दाइजोमा मोटरसाइकल नपाएको भन्दै ‘आरतीको हत्या’, आरोपित छुटेपछि आमा न्याय माग्दै नेताको दैलोमा (भिडिओसहित)

महिलाहरूलाई दाइजो नल्याएकै निहुँमा जलाइएका छन्, कुटिएका छन्, मारिएका छन् । आरती साह त्यही श्रृङ्खलाको सिकार बनिन् । माइती पक्षले २५ लाख खर्च गरेर बिहे गरिदिए । १६ तोला सुन र २५ तोला दाइजो दिए । केटा पक्षको बिहे खर्च तिरिदिए । तर, पनि मोटरसाइकल र फर्निचर माग्दै यातना दिए । अन्तमा आरतीको शङ्कास्पद मृत्यु भयो ।

दाइजोमा मोटरसाइकल नपाएको भन्दै ‘आरतीको हत्या’, आरोपित छुटेपछि आमा न्याय माग्दै नेताको दैलोमा  (भिडिओसहित)

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा ५० वर्षीय निर्मलादेवी साह भेटिइन् । बिहीबार बिहान १० बजे साह ओली निवासमा जानुको कारण थियो, न्यायको गुहार ।

उनी केही महिनायता न्यायको लडाइँमा छिन् । सडकदेखि अदालतसम्म धाउनु परेको छ । छोरीको ‘शङ्कास्पद मृत्यु’ घटनामा न्यायका निम्ति भौतारिइरहेकी निर्मलादेवीको आँखा रसिलो देखिन्थ्यो । हत्या गरिएकी भनिएकी २२ वर्षीय छोरी आरती साहको सम्झनाले उनलाई घरी-घरी झस्काइरहन्छ ।

“मुनाजस्ती थिइन् । बिहेपछि घरपरिवार सबैको हेरचाह गर्थी, पढाउने भनेर बिहे गरेर लगेका थिए । पढाएनन् । दैनिक कुटपिट गर्न थाले । पछि मारेरै छाडे,” भलभल आँसु झार्दै भनिन् ।

सुदूर तराईबाट पैदले सङ्घीय राजधानी काठमाडौं आएकी उनले दुई हात जोडेर ओलीसँग आग्रह गरिन्, “हिंसा गर्नेहरू ठूलाबडा हुन्, हामी लड्न सकेनौँ । न्यायको लागि आवाज उठाइदिनुपर्‍याे ।”

सदनमा आफ्ना कुरा राखिदिन उनले ओलीलाई उनको पुकार थियो । उनको चीत्कारमा ओलीले आश्वासन दिँदै भने, “न्याय-निसाफ सन्तुलित होस् भन्ने चाहन्छौँ । हाम्रो सांसदले यसअघि पनि यो विषयमा सदनमा कुरा राखेका थिए, सरकारको ध्यानाकर्षण गराएका थिए । अदालतमा पनि मुद्दा विचाराधीन छ । फेरि पनि हामी तपाईंको लागि न्यायको लागी सदनमा कुरा उठाउँछौँ । सरकारलाई दबाब दिन्छौँ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी आरतीकी आमा निर्मलादेवी साह ।

के थियो घटना ?

७ जेठ २०८० को दिन साँझ ६ः३० बजेतिर धनुषाको नगराइन ८ का विनोद प्रसाद साहलाई उनकै सम्धीले फोन गरे । फोनमा भने, “आरती (विनोद साहकी छोरी) बेहोश भइन् । काव्या अस्पताल ल्याएका छौँ, आउनुपर्‍यो ।”

विनोद प्रसाद साह गाउँमा थिए । जनकपुरमा कान्छी छोरी मनीषा थिइन् । जनकपुरमा बसेर अध्ययन गरिरहेकी मनीषालाई विनोदले आरीलाई लगिएको भनिएको जनकपुरको अस्पताल पठाए ।

अस्पताल पुगेर मनीषाले दिदी (आरती) लाई हेरिन् । उनको सास गइसकेको पाइन् । तर, के कसरी भन्ने जवाफ कसैबाट पाइनन् । उनले रुँदै घरमा फोन गरेर बताइन् । घरबाट विनोद र श्रीमती (निर्मलादेवी)सहितका केही मान्छे ट्याम्पो चढेर ८ किलोमिटर टाढा रहेको जनकपुर पुगे ।

‘बच्चा जन्माएँ’ भन्दै मनकुमारीले बोलाइन् आफन्त, बधाई थाप्दैगर्दा लाग्यो हत्कडी

केही समयमा प्रहरी पनि अस्पताल आइपुग्यो । सोधपुछ सुरू गर्‍यो । सोधपुछपछि आरती साहका ससुरा मदनमोहन साह भन्ने मदनमोहन ब्याहुत सुडी र श्रीमान् मोतीबाबु साहले घरमै झुन्डिएको बताए । आरतीलाई उद्धार गरी अस्पताल ल्याएको तर, अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको बयान दिए ।

त्यसपछि प्रहरी घटनास्थल गयो । मुचुल्का तयार भयो, “घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटियो । जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको देखिन्छ ।”

आरतीकी आमा निर्मलादेवी र दाजु प्रेम । 

प्रहरीको घटनास्थलको मुचुल्कामा ‘आत्महत्या गरेको जस्तो देखिन्छ’ भन्ने बेहोरा थियो । तर, आरतीको शव हेर्दा बिल्कुल फरक थियो । घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ भए पनि, गाला र शरीरका अन्य भागमा चोटैचोट थिए ।

आरतीको शवमा त्यस्तो देखिएपछि माइती पक्षले दाबी गर्‍यो, ‘आत्महत्या होइन, हत्या हो ।’ त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा-सासू र श्रीमान्‌विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिए ।

तर, धनुषा प्रहरीले ‘आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिनुपर्ने’ भन्दै जाहेरी लिएन । त्यो जाहेरी पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने प्रहरीले अडान लियो ।

०००

भोलिपल्ट ८ जेठको अपराह्न १ बजे, आरतीको शवको पोस्टमार्टम आयो । त्यहाँ उल्लेख थियो, ‘झुन्डिएको र आत्महत्या हुनसक्ने’ । जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिएको थियो । तर, आरतीको मृत्यु २४ देखि ३६ घण्टा पहिले भइसकेको भनी उल्लेख थियो ।

रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म भएको उल्लेख थियो । यही आधारमा कुटपिट गरी हत्या भएको दाबी गर्दै आरतीका माइती पक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए । फेरि पनि प्रहरीले जाहेरी दर्ता लिन मानेन ।

शङ्काकै भरमा हिंसाको खेल : ‘भ्यालेन्टाइन्स् डे’मा फूल दिए, सातापछि ज्यान लिए !

प्रहरीलाई दबाब दिन आफन्तहरू धनुषा प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे । सडक अवरुद्ध गरे । प्रदर्शन चर्काए । बल्ल प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता लिने बतायो । तैपनि दर्ता भइसकेको थिएन ।

प्रहरीले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र माइतीपक्षले शवको दाहसंस्कार गर्‍यो । दाहसंस्कार सकिएलगत्तै प्रहरीले आरतीका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र श्रीमान् मोतीबाबु साह पक्राउ परे । तर, प्रहरीले एकातर्फी मात्र अनुसन्धान गर्‍यो ।

आरतीको हत्यापछि न्यायको लागि आरतीकी आमा निर्मलादेवी, दाजु प्रेम र बहिनी मनीषा आन्दोलनमा, हस्तक्षेप गर्दै प्रहरी ।

प्रहरीकै शङ्कास्पद भूमिका !

आरती साहको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका सुरूदेखि नै शङ्कास्पद थियो । सुरूमा जाहेरी लिन नमानेको प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्र कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान थालेको थियो ।

तर, पछि ससुरा र पति पक्राउपछि २२ दिनसम्म प्रहरीले आरतीको माइती पक्षलाई बोलाएन । माइती पक्षको भनाइ नै नराखी प्रहरीले एकाएक रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा पठायो । धनुषाका जिल्ला न्यायाधिवक्ता कार्यालयले माइती पक्षको भनाइसमेत समावेश गरेर ल्याउन भन्दै रायसहितको प्रतिवेदन फिर्ता पठाइदियो ।

त्यसपछि बाध्य बनेको प्रहरीले जेठ ३२ मा मात्रै आरतीको माइतीपक्षलाई बयानको लागि बोलायो । तर, माइती पक्ष बयान दिन जाँदा पहिले नै तयार पारेको कागजमा हस्ताक्षर गर्न लगाएको मृतक आरतीका दाजु प्रेम साह बताउँछन् ।

पछि जिल्ला अदालतले पक्राउ परेकाहरूलाई थुनामा पठायो । पुर्पक्षका लागि थुनामा राखिएका आरतीका श्रीमान् र ससुरा जनकपुर उच्च अदालतको आदेशले साधारण तारेखमा छुटे ।

पछि आरतीका माइती पक्ष सर्वोच्च गए । सर्वोच्चले आरतीका श्रीमान् मोतीबाबुलाई पक्राउ गर्न आदेश दिएपछि उनी थुनामा छन् । अरू बाँकी भने थुनाबाहिर रहेको भन्दै दबाब दिन आरतीको माइती पक्ष आन्दोलनमा छ ।

आरोपी छुटपछि न्याय माग्दै उनकी आमा बिहीबार एमाले अध्यक्ष ओली कहाँ गएकी थिइन् ।

सर्वोच्चको आदेशपछि आरतीको पति मोतीबाबु पुनः पक्राउ पर्दैगर्दा, जो उच्चको आदेशले छुटेका थिए ।

दाइजोमा मोटरसाइकल नदिएको भन्दै कुटपिट

‘हत्या’अघि दाइजोको निहुँमा छोरी आरतीमाथि पटकपटक कुटपिट हुने गरेको आरतीका आमा निर्मलादेवीले बताउँछिन् ।

आरती औसतमा राम्री युवती थिइन् ।

बिहे गर्दा २०७८ मा उनी जनकपुरमा बीबीए दोस्रो वर्षमा पढ्दै थिइन् । उनी २० वर्षकी थिइन्, मोतीबाबु ३० वर्षका । विवाहको लागि केटा पक्षले १६ तोला सुन र २५ तोला चाँदी मागेका थियो । केटा पक्षले होटेलमा भव्य विवाह गराउन भनेका थिए ।

अवैध अफिमको मौलाउँदो खेती, नेपालको अफगानिस्तान बन्दै ‘राक्सिराङ्ग’

विवाहमा लागेको केटा पक्षको खर्च पनि केटी पक्षले नै बेहोरेको थियो । सबैगरी विवाहमै २५ लाख रुपैयाँ खर्च भएको आरतीको आमा निर्मलादेवी बताउँछन् ।

उनले नेपालभ्युजसँग भनिन्, “अझै पनि पर्याप्त दहेज नआउने भन्दै केटा पक्षले सुरूदेखि नै आरतीलाई यातना दिन थाले । एउटा ठूलो आवाज आउने राम्रो मोटरसाइकल र दराजसहित फर्निचरका केही सामना मागिएको थियो । तर, बिहेमै २५ लाख खर्च भएको थियो । बिहेगर्दा लागेको केही ऋण बाँकी थियो । तर, हामीले पछि मोटरसाइकल र फर्निचर दिन सकेनौँ ।”

आरतीका आमा निर्मलादेवीको अनुसार घटना हुनुभन्दा २५ दिनअघि आफूलाई ससुरा र श्रीमान्‌ले कुटपिट गरेको भन्दै आरती माइत आएकी थिइन् ।

उनी २ हप्ता जति माइती बसेकी थिइन् । पछि ससुरा मोतीबाबु आरतीलाई लिन आएका थिए । त्यसको १० दिनपछि नै आरतीको रहस्यमय मृत्यु भयो ।

‘नानीबाबुको ख्याल राख्नु’ भन्दै तीन तलाबाट फाल हालिन् रबिना, मारिए अश्वेत र रिवा !

आरतीकी आमा निर्मलादेवी, दाजु प्रेम भन्छन् … (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved