रिफ्रेस हुन आईपीएलबाट विश्राम लिए म्याक्सवेलले

नेपालभ्युज

रिफ्रेस हुन आईपीएलबाट विश्राम लिए म्याक्सवेलले

काठमाडौं । अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले शारीरिक र मानसिक रूपमा आफूलाई ताजा बनाउन आईपीएल(IPL)बाट विश्राम लिएका छन् ।

म्याक्सवेल आईपीएलको जारी सिजन रनका लागि संघर्ष गरिरहेका छन्। उनले ६ इनिङ्समा ५.३३ को औसतमा ३२ रन मात्र बनाएका छन् ।

क्रिकइन्फोका अनुसार म्याक्सवेलले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरु(RCB)को व्यवस्थापन पक्षलाई सनराइजर्स हैदराबादविरुद्धको खेलका लागि आफ्नो स्थानमा अरू कसैलाई छान्न आग्रह गरेका थिए ।

जुन खेलमा बेंगलुरु २५ रनले पराजित भएको थियो ।

‘मेरो लागि व्यक्तिगत रूपमा यो धेरै सजिलो निर्णय थियो,’ म्याक्सवेलले आरसीबीको सात खेलमा छैटौं हारपछि भने, ‘मैले यस खेलअघि पछि कप्तान फाफ डु प्लेसिस र प्रशिक्षकहरूलाई आफ्नो स्थानमा अरू कसैलाई खेलाउन भनेँ । मैले विगतमा पनि यस्तो परिस्थितिको सामना गरेको थिएँ, जहाँ तपाईँ खेलिरहनुहुन्छ र आफूलाई गहिरो खाडलमा पाउनुहुन्छ । मलाई मानसिक र शारीरिक विश्राम चाहिएको महसुस भइरहेको छ ताकि म आफ्नो शरीरलाई दुरुस्त बनाउन सकूँ ।’

आईपीएलमा आउनुअघि म्याक्सवेल सानदार फर्ममा थिए । उनले नोभेम्बरयता खेलेका १७ खेलमा ४२.४६ को औसत तथा १८५.८५ को स्ट्राइक रेटमा ५५२ रन बनाएका थिए ।

त्यस अवधिमा उनले दुईवटा टी-२० शतक पनि प्रहार गरे । तर, आइपीएलमा उनको फर्म एकाएक धराशायी बन्यो ।

म्याक्सवेलले सन् २०२० को आईपीएलमा खराब प्रदर्शन गरिरहेका छन् । त्यसबेला किंग्स इलेभेन पञ्जाबबाट खेलेका उनले ११ इनिङमा १०८ रन मात्रै हानेका थिए, त्यस सिजन उनको स्ट्राइक रेट १०१.८८ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved