६ वर्षको पर्खाइपछि मुख्यमन्त्री बन्दै यामलाल 

६ वर्षको पर्खाइपछि मुख्यमन्त्री बन्दै यामलाल 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका थिए । लगत्तै उनले प्रदेश प्रमुख तिलक परियारलाई राजीनामा बुझाए ।

कर्णालीको मुख्यमन्त्रीका लागि एमाले र माओवादी केन्द्रबीच भएको तीन दिनको रस्साकस्सीपछि अन्तत: एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि कर्णालीको मुख्यमन्त्री पद एमालेको भागमा परेको थियो । सोहीअनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई राजीनामा दिन निर्देशन दिएका थिए ।

तर, उनले राजीनामा नदिने बरु सदनको सामना गर्ने अडान लिएका थिए । तर, अन्तिममा उनले प्रदेश सभामा विश्वासको मत मागेनन् । सभालाई सम्बोधन गर्दै १५ महिना मुख्यमन्त्री पदमा रहँदा धेरै काम गरेको दाबी गर्दै राजीनामाको घोषणा गरे ।

“राजनीतिक परिस्थिति बदलिएका कारणले म विश्वासको मत लिने प्रस्ताव फिर्ता लिन चाहन्छु । मैले देश, जनता, प्रदेश सरकारका पक्षमा रचनात्माक भूमिका खेल्छु,” उनले भने ।

छ वर्षको प्रयासपछि मुख्यमन्त्री बन्दै कँडेल 

शर्माको राजीनामा घोषणासँगै एमालेका प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । २०७४ सालदेखि नै मुख्यमन्त्री दाबी गर्दै आएका कँडेल अब भने मुख्यमन्त्री बन्ने पक्का जस्तै भएको छ ।

२०७९ सालको निर्वाचनलगत्तै उनले मुख्यमन्त्री बन्ने कोसिस गरेका थिए । तर, २०७८ पुस १० गते बनेको एमाले-माओवादी गठबन्धनमा भागबन्डा हुँदा कर्णालीको मुख्यमन्त्री पद माओवादीले लिएपछि उनी सो पदमा पुग्न असफल भएका थिए ।

अघिल्ला कार्यकालमा एमालेको स्पष्ट बहुमतसहित २० सिट थियो । २०७४ र २०७९ मा दुई पटक प्रदेशको चुनाव जितेका उनी अब कर्णालीको मुख्यमन्त्री बन्नेछन् ।

२०७९ को निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको समीकरण भत्किएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला पनि उनी मुख्यमन्त्रीको दौडमा थिए । तर, दुई महिनामै उक्त गठबन्धन भत्किएको थियो ।

एमाले-माओवादीले कर्णालीबारे गरेको सहमतिले उनलाई रोकेको थियो । त्यसबेला एमालेले सभामुख लिएर पाँचवर्ष नै माओवादी केन्द्रलाई मुख्यमन्त्री दिएको थियो । तर, कर्णालीमा कँडेलले माओवादी केन्द्र शर्मासँग आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति गरेका थिए ।

यसबीचमा गत फागुन २१ गते माओवादी, एमालेसहितको गठबन्धनमा फर्किए पछिको भागबन्डाले कँडेलको सत्ता यात्राको ढोका खोलिएको हो ।

सत्ता गठबन्धनले गरेको भागबन्डाअनुसार अब कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ । त्यसकै लागि शर्माले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिइसकेका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् ।

प्रदेश सभामा कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved