भारतको लोकसभा चुनाव

बलिउडकी ‘क्वीन’ र हिमाञ्चलका ‘राजकुमार’को रोचक भिडन्तमा कसले मार्ला बाजी?

नेपालभ्युज

बलिउडकी ‘क्वीन’ र हिमाञ्चलका ‘राजकुमार’को रोचक भिडन्तमा कसले मार्ला बाजी?

काठमाडौं । ‘कंगना रनौत मेरो बारेमा भन्छिन् कि म राजाको छोरा हुँ । मेरो बुबा वीरभद्र सिंह रामपुर बुशहरका राजा मात्रै थिएनन्, हिमाञ्चल प्रदेशको हृदयका राजा हुन् र मलाई गर्व छ कि म उनको छोरा हुँ ।’

भारतको हिमाञ्चल प्रदेशका सार्वजनिक निर्माणमन्त्री र मन्डी लोकसभा सिटका भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंहले चुनावी प्रचारका क्रममा गरेको भाषणको अंश हो यो ।

कांग्रेसले मन्डी लोकसभा सिटमा विक्रमादित्यलाई उम्मेदवार बनाएपछि गत शनिबारदेखि प्रचारप्रसार सुरु गरेको छ । भारतीय जनता पार्टी (BJP) ले कंगनालाई टिकट दिएदेखि नै कांग्रेसले विक्रमादित्यलाई उम्मेदवार बनाउन सक्ने चर्चा चलेको थियो । नभन्दै कांग्रेसले उनलाई नै टिकट दियो ।

कारण थियो, विक्रमादित्य कंगना रनौतको कट्टर आलोचक हुन् । उनी रनौतमाथि बेला-बेलामा चर्को अभिव्यक्ति दिएर चर्चामा आइरहन्छन् । चुनाव प्रचारका क्रममा कंगनाले पनि विक्रमादित्यलाई निशाना बनाएकी छन् ।

मन्डी लोकसभा सिटमा छ जिल्लाका १७ विधानसभा क्षेत्र छन् । तीमध्ये तीनवटा विधानसभा क्षेत्र अनुसूचित जनजाति र पाँचवटा अनुसूचित जातिका लागि आरक्षित छन् ।

जनसङ्ख्या र भूगोलका हिसाबले विविधतायुक्त यस विधानसभा क्षेत्रबाट धेरै ठूला व्यक्तित्व संसद्‌‌मा निर्वाचित भएका छन् । भारतको पहिलो स्वास्थ्यमन्त्री राजकुमारी अमृत कौर, पूर्वदूरसञ्चारमन्त्री पण्डित सुखराम र वीरभद्र सिंह सामेल छन्।

यसपटक हिमाञ्चल प्रदेशका चारवटै लोकसभा सिटमा अन्तिम चरणमा मतदान हुने भएपनि मन्डी लोकसभा सिटमा राजनीतिक गर्मागर्मी बढिरहेको छ । कंगना र विक्रमादित्यले एकअर्कामाथि कडा शाब्दिक हमला गरिरहेका छन् ।

विक्रमादित्यले कंगनालाई ‘मौसमी राजनीतिज्ञ’ भन्दै गाईको मासु खाएको आरोप लगाए पनि कंगनाले प्रमाण मागेर उनलाई ‘छोटा पप्पु’ र ‘राजा बेटा’ भन्दै कटाक्ष गरिन् ।

विक्रमादित्य यसअघि पनि विवादास्पद र आक्रामक बयानका कारण चर्चामा आइरहन्छन् । शाब्दिक प्रहारको मामिलामा यी एकअर्काको कडा प्रतिस्पर्धीको रूपमा हेरिन्छन् । तर, भोटको मामिलामा पनि यी दुईबीच कडा प्रतिस्पर्धा होला ?

यसपटक मन्डी लोकसभा निर्वाचन क्षेत्रको चुनाव उम्मेदवारको तिखो बयानका कारण मसालेदार हुने बताउँछन् वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक हेमन्त ।

उनी भन्छन्, “कंगनाको भाषण सुन्दा उनी अनुभवी राजनीतिज्ञजस्तै देखिन खोजिरहेकी छन् । अर्कोतर्फ, विक्रमादित्यको शैली पनि निकै अनुभवी जस्तै छ। उनीहरूबीच तिखो शब्दको आदानप्रदान भइरहेको छ । यद्यपि, पूरै हिमाञ्चलमा साक्षरताको स्तर राम्रो छ, जनचेतना कतै कमी देखिँदैन, यस्तो अवस्थामा मतदाताको मत प्रभावित हुने सम्भावना निकै कम छ ।”

बक्सअफिस र विवादकी ‘रानी’ कंगना, यस्तो छ सफलता र विवादको यात्रा

विरासतको राजनीति

विक्रमादित्यले यस पटकको लोकसभा चुनाव जनताका मुद्दाका आधारमा लड्ने बताएका छन् । उनले कंगनालाई गत वर्ष हिमाञ्चल प्रदेशमा प्राकृतिक प्रकोप हुँदा कहाँ थिइन् भन्ने प्रश्न सोधिरहेका छन् ।

मोदी सरकारले त्यो अवधिमा हिमाञ्चललाई पर्याप्त सहयोग नगरेको र त्यसमाथि राज्यको विकासको लागि कोष पनि कटौती गरेको विक्रमादित्यको आरोप छ।

कंगना रनौतले कांग्रेसको प्रदेश सरकारले घोटाला गरेको र चुनावअघि गरेका वाचाबाट पछि हटेको आरोप लगाएकी छिन् ।

मन्डीका भाजपा सांसद रामस्वरूप शर्माको मृत्युपछि यस सिटमा सन् २०२१ मा उपचुनाव भएको थियो, जसमा विक्रमादित्यकी आमा प्रतिभाले करिब १० हजार मतान्तरले जितेकी थिइन् ।

त्यसबेला कांग्रेसले स्वर्गीय नेता वीरभद्र सिंहको कार्यकालमा गरेका कामको उल्लेख गर्दै श्रद्धाञ्जलीस्वरूप भोट मागेको थियो । यो अपिलको प्रभाव किन्नौर, लाहौल-स्पीति, आनी र रामपुर क्षेत्रमा देखिएको थियो । यीमध्ये धेरै क्षेत्रहरू वीरभद्र परिवारका पुर्खाले शासन गरेको पूर्व रामपुर बुशहर राज्यको हिस्सा थिए ।

हेमन्त भन्छन्, “यद्यपि त्यो कोभिड संकटपछि तुरून्तै भएको चुनाव थियो । म विश्वास गर्छु कि तत्कालीन भाजपा सरकारप्रतिको आक्रोशले कांग्रेसको भोट बढेको थियो । यद्यपि, मन्डी लोकसभा सिटमा अझै ठूलो वर्ग छ । वीरभद्र परिवार शाही मनोवृत्तिका व्यक्ति हुन् ।”

यही कारणले गर्दा कांग्रेसले वीरभद्र सिंहको परिवारबाट उम्मेदवार बनाएर जित्ने सम्भावना बढी देखेको छ ।

कंगनाको आक्रामक अभियान

कंगना लामो समयदेखि भाजपाको विचारधाराको नजिक देखिँदै आएकी थिइन् । सामाजिक सञ्जालदेखि मिडिया प्लेटफर्मसम्म उनी भाजपाको पक्षमा र विपक्षी दलमाथि हमला गरिरहेकी छिन् ।

उनको चुनावी कार्यक्रममा पनि यस्तै शैली देखिन्छ । उनले प्रदेशको कांग्रेस सरकार र केन्द्रमा यसअघिका कांग्रेस सरकारको नीतिमाथि प्रश्न उठाइरहेकी छन् ।

विक्रमादित्यले उनलाई निशाना बनाएपछि कंगनाले आफू हिमाञ्चलकी छोरी, साधारण परिवारकी र एक्लै मुम्बई गएर सफलता हासिल गरेको जवाफ दिएकी छन् ।

उनले भनेकी छन्, “मलाई डराउने कसैको पुर्खाको जिम्मेवारी होइन ।”

उनले राहुल गान्धीलाई ‘पप्पु’ र विक्रमादित्यलाई ‘छोटा पप्पु’ भनेकी छन् ।

वीरभद्रको मृत्युपछि विक्रमादित्यको प्रतिकात्मक राज्याभिषेक गर्ने परम्परा चलेको हुनाले उनका केही प्रशंसकले उनलाई ‘राजा’ भनेर सम्बोधन गर्छन् । यसैलाई लिएर कंगनाले उनलाई ‘राजाको छोरा’ पनि भनेकी थिइन् ।

कंगना रनौतको उम्मेदवारी र आपत्तिजनक यौनिक प्रतिक्रियामाथिको बहस

विक्रमादित्यको प्रतिष्ठामा कतिको प्रभाव ?

विक्रमादित्यका पिता वीरभद्र सिंह कांग्रेसका वरिष्ठ नेता थिए । उनी ६ पटक हिमाञ्चल प्रदेशका मुख्यमन्त्री र तीनपटक मन्डी लोकसभा सिटबाट सांसद निर्वाचित भएका थिए।

उनकी श्रीमती प्रतिभा सिंह पनि यहाँबाट तीनपटक विजयी भएकी छन् । अहिले सिमलाका विधायक र राज्य सरकारमा सार्वजनिक निर्माणमन्त्री रहेका उनका छोरा विक्रमादित्यलाई पार्टीले मौका दिएको छ ।

तर, आफूलाई कांग्रेसप्रति बफादार बताउने विक्रमादित्यमाथि पार्टीलाई अन्तर्घात गरेको आरोप छ । राज्यसभा चुनावमा कांग्रेसका ६ जना विधायकले क्रस भोट गरेपछि कांग्रेस सरकार खतरामा परेको थियो ।

एकातिर कांग्रेस उच्च कमाण्ड विद्रोही विधायकलाई शान्त गराउनमा व्यस्त थियो भने अर्कोतर्फ विक्रमादित्यले सरकारमा आफ्नो अपमान भएको भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । पछि उनले राजीनामा फिर्ता लिएका थिए।

उनकी आमा तथा कांग्रेस प्रदेश अध्यक्ष प्रतिभा सिंहले पनि मुख्यमन्त्री सुखविन्दर सिंह सखुको कार्यशैलीमा प्रश्न उठाउँदै आएकी छन् । उनले जनताको काम नभएकाले भोट माग्न सक्ने अवस्था नरहेको बताएकी थिइन ।

पछि प्रतिभा सिंहले पनि आफ्नो दृष्टिकोण परिवर्तन गरिन् । यसलाई सामाजिक सञ्जालमा उनको यू-टर्न भनिएको थियो र निकै चर्चा पनि भएको थियो ।

यो घटनाले विक्रमादित्यको छविलाई असर गरेको छ ? हेमन्त भन्छन्, ‘कांग्रेसको मुद्दा नै छैन । जहाँ कार्यकर्ता कुनै कुराबाट प्रभावित हुन्छन् भन्ने । त्यसैले यसले खासै प्रभाव पार्दैन। जहाँ भाजपामा त्यस्ता कुराको प्रभाव हुन्छ।’

कसको प्रभाव ज्यादा ?

सन् २०१४ र २०१९ को लोकसभा चुनावमा मन्डी सिट भाजपाले जितेको थियो । सन् २०१४ को चुनावमा भाजपाले पण्डित रामस्वरूप शर्मालाई कांग्रेसकी प्रतिभा सिंह विरूद्ध उम्मेदवार बनाएको थियो।

शर्मा भाजपा संगठनमा ठूलो नाम हुन्, तर, आम जनतामा उनको खास नाम थिएन । तर, पनि उनी प्रतिभालाई हराउन सफल भए।

त्यसपछि सन् २०१९ को चुनावमा वीरभद्र सिंहले आफ्नो परिवारका कुनै सदस्यले चुनाव नउठाउने घोषणा गरेका थिए । यस्तो अवस्थामा पूर्व केन्द्रीय मन्त्री पण्डित सुखरामका नाति आश्रय शर्मा कांग्रेसबाट चुनाव लडे र भाजपाका रामस्वरूप शर्मासँग ठूलो अन्तरले पराजित भए ।

यसपटकको अवस्थाबारे केही भन्न हतार हुन्छ । तर, वरिष्ठ पत्रकार विकास शर्मा भन्छन्, ‘यदि कांग्रेसले कंगना रनौतको अगाडि प्रतिभा सिंहलाई उम्मेदवार बनाएको भए कुरा अर्कै हुन्थ्यो । तर, विक्रमादित्यका कारण परिस्थिति बदलिएको छ। विक्रमादित्य सिंह युवा छन्, राज्य सरकारमा मन्त्री छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा हो उनी वीरभद्र सिंहका छोरा हुन्।’

कंगनाका लागि यी सबै कुरासँग लड्न सजिलो छैन। कंगना सक्रिय राजनीतिमा नयाँ छिन्, जबकि विक्रमादित्यलाई आफ्नो अनुभवसँगै वीरभद्रको परिवारबापत पुग्ने फाइदा पनि छ। उनलाई थाहा छ कि हिमाञ्चलका मानिसहरू केसँग जोडिएका छन्।

तर, विक्रमादित्यका लागि पनि बाटो सहज छैन । वरिष्ठ पत्रकार हेमन्त मन्डी संसदीय क्षेत्रमा कांग्रेस सांगठनिक रूपमा कमजोर भएको बताउँछन् । उनी भन्छन्, ‘मन्डी लोकसभा क्षेत्रको किन्नौरबाहेक अरू कतै कांग्रेस संगठन सक्रिय देखिँदैन। सरकारी तहमा पनि मन्डी जिल्लामा खास केही भएको छैन। यहाँबाट मन्त्री नै छैनन् किनभने यो संसदीय क्षेत्रमा पर्ने जिल्लाका सबै नौ सिट भाजपासँग छन्।’

अर्को तर्फ कंगनालाई टिकट दिएपछि भाजपाका केही व्यक्ति रिसाएका छन् । तर, अहिलेसम्मको अवस्था हेर्दा ‘बलिउड क्वीन’ र ‘राजकुमार’को प्रतिस्पर्धा भने रोचक हुनेछ ।

(बीबीसी हिन्दीबाट )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved