सुदूरपश्चिम संसदीय दलका नेतालाई माधव र घनश्यामको फोन- गठबन्धन नछाड्नू, कांग्रेसतिर नलाग्नू

नेपालभ्युज

सुदूरपश्चिम संसदीय दलका नेतालाई माधव र घनश्यामको फोन- गठबन्धन नछाड्नू, कांग्रेसतिर नलाग्नू

काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई फोन गरेका छन् ।

प्रदेश सरकार गठनको सन्दर्भमा केन्द्रीय गठबन्धनको निर्णयविपरीत संसदीय दल विभाजन हुन लागेपछि अध्यक्ष नेपाल र महासचिव भुसालले संसदीय दलका नेता सोडारीलाई फोन गरेर गठबन्धनको निर्णयविपरीत नजान निर्देशन दिएका हुन् ।

एकीकृत समाजवादीका सांसद प्रकाश रावलका अनुसार अध्यक्ष नेपाल र महासचिव भुसालले फोनमार्फत कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनतिर नलाग्न निर्देशन दिएका हुन् । “उहाँहरूले गठबन्धनमा भएको सहमति पालना गर्नु र कांग्रेसतिर नलाग्नु भन्ने सुझाव आएको दिनुभएको छ, उहाँहरूले संसदीय दलका नेतालाई फोन गर्नुभएको थियो,” उनले भने ।

त्यसो त सोडारी आफैँ मुख्यमन्त्रीको आकाङ्क्षी हुन् । केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादी गर्ने भन्ने सहमति जुटेको थियो । तर, अन्तिममा केन्द्रीय गठबन्धनभित्रै नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने समझदारी बन्यो ।

यसपछि मुख्यमन्त्री बन्ने सपना देखेका सोडारीले नाउपाको रेशम चौधरी पक्ष र नेपाली कांग्रेसलाई साथ दिन लागेका थिए । तर, अध्यक्ष नेपाल र महासचिव भुसालले फोन गरेपछि उनले संसदीय दलको बैठक राखेका छन्, जुन अहिले जारी छ ।

सुदूरपश्चिम : मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

बैठकस्थलबाट सांसद रावलले नेपालभ्युजसँग भने, “सम्भवत: गठबन्धनको पक्षमै उभिने निर्णय हुन्छ । केन्द्रीय निर्देशन त्यस्तै छ । त्योभन्दा पर जाने कुरा हुन्नहोला ।”

त्यहाँ नाउपाको रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीले ३० सांसदको साथ मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । जबकि केन्द्रीय गठबन्धनमा नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका नेता कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोरले त्यसविरुद्ध नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

अब त्यहाँ के हुन्छ भन्नेबारे यसै भन्न सकिने अवस्था छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved