बक्सअफिस र विवादकी ‘रानी’ कंगना, यस्तो छ सफलता र विवादको यात्रा

कंगना हिन्दी फिल्म उद्योगको एउटा यस्तो नाम हो, जो सधैँ चर्चा र विवादमा रहन्छ; कहिले आफ्नो दमदार अभिनयका कारण त कहिले कमेन्ट र झगडाका कारण ।

नेपालभ्युज

बक्सअफिस र विवादकी ‘रानी’ कंगना, यस्तो छ सफलता र विवादको यात्रा

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत (Kangana Ranaut) हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार बन्ने भएकी छन् ।

आइतबार साँझ भाजपा (BJP) ले उम्मेदवारहरूको पाँचौँ सूची जारी गरेको थियो, जसमा कंगनालाई मण्डीबाट टिकट दिइएको कुरा उल्लेख छ । यसअघि नै कंगनाले भाजपाबाट चुनाव लड्ने अनुमान गरिएको थियो ।

कंगनाले टिकट पाउनु एकदिन अगाडि नै चुनाव लड्ने सङ्केत दिएकी थिइन् । हिमाचलको काँगडास्थित बङ्गलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्— आमाले चाहनुहुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु ।

टिकट पाएपछि कंगनाले एक्स (ट्वीट) गर्दै भनेकी छन्— मेरो प्यारो भारत र भारतीय जनता, मैले सधैँ मेरो भाजपालाई बिनाशर्त समर्थन गरेको छु । आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।

कंगना आफ्नो कमेन्टका कारण चर्चामा रहन्छिन् । उनी महाराष्ट्रमा तत्कालीन संयुक्त शिवसेना नेतृत्वको महाविकास अघाडी सरकार र मुख्यमन्त्री उद्धव ठाकरेको बारेमा विवादास्पद टिप्पणीका कारण चर्चामा आएकी थिइन् ।

रामायणका ‘राम’ र ग्याङ्गस्टार नायिका ‘कंगना’ मोदीको रोजाइमा, लोकसभा निर्वाचन लड्दै

उनको सोही टिप्पणीका कारण चुनावी राजनीतिमा मैदान खोज्दैछिन् भन्ने अनुमान गर्न थालिएको थियो । र, जब उनले दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूत मामिलामा तत्कालीन महाविकास अघाडी सरकारविरूद्ध आक्रामक अडान लिइन् र पछि ‘वाई प्लस’ सुरक्षा प्रदान गरिएको थियो । त्यहीबाट उनी चाँडै बीजेपीमा सामेल हुने अनुमान पनि सुरू भएको थियो ।

कंगना हिन्दी फिल्म उद्योगको एउटा यस्तो नाम हो, जो सधैँ चर्चा र विवादमा रहन्छ । कहिले आफ्नो दम्दार अभिनयका कारण त कहिले कमेन्ट र झगडाका कारण ।

कंगनाको फिल्म यात्रा

जब हिमाचल प्रदेशमा जन्मेकी कंगनाले अभिनय गर्ने योजना बनाइन्, तब उनले सबैभन्दा पहिले दिल्लीमा थिएटर निर्देशक अरविन्द गौरबाट अभिनयका गुणहरू सिकिन् र त्यसपछि मुम्बई लागिन् ।

मुम्बई आएपछि कंगनाको सङ्घर्ष सुरू भयो । तर, उनलाई अभिनेता तथा निर्माता आदित्य पञ्चोलीको समर्थन मिल्यो । उनीहरूको मित्रताको धेरै चर्चा भएको थियो । र, कंगना पञ्चोलीकी प्रेमिका भएको चर्चासमेत चल्यो ।

आफ्नो गन्तव्य खोज्ने क्रममा कंगनाले फिल्म निर्माता महेश भट्टलाई भेटिन्, जसले उनलाई अनुराग बासुद्वारा निर्देशित फिल्म ‘ग्याङ्गस्टार’मा मुख्य भूमिका दिए ।

सोही फिल्मको क्यारेक्टरले कंगनालाई एकाएक लाइमलाइटमा ल्यायो । जुन कंगनाको पहिलो हो । कंगनाले सो फिल्ममा यति राम्रो अभिनय गरेकी थिइन् कि उनले ताली मात्र पाइनन्, फिल्मफेयर ‘बेस्ट डेब्यू’ अवार्ड पनि जितिन् ।

त्यसपछि कंगनाले करियरलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । सन् २००७ मा कंगनाको फिल्म ‘वो लम्हे’ र ‘लाइफ ईन अ मेट्रो’ रिलिज भएपनि सन् २००८ मा आएको फिल्म ‘फेशन’ले कंगनालाई छुट्टै उचाइमा पुर्‍यायो ।

मधुर भण्डारकरको फिल्म फेसन उद्योगको कथा बताउने सो फिल्ममा अभिनेत्री प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् ।

यस फिल्ममा कंगनाको क्यारेक्टर सानो थियो । तर, त्यो सानो क्यारेक्टर यति बलियो भयो कि उनले सपोर्टिङ रोलका लागि नेशनल अवार्ड नै पाएकी थिइन् । उनको फिल्म ‘राज ३’ सोही वर्ष रिलिज भएको थियो ।

सन् २००८ मा कंगना फेरि आफ्नो सम्बन्धका कारण चर्चामा आइन् । जब राज ३ नायक अध्यायन सुमनसँग उनको सम्बन्धको खबरले हेडलाइन बन्न थाल्यो । तर, छोटो समयमै उनीहरूको सम्बन्ध टुट्यो ।

त्यतिबेलासम्म कंगनाले पनि बलिउडमा आफ्नो लागि राम्रो स्थान हासिल गरिसकेकी थिइन् ।

राष्ट्रिय पुरस्कार

खैर, यो पनि सत्य हो कि जब फिल्म उद्योगमा कुनै चरित्र वा सूत्र हिट हुन्छ, त्यसको लागि लाइन लाग्छ । कंगनाको साथमा पनि यस्तै भएको थियो । तर, भनिन्छ कि यदि भाग्यले साथ दियो भने गन्तव्यमा पुग्नको लागि आवश्यक पर्ने सबै कुरा तपाईंको अगाडि आउँछ ।

कंगना सन् २०११ मा रोमान्टिक कमेडी फिल्म ‘तनु वेड्स मनु’ मा देखिएकी थिइन् । यो फिल्मले कंगनाको करियरलाई नयाँ मोडमा पुर्‍यायो । यस फिल्मको सिक्वेल पनि निकै सफल भयो र उत्कृष्ट अभिनेत्रीको लागि राष्ट्रिय पुरस्कार जितिन् ।

यी दुवै फिल्म बक्स अफिसमा सफल भए र दर्शक र समीक्षकबाट प्रशंसा पनि पायो । आनन्द एल रायले निर्देशन गरेको यो फिल्ममा कंगनासँग आर माधवन मुख्य भूमिकामा थिए ।

सन् २०१४ मा रिलिज भएको फिल्म, जसले कंगनालाई बक्स अफिसको रानी बनायो । जब उनको फिल्म ‘क्वीन’ रिलिज भयो । उनले बलिउडमा आफ्नो सफलताको नयाँ अध्याय लेखिन् ।

विकास बहलले निर्देशन गरेको सो फिल्मले कंगनालाई नेशनल अवार्ड दिलाएको थियो ।

बलिउडका ठूला अनुहारसँगको झगडा

भाग्यले कंगनालाई साथ दियो । र, हरेक २/४ फ्लप फिल्मपछि करियरलाई उचाईमा पुर्‍याउने फिल्म हातमा आउन थाल्यो ।

फिल्म ‘मणिकर्णिका’मा कंगना झाँसीकी रानी बनेकी थिइन् । यो फिल्म पनि कंगनाले नै निर्देशन गरेकी थिइन्, जसमा उनले झाँसीकी रानीको भूमिका निभाएकी थिइन् ।

सुरूदेखि नै कंगनाले सफलताको सिँढी चढेपछि उनी विवादको रानी पनि बनिन् । कंगनाले आफ्नो करियरमा योगदान दिने व्यक्तिलाई पनि निशाना बनाएकी छिन् ।

‘ग्याङ्गस्टर’, ‘लाइफ ईन अ मेट्रो’को सफलतापछि कंगनाले आदित्य पञ्चोलीविरूद्ध प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । र, रक्सी पिएर आफूमाथि शारीरिक दुर्वयहार गरेको आरोप लगाएकी थिइन् ।

यद्यपि, सत्य यो हो कि कंगनाको सङ्घर्षमा पञ्चोलीले साथ दिएका थिए । यो घटनाले त्यतिबेला निकै चर्चा बटुलेको थियो ।

सन् २०१० मा रिलिज भएको फिल्म ‘काइट्स’ फ्लप हुँदा कंगनाको आफ्नो पहिलो फिल्मका ‘ग्याङ्गस्टार’का निर्देशक अनुराग बसुसँग भिडेको थियो ।

फ्लप भएपछि कंगनाले ‘काइट्स’मा आफ्नो भूमिका भनेजस्तो ठूलो नभएको आरोप लगाएकी थिइन् । साथै, कंगनाको अभिनेता ऋतिक रोशनसँगको झगडाको खबर विश्वलाई थाहा छ । उनले ऋतिकमाथि सम्बन्धका धेरै आरोप लगाएकी थिइन् ।

ऋतिकलाई लिएर कंगना यति आक्रामक भइन् कि मामिला प्रहरी चौकीसम्म पुगेको थियो । कंगना र ऋतिकको त्यो झगडामा कलाकार अध्यायन सुमन पनि ऋतिकको समर्थनमा निस्किएका थिए ।

ऋतिकपछि कंगनाले फिल्म निर्माता करण जोहरलाई पछ्याइन् । उनले करणलाई ‘फिल्म माफिया’को दर्जा दिएकी थिइन् । उनले करणलाई नातावादको आरोप लगाइन् र दिनहुँ युद्धको मैदानमा तानिन् ।

तर, करण विवादबाट टाढै रहे । कंगनाले करणसँग फिल्म ‘उंगली’मा पनि काम गरेकी छिन्, जुन फ्लप भएको थियो ।

‘तनु वेड्स मनु’ जस्ता फिल्मका निर्देशक आनन्द एल राईसँग पनि कंगनाको मनमुटाव चल्यो, जसले कंगनाको करियरलाई नयाँ मोडमा पुर्‍यायो र आनन्दले कंगनासँग कहिल्यै काम नगर्ने घोषणा नै गरे ।

कंगना फिल्म ‘सिमरन’ रिलिज हुनुअघि नै चर्चामा आएकी थिइन् । फिल्मको मूल लेखक अपूर्व असरानी थिए तर पोस्टरमा कंगनाको नाम लेखिएको थियो ।

सन् २०१८ मा ‘मी टु’ आन्दोलन सुरू हुँदा पनि कंगनाले उद्योगलाई निशाना बनाएकी थिइन् । उनले आफ्नो फिल्म ‘क्वीन’का निर्देशक विकास बहललाई दोष दिँदै भनेकी थिइन्— विकासले हामीलाई अनौठो ढङ्गले अँगालो हाल्ने गर्थे र तिम्रो कपालको गन्ध निकै राम्रो छ भन्थे ।

फिल्म ‘मणिकर्णिका’को सुटिङका क्रममा विवाद यति धेरै भयो कि फिल्ममा महत्त्वपूर्ण भूमिका निभाएका सोनु सुदले फिल्म नै छाडे । फिल्मका निर्देशक कृषले पनि फिल्म बिचमै छाड्नुपरेको थियो । पछि यो फिल्म कंगनाले नै निर्देशन गरिन् ।

कंगनालाई आफ्नो पहिलो फिल्मदेखि नै क्यामेरामा कसरी देखिने भन्ने राम्रोसँग थाहा थियो। तिनीहरूले कसरी हेडलाइनहरू पाउनेछन् भन्ने ।

विवादास्पद शब्द र भाजपाको समर्थन

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाको रवैया झनै कडा भयो । उनले सिङ्गो फिल्म उद्योगलाई चुनौती दिइन्, उनी सबैको सत्रुसमान भइन् ।

त्यसबीचमा नै कंगनाले फेरि एकपटक नातावाद र फिल्म माफियाको मुद्दा उठाएकी थिइन् । करण होस् वा सलमान खान, शाहरूख खान र आमिर खान सबैलाई निशाना बनाइन् उनले ।

यति मात्र होइन, महेश भट्टसँग उनको झगडा भयो । जसले कंगनालाई फिल्म क्षेत्रमा पाइला राख्न पहिलो मौका दिएका थिए र उनलाई ‘ग्याङ्गस्टार’, ‘वो लम्हे’ र ‘राज ३’जस्ता सफल फिल्महरूको हिस्सा बनाए ।

सुशान्तको मृत्यु रहस्यमा ड्रग्सको कुरा आएपछि कंगनाले बलिउडमा ९९ प्रतिशत मानिस ड्रग्स सेवन गर्ने गरेको खुलासा गरेकी थिइन् ।

पछिल्लो समय कंगना फिल्म क्षेत्रका हरेक मुद्दामा अगाडि मात्रै आउँदिनन्, सामाजिक सञ्जालमा देशको समस्यामा पनि प्रतिक्रिया दिने गर्छिन् । कंगनाका यी भनाइहरू मोदी सरकारको पूर्ण समर्थनमा देखिन्छन्।

कंगनाले कयौंपटक भाषाको सीमा तोडेको देखिन्छ । सुशान्तको मामलामा पनि कंगनाले चलचित्र क्षेत्रकालाई मात्र नभएर महाराष्ट्र सरकारलाई पनि निशाना बनाइन्, जुन कांग्रेस, एनसीपी र शिव सेनाको गठबन्धन सरकार थियो ।

कंगनाले मुम्बईलाई ‘पाक अधिकृत कश्मीर’ पनि भनेकी थिइन्, जसका कारण राजनीति विरोध पनि तीव्र भएको थियो । भाजपा र शिवसेना आमनेसामने भएका थिए ।

त्यसबेला बीजेपी खुलेर कंगनाको समर्थनमा आयो र कंगनालाई ‘वाई प्लस सेक्युरिटी’ पनि दिइयो, त्यसपछि धेरैले उनी छिट्टै भाजपामा सामेल हुने अनुमान गर्न थालेका थिए ।

नरेन्द्र मोदी सरकारका राज्यमन्त्री र राज्यसभा सांसद, रिपब्लिकन पार्टी अफ इन्डियाका अध्यक्ष रामदास आठवलेले यसअघि नै कंगनालाई स्वागत गर्ने बताएका थिए ।

(बीबीसी हिन्दीको सहयोगमा )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved