बिच्कियो एकीकृत समाजवादी, गठबन्धन ‘अशान्त’

पाँचदलीय सत्ता गठबन्धन ‘अशान्त’ बनेको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) बिच्किएपछि गठबन्धन अशान्त बनेको हो ।

नेपालभ्युज

बिच्कियो एकीकृत समाजवादी, गठबन्धन ‘अशान्त’

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धन ‘अशान्त’ बनेको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) बिच्किएपछि गठबन्धन अशान्त बनेको हो ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयलाई लिएर एकीकृत समाजवादी बिच्किएको हो । प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने पूर्वसहमति भएपनि त्यसलाई तोडेर सत्ता गठबन्धनका ठूलो दलका नेताले नागरिक उन्मुक्त पार्टी (नाउपा) लाई दिने बताएपछि एकीकृत समाजवादी बिच्किएको हो, जुन उसले व्यवहारमा पनि देखाइसकेको छ ।

आइतबार साँझ ५ बजेसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय थियो ।  त्यस क्रममा उसले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नाउपाको रेशम चौधरी पक्षको वैकल्पिक गठबन्धनलाई समर्थन गर्‍यो । त्यस गठबन्धनबाट नाउपा सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

केन्द्रीय सत्ता गठबन्धनमा सहमति भएबमोजिम भने नाउपाकै रञ्जिता श्रेष्ठ पक्षका सांसद कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

त्यसो त यसअघि सत्ता गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने निर्णय बनेको थियो । तर, एक्कासी आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिन प्रस्ताव गरेपछि एकीकृत समाजवादी बिच्किएको हो ।

पूर्वसहमतिअनुरूप आफूहरूले नेतृत्व पाउनुपर्ने भएपनि ‘बाईपास’ गरिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । उनले गठबन्धनको ठूलो दलका नेताको प्रवृत्ति नफेरिए अरु प्रदेशहरूमा पनि खतराको घण्टी बज्नसक्ने चेतावनी दिएका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल (जो, माओवादी केन्द्रका नेता हुन्) ले विश्वासको मत लिने बेला सुदूरपश्चिम एकीकृत समाजवादीलाई दिने समझदारी गठबन्धनमा बनेको थियो । तर, अहिले आएर सहमति कायम नगर्नु दुखद् भएको उल्लेख गर्दै एकीकृत समाजवादी, सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले भने, “पार्टीलाई हेप्ने/होच्याउने प्रवृत्तिका विरुद्ध हामीले वैकल्पिक गठबन्धनलाई समर्थन गरेका हौँ ।”

गठबन्धनमा प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एकीकृत समाजवादीप्रति आक्रोश पोखेका छन् । उनले एकीकृत समाजवादीले ‘अवसरवादी चरित्र‘ देखाएको टिप्पणी गरेका छन् ।

तर, नेता सोडारीले भने त्यसको प्रतिवाद गरेका छन् । “हाम्रो पार्टीलाई होच्याउने काम भएपछि हामीले त्यसका विरुद्धमा विद्रोह गरेका हौँ । हामी अवसरवादी होइनौँ,” उनले नेपालभ्युजसँग भने, “सहमति नमान्नु कसको गल्ती हो, त्यो आफैँले हेरे भइहाल्यो ।”

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले केन्द्रका नेताहरूले बोली फेरेकाले सुदूरपश्चिममा विद्रोहो गरेको बताएका छन् । यद्यपि उनीहरूले सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई ‘रोकिन’ भनेका छन् । तर, उनीहरूले हिजै वैकल्पिक गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरिसकेका छन् ।

दुईजनाको दाबी आएपछि प्रदेश प्रमुखले केही निर्णय लिइसकेका छैनन् । भौतिकरूपमा नै उपस्थित भएर सनाखत गरेर जता बहुमत पुग्छ, त्यतै मुख्यमन्त्री नियुक्त गर्ने तयारी प्रदेश प्रमुखले गरेका छन् । त्यस्तो अवस्थामा आफूहरूको समर्थन सच्याउन सक्ने एकीकृत समाजवादीका एक सांसदले बताए ।

सुदूरपश्चिम संसदीय दलका नेतालाई माधव र घनश्यामको फोन- गठबन्धन नछाड्नू, कांग्रेसतिर नलाग्नू

यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने धेरै आक्रोशित छैनन् । एमाले-माओवादीसहित एउटा गठबन्धनमा आइपुग्दा हौसिएका उनले अझै मिलेरै अगाडि बढ्नुपर्ने बताएका छन् ।

“पार्टीले कुनै औपचारिक निर्णय लिएको छैन । त्यहाँका सदस्यहरूलाई के-के लाग्यो, त्यसै त्यसै गरेका छन् । यसबारे निर्णय लिन्छौँ । तर, मिलेर नै जाने हो । अझै केही भएको छैन । बुद्धिमतापूर्ण ढङ्गले अगाडि बढ्ने हो,” उनले नेपालभ्युजसँग भने ।

सत्तारूढ दल माओवादी केन्द्रका नेताहरूले भने गठबन्धनभित्र केही नभएको बताउँछन् । सचिव दीनानाथ शर्माले भने, “गठबन्धनभित्र केही भएको छैन । एकीकृत समाजवादीका साथीहरूले चित्त दुखाउनुभएको छ । त्यो मिल्नसक्ने कुरा हो । अझै बितेको केही छैन, मिलेरै जान्छौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved