सुदूरपश्चिम : कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी पेश

नेपालभ्युज

सुदूरपश्चिम : कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा दाबी पेश गरेका हुन् । प्रदेश सभामा एमालेसँग १० र माओवादी केन्द्रसँग (सभामुखसहित) ११ सांसद छन् । त्यसबाहेक चौधरीको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग ७ सांसद छन् ।

यसअघि नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

लक्ष्मणकिशोर चौधरी नाउपाको रेशम चौधरी पक्षका नेता हुन् भने कैलाश चौधरी रञ्जिता श्रेष्ठ चौधरी पक्षका नेता हुन् ।

प्रदेश सभामा ४ सिट भएको नेकपा (एकीकृत समाजवादी) भने अनिर्णित छ । संसदीय दलका नेता दीर्घ बहादुर सोडारीले भने लक्ष्मणकिशोर चौधरीको पक्षमा हस्ताक्षर गरेका छन् । तर, अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले फोन गरेपछि उनले संसदीय दलको बैठक डाकेका छन्, जुन अहिले जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved