काठमाडौं । बलिउडकी प्रसिद्ध अभिनेत्री कंगना रनौतलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आसन्न १८औं लोकसभा निर्वाचनको टिकट दियो, उनको आफ्नै गृहप्रदेश हिमाञ्चलको मन्डी निर्वाचन क्षेत्रबाट।
रनौत (Kangana ranaut) केही वर्षयता भाजपा समर्थक त थिइन् । तर, टिकटको दाबेदार भने थिइनन् । कंगना भाजपा (BJP) को ‘र्याङ्क एण्ड फाइल’ मा उच्च स्थान भएकी नेतृ हैनन् । न उनी पार्टी राजनीतिमा धेरै सक्रिय नै थिइन् ।
उनको सार्वजनिक परिचयको आधार सिनेमा र अभिनय नै हो । बलिउड सिनेमा उद्योगभित्रको पक्षपात, परिवारवाद र जातिवादबारे उनी यदाकदा कठोर टिप्पणी गर्छिन् । त्यस्ता टिप्पणीले उनलाई थप चर्चामा ल्याउँथ्यो । सिनेमा र अभिनयका माध्यमबाट बनेको उनको लोकप्रियता छँदै थियो। उनी भारतमा मात्र हैन, नेपाली दर्शकमाझ पनि लोकप्रिय छन् ।
भारतीय राजनीतिमा नाम चलेका सिने कलाकारले राजनीतिक दलको चुनावी टिकट पाउनु कुनै नयाँ कुरा हैन । कंगना त्यस्ती पहिलो अभिनेत्री हैनन् ।
सन् १९८४ मा लोकप्रिय अभिनेता अमिताभ बच्चन इलाहावाद निर्वाचन क्षेत्रबाट लोकसभा निर्वाचन लडेका थिए, भारतीय राष्ट्रिय कांग्रेसको टिकटबाट । उनले उत्तरप्रदेशका तत्कालीन मुख्यमन्त्री हेमबत्ती नन्दन बहुगणालाई हराए । भलै कि अमिताभ धेरै लामो समय राजनीतिमा टिकेनन् ।
उनकी पत्नी तथा चर्चित अभिनेत्री जया बच्चन अहिले पनि समाजवादी पार्टीको तर्फबाट राज्यसभा सदस्य छन् । राज्यसभा भारतको उपल्लो सभा हो । त्यहाँ उपल्लो सभाको सदस्य मन्त्री मात्र हैन, प्रधानमन्त्री नै हुन सक्दछ ।
भारत धेरै ठूलो जनसंख्या आकार, मतदाता र ‘मास पोलिटिक्स’ हुने देश हो । लोकसभा चुनाव जित्न त्यहाँ अधिकांश निर्वाचन क्षेत्रमा लाखौं भोट चाहिन्छ । तसर्थ, समाजमा चिनिएका लोकप्रिय व्यक्तित्वको खोजी सबै दलले गरिरहेका हुन्छन् ।
अर्का लोकप्रिय अभिनेता धर्मेन्द्रको परिवार नै लामो समयदेखि भाजपा समर्थक हो । धर्मेन्द्र आफैँ राजस्थानको विकानेर निर्वाचन क्षेत्रबाट चुनाव लड्थे । उनकी पत्नी तथा आफ्नो समयकी सर्वाधिक मन पराइएकी अभिनेत्री हेमा मालिनीले मथुरा निर्वाचन क्षेत्रबाट लोकसभा निर्वाचन जित्दै आइरहेकी छन् । ७५ वर्षको उमेरमा उनी यसपटक पनि उम्मेदवार छन् ।
धमेन्द्रका जेठा छोरा सन्नी देवल सन् २०१९ मा लोकसभा सदस्य निर्वाचित भएका थिए । भारतीय राजनीतिमा यस्ता दर्जनौं उदाहरण छन्, चाहे राजनीतिक दल जुनसुकै हुन् । तमिल सिनेमाकी अभिनेत्री जयललिताले त लोकप्रिय मुख्यमन्त्री भएर भिन्नै इतिहास बनाइन् ।
तसर्थ, कंगना रनौतले भाजपाको टिकट पाउनु कुनै अनौठो कुरा थिएन । उनी अनपेक्षित सम्मान र अनुमोदन पाउँदा मख्ख परिन् । टिकट पाएको जानकारीपछि उनले भनिन्– मेरो प्यारो भारत र भाजपाले मलाई अपनाएको छ । भाजपालाई सर्वथा मेरो नि:शर्त समर्थन थियो । आज त्यसको नेतृत्वले मलाई मेरो जन्म प्रदेशको हिमाञ्चलको मन्डी निर्वाचन क्षेत्रबाट लोकसभा उम्मेदवार घोषणा गरेको छ । म पार्टी उच्च कमाण्डको निर्णय स्वीकार गर्दछु । आधिकारिकरूपमा पार्टीमा सामेल हुन पाउँदा म उत्साहित र सम्मानित महसुस गर्दछु । म एक योग्य कार्यकर्ता र जनसेवक बन्नका लागि तत्पर छु ।
यी शब्दले कंगनाको खुसी र उत्साहलाई सजिलै व्यक्त गर्दछन्। सिने क्षेत्रमा लामो र भुइँतहबाट निक्कै कष्टसाध्य संघर्ष गरेकी एक युवती राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गर्दा खुसी हुनु पनि स्वाभाविक नै हो ।
यहाँसम्म कुरा ठीकै थियो । प्रश्न त्यहाँबाट उठ्यो, जब त्यसपछि उनले सिनेमाका लागि दिएका अर्धनग्न तस्वीर सामाजिक सञ्जालमा ट्रोल र ट्रेन्डिङ हुन थाले । यसो गर्नेमा कुनै अपरिचित र राजनीतिक प्रोपागन्डिष्ट युवा वा पुरुष मात्र थिएनन् ।
यही क्रममा सामेल हुन पुगिन् विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेत । श्रीनेतले ट्वीटरमा कंगनाको एक अर्धनग्न फोटो पोष्ट गर्दै लेखिन्- मन्डीमा के भइरहेको छ ?
खासमा यो एक महिलाले अर्को महिलामाथि गरेको निकै अभद्र, अश्लील र द्विअर्थी प्रतिक्रिया थियो । हिमाञ्चल प्रदेशमा ‘मन्डी’ शब्दको अर्थ भिन्नै हुन्छ । मन्डी-माण्डव ऋषिको साधन क्षेत्र, माण्डवनगर ।
हिन्दीमा मन्डीको अर्थ हुन्छ- बजार अर्थात् खरिद-बिक्री हुने ठाउँ । कांग्रेस प्रवक्ता श्रीनेतले मन्डी शब्दको यहाँ दोस्रो अर्थ प्रयोग गरेकी थिइन् । जसको अर्थ हुन्थ्यो– कंगानाको अर्धनग्न तस्वीरलाई भाजपा हिमाञ्चलको राजनीतिक बजारमा बेच्दैछ ।
अर्थात् श्रीनेत जो आफैँ महिला हुन्, उनले आवश्यक र जबरजस्त ‘महिला यौनिकता’ लाई राजनीतिक विवाद र बजारमा तानिन् । कांग्रेस प्रवक्ता श्रीनेत कुनै सामान्य अनपढ महिला थिइनन् । त्यसो हुन्थ्यो भने यस्तो टिप्पणी क्षम्य पनि हुन सक्थ्यो । तर, सुप्रिया एक शिक्षित महिला हुन् र पेशाले पूर्वपत्रकार पनि । सम्भवत: यस्तो अभद्र वाक्य प्रयोग गर्नुअघि उनले धेरैपटक सोच्न पर्दथ्यो ।
सुप्रियालाई कंगनाको प्रतिउत्तर अझ गजबको छ । कंगनाले भनेकी छन्– प्रिय सुप्रिया जी, एक कलाकार करिअरको पछिल्लो २० वर्षमा मैले सबै प्रकारको महिलाको भूमिका गरेकी छु । क्वीनमा एक भोलीभाली केटीदेखि धाडकमा एक उत्तेजक जासुससम्म, मनिकर्निकामा देवीदेखि चन्द्रमुखीमा राक्षससम्म, रज्जोमा यौन व्यवसायीदेखि थलाइवीमा एक क्रान्तिकारी नेतासम्म । हामीले हाम्रा छोरीलाई पूर्वाग्रहको बन्धनबाट मुक्त गर्नै पर्दछ । हामी तिनका शरीरको अंगप्रतिको जिज्ञासाभन्दा माथि उठ्नै पर्दछ ।
उनी अझ महत्त्वपूर्ण वाक्य थप्छिन्– हामीले यौनकर्मीलाई कुनै प्रकारको दुर्व्यवहार तथा गालीको रूपमा प्रयोग गर्नबाट जोगिनै पर्दछ । प्रत्येक महिला आफ्नो मर्यादाका लागि योग्य छन् ।
कंगनाका यी शब्दबाट प्रष्ट हुन्छ कि उनले महिला मर्यादा र यौनिकतालाई सुप्रिया श्रीनेतले भन्दा धेरै माथि उठेर परख गरेकी छन् । उनी अगाडि भन्छिन्– कुनै युवाले टिकट पायो भने उसको विचारधारामाथि आक्रमण हुन्छ, कुनै युवतीले टिकट पाइन् भने उनको यौनिकतामाथि आक्रमण हुन्छ, कस्तो अनौठो ! कांग्रेसीहरू आज एउटा सानो शहरको नामलाई पनि यौन शोषण गरिरहेका छन् । मन्डी आज जताततै यौन सन्दर्भमा प्रयोग भइरहेको छ, केवल एक युवती उम्मेदवार भएको कारणले, योभन्दा लाजमर्दो के हुन्छ ?
कंगनाले उठाएको यो प्रश्न सर्वाधिक महत्त्वपूर्ण हो कि पुरुषहरू उम्मेदवार हुँदा किन यौनिकताको प्रश्न उठ्दैन, विचारधारको कुरा हुन्छ, युवती उम्मेदवार हुँदा किन यौनिकतामाथि प्रश्न हुन्छ, विचारधारको कुरा हुँदैन ?
हिमाञ्चलका बासिन्दाका लागि मन्डी शब्दको अर्थ हिन्दीको बजार हैन । पवित्र तीर्थस्थल हो । माण्डव ऋषिको तपस्या तथा ध्यान स्थल हो ।
भारतका कांग्रेसीहरू नेपालका जस्तै आफूलाई ‘लेफ्ट–लिबरल’ वा ‘सेन्टर–टू–लेफ्ट’ पार्टी ठान्दछन् । उनीहरूको नजरमा भाजपा दक्षिणपन्थी वा कन्जर्भेटिभ हो । उनीहरू प्रगतिशील हुन् । ती कस्ता प्रगतिशील हुन्, जो राजनीतिमा यौनिकतालाई जोड्दछन् । त्यो पनि निकै भद्धा र असह्य हुनेगरी । एक सिने अभिनेत्रीको फिल्मी दृश्यलाई राजनीतिको मैदानमा ल्याएर पछार्दा खुसी हुन्छन् ।
चर्को विरोधपछि कांग्रेस प्रवक्ता श्रीनेतले आफ्नो ट्वीट डिलिट त गरिन्, यसबाट उत्पन्न भएको विवाद त्यति सजिलै डिलिट हुने खालको हैन । लेफ्ट-लिबरल वा प्रोग्रेसिभ हुँ भन्नेहरूबाट हुने यसप्रकारको टिप्पणी पक्कै आपत्तिजनक र अशोभनीय हो ।
कंगनालाई भाजपा मन पर्नुका आफ्नै कारण होलान् । हुन सक्दछ- उनी ‘हिन्दुत्व’ मा विश्वास गर्दछिन् । हुन सक्दछ- उनलाई भाजपाको ‘सांस्कृतिक-राष्ट्रवाद’ को सिद्धान्त मन पर्दछ । हुन सक्दछ- उनी सिद्धान्त निरपेक्ष छन्, लोकतन्त्रमा राजनीतिक दल छनोट गर्न पाउने आफ्नो नागरिक अधिकारको उपयोग गरिरहेकी छन् ।
कारण जे होस्, कुनै युवा अभिनेत्री उम्मेदवार बन्दा यौनिकतामाथि प्रश्न किन ? यसले धेरैको मन रन्थन्याएको छ । के महिलाको शरीर एक ‘सेक्स-सिम्बोल’ भन्दा बढी केही हैन ? एकाइसौं शताब्दीका शिक्षितहरूको सोच कहाँ छ अझै ? महिलासँग कोमल र कामुक अंग भएको शरीर मात्र हुन्छ, टाउको, टाउकोभित्र मस्तिष्क र मस्तिष्कभित्र सोच हुँदैन ?
यो भारतको मात्र हैन, सिंगो विश्वभर र तुलनात्मकरूपमा दक्षिण एशियामा अझ बढी देखिँदै आएको एक दुर्भाग्यपूर्ण प्रवृति हो ।
सिनेमालाई कलाको एक आधुनिक विधाका रूपमा संसारले स्वीकार गरिसकेको छ । सिनेमामा काम गर्नु यौन नैतिकतासँग जोडिने सवाल हैन । सिनेकर्म आफैँमा एक प्रतिष्ठित काम हो । मान्छेको व्यक्तिगत यौन जीवन अबको संसारमा कसैका लागि त्यति धेरै जिज्ञासाको विषय रहनु हुँदैन, जति अझै बनाइने गरिन्छ । अझ यो सार्वजनिक निन्दा र आलोचनाको वषय त हुनै सक्दैन ।
त्यतिखेरसम्म कसैको पनि यौन जीवन सार्वजनिक चर्चाको विषय बन्नु हुँदैन, जबसम्म त्यो कुनै न कुनै प्रकारले हिंसा, उत्पीडन वा अपराधको तहमा हुँदैन । सिनेमामा काम गर्ने महिलाको यौनिकता र यौन नैतिकतामाथि प्रश्न त्यति सजिलै उम्किन मिल्ने विषय हैन ।
भारतीय राजनीतिको बजारमा गर्माइरहेको यो विवादबारे पत्रकार रजत शर्मा लेख्छन्– कंगनामाथिको टिप्पणी सुप्रियाका लागि निकै महँगो पर्नेछ । सुप्रिया एक व्यक्ति मात्र हैनन्, कांग्रेसको सामाजिक मिडिया सेलकी प्रमुख पनि हुन् । प्रियंका गान्धीले कुनै बेला ‘लड्की हुँ, लड् सकती हुँ’ नारा दिएकी थिइन् । तर, कंगनामाथिको अभद्र टिप्पणीबारे उनी मौन छिन् । प्रेमको दोकान खोल्न हिँडेका राहुल गान्धी एक महिलामाथिको अभद्र टिप्पणीमा चुप छन ।
भाजपा र कंगनाको विरोध गर्न सकिने अरु धेरै ठाउँ छन् । कंगना आफैँमा पनि विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचनामा पर्ने गर्छिन् । तर, यौनिकतासँग जोडेर गरिने राजनीति बिल्कुलै उचित हैन ।
Facebook Comment
Comment