सिजन ट्यांकसमेत जडान गरेका छाैं।”

उदाहरणीय बनिरहेको यस अस्पतालले गत आर्थिक वर्षमा ओपिडीबाट एक लाख ४३ हजार २२१ जनाले सेवा लिएका उनले बताइन्। त्यस्तै २२ हजार १४ जनाले सुत्केरी सेवा लिएका थिए। जसमध्ये १० हजार ९ सय ६१ जनाको शल्यक्रिया भएको र ८ हजार १०८ ले सिजरियन माध्यमबाट सुत्केरी गराएका उनले जानकारी दिइन्।

सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गरिने

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सातै प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले भने, “महिलामा धेरै स्वास्थ्य समस्या देखिन्छन्, प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा विस्तार गर्न आवश्यक छ।”

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रको रूपमा विकासित गरिनुपर्ने धारणा राखे। अस्पतालमा प्रसूति हुन आउनेले कोरोनाविरुद्ध खोप लगाउन चाहे सरकारले उपलब्ध गराउन सकिने बताए।

प्रसूति अस्पताललाई छिट्टै नै क्षमता विस्तार गरी नै सात सय बेड बनाइने योजना रहेको पनि स्वास्थ्य सचिव डा रोशन पोखरेलले बताए।

दशैंसम्ममा ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने योजना रहेको पनि त्यस क्रममा मन्त्री श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved