पूर्वमुख्यमन्त्री राई भन्छन्- उपधारा ५ को सरकार अजम्बरी हुँदैन

नेपालभ्युज

पूर्वमुख्यमन्त्री राई भन्छन्- उपधारा ५ को सरकार अजम्बरी हुँदैन

विराटनगर । कोशी प्रदेशसभा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकार अल्पमतको हुन नसक्ने बताएका छन् ।

शुक्रबार बसेको कोशी प्रदेश सभाको बैठकमा भाग लिँदै राईले यस्तो बताएका हुन् । “प्रष्ट कुरा हो, सरकारचाहिँ अल्पमतको हुन सक्दैन,” उनले भने ।

उनले सरकार रहँदा पनि र हट्दा पनि कानूनसङ्गत तरिकाले हुनुपर्ने बताए । “र, अर्को कुराचाहिँ संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार अजम्बरीचाहिँ हुँदैन । त्यहाँ त राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश हटाउन सकिने प्रावधान छ,” उनले भने ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन परिवर्तन गरेसँगै बहुमत गुमाएका मुख्यमन्त्री कार्की विश्वासको मत पनि नलिने र राजीनामा नदिने अडानमा छन् । यसपछि एमाले–माओवादी केन्द्रका सांसदहरूले सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने उल्लेख गरिएको छ । प्रस्तावमाथि अहिले छलफल जारी छ ।

कार्की संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । उनले आफू मध्यावधि रोक्ने ध्येयका साथ मुख्यमन्त्री बनेको उल्लेख गर्दै राजीनामा नदिने अडान कायमै राखेका छन् ।

संविधाविद्हरूले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने र विश्वासको मत नपाए प्रदेश मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved