बच्चा चोरी भएकी सबिना श्रेष्ठ र उनकी जेठानी अस्मिता, अर्काेतर्फ सबिनाको शिशु, माथि गोलो घेरामा बच्चा चोर्ने दैलेखको नौमुलेकी मनकुमारी सिंह।
काठमाडौं । ‘छोरी काटीकुटी आमाजस्ती, ल बधाई छ है’ आफन्त कुरा गर्दै थिए । कोही बच्चाको अनुहार आमासँग दाँज्दै थिए त कोही बाउसँग मिल्ने दाबी गर्दै थिए । बच्चाको नाम के राख्ने, कस्तो राख्ने भन्नेबारे सरसल्लाह हुँदै थियो । आउने जानेको ओहोरदोहोर थियो । फ्ल्याटभरी पाहुना थिए ।
भान्साबाट मासु पाकेको बास्ना आइरहेको थियो । अरू परिकार पनि पाक्दै थिए । सुत्केरीको लागि लोकल भाले अर्डर भइसकेको थियो । बधाई दिन आएका नातेदार कतिपयले घीउ ल्याएका थिए । कतिपयले सुत्केरीले खाने मरमसला पकाएरै ल्याएका थिए ।
सुत्केरीकी दिदीले माइतीबाट खसीको मासुका पक्कु, ग्रेभी, सुपसहितका परिकार घरमै बनाएर ल्याएकी रहिछन् । के-केचाहिँ खाने भन्ने अन्योलमा थिइन्, सुत्केरी । ‘चुचुचुचु…’ गर्दै रोइरहेको बच्चालाई फुल्याउँदै थिइन् उनी । टाउकोमा मजेत्रो बाँधेर कुनामा पल्टिएकी थिइन् ‘सुत्केरी’ । भोटो लगाएको बच्चा ब्ल्याङ्केटले अनुहार मात्र देखाएर सुताइएको थियो । स्वास्थ्य अवस्था बुझ्दै आफन्त भन्थे, ‘कस्तो छ आमा र बच्चालाई ।’
‘ठीकै छ, तर मलाई अलि बढी रगत बगिरहेको छ,’ सुत्केरी भन्थिन् । रोइरहेको बच्चालाई मुखमा दूधदानीले दूध चुसाइरहेकी थिइन् ।
‘किन आफ्नो दूधले पुगेन र बच्चालाई ?’ आउनेहरू सोध्थे । ‘पहिलोपटक सुत्केरी भएर होला, दूधै आएन’ उनी जवाफ फर्काउँथिन् । बच्चाले दूधदानीले दूध खान मान्थेन । बच्चा दूध नखाने तर, रोइरहने भएपछि सुत्केरी हत्तु थिइन् । आउनेहरू बच्चाको मुख हेरेर नगद दक्षिणा दिइरहेका थिए ।
अबेर रात भए पनि सन्तान जन्मिएको खुसीको खबरले नजिक बस्ने आफन्त त्यहाँ पुगेका थिए ।
यो दृश्य, शुक्रबार साँझ काठमाडौं कागेश्वरी मनोहरा ९ काँडाघारीस्थित २४ वर्षीया मनकुमारी सिंहको कोठाको थियो ।
दैलेख नौमुले १ घर भएकी उनी त्यहाँ केही समययता कोठा लिएर बस्थिन् । उनका श्रीमान नरेन्द्र मल्ला नेपाली सेनामा जागिरे थिए ।
परिवारका अरू सदस्य पनि थिए । मनकुमारीले सबैलाई आफूले बच्चा जन्माएको भनेर विश्वास दिलाएकी थिइन । बच्चा जन्मेको भन्दै श्रीमान पनि घरमा आएका थिए ।
बच्चा लिन भन्दै अपरिचित कोठामा छिरेपछि…
रातको करिब साढे ११ बजेको थियो । मनकुमारी सुत्केरी पल्टिएकी थिइन् । अगाडि बच्चा रूँदै थियो । मनकुमारी थप्थपाउँदै थिइन् । फ्ल्याटमा केही मानिस छिरे । आफन्तले सुत्केरीका कोही चिनेजानेका मानिस होलान् भन्ने अनुमान गरे । तर, सुत्केरीले चिनिनन् ।
ती मानिसले भने, “हामी यो बच्चा लिन आएका हौँ ।” सुत्केरी र आफन्त केही डराए, अलमलमा परे । नयाँ मानिसले परिचय र कारण खुलाउँदै भने, “यो बच्चा चोरेर ल्याइएको हो, त्यसैले लिन आएका हौँ । हामी पुलिस हौँ ।”
यो सुनेर मनकुमारीका श्रीमान् चकित भए । बधाई दिन आएका आफन्तले तीनछक पर्दै जिब्रो टोके । सुत्केरीको लागि भन्दै घीउ, मासु र मरमसला ल्याउने पाहुनाले निधार खुम्चाए ।
तर, सुत्केरी भनिएकी मनकुमारी र उनकी नाताले दिदी पर्ने आक्रोशित भइन् । उनीहरू प्रहरीमाथि जाइलाग्न खोजे । “मैले आफैँले जन्माएकी हुँ, तिमीहरू चोर भन्छौँ” भन्दै मनकुमारीले प्रहरीमाथि डाडु उठाइन् । तर, प्रहरीले बच्चा लगिएको सीसीटीभी फुटेज देखायो ।
हुलिया मनकुमारीकै थियो । तैपनि मनकुमारीले आफ्नो ‘डीएनए टेस्ट् गर्न’ चुनौती दिइन् । सुत्केरी र उनकी दिदी पर्नेको प्रतिकारको बाबजुद प्रहरीले बच्चा खोसेर कार्यालयमा ल्यायो ।
मनकुमारीसँगै उनका श्रीमान् र नाताले दिदी पर्नेलाई नियन्त्रणमा लियो । आइतबार श्रीमान् र दिदी हिरासतमुक्त भइसकेका छन् । तर, मनकुमारीलाई अपहरण मुद्दामा अनुसन्धान अघि बढाइएको छ । अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
के थियो घटना ?
काभ्रेको चौंरीदेउराली गाउँपालिका ३ स्थायी घर भइ कपनमा बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठ नवजात शिशु (छोरी) को स्वास्थ्य जाँच गर्न शुक्रबार बिहान अस्पताल गइन् ।
बच्चाको फलोअपको लागि उनी बिहान साढे ९ बजेतिर थापाथलीस्थित परोपकार प्रसूति अस्पताल गएकी थिइन् । छोरीलाई जन्डिस र निमोनियाको लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
सविनाले सोही अस्पतालमै गएको माघ १५ मा छोरी जन्माएकी थिइन् । जेठाजु मनोज श्रेष्ठ र जेठानी दिदी अस्मितासहित सविना छोरीलाई लिएर अस्पताल पुगेकी थिइन् । सविनाका श्रीमान् पुजन घर कुर्न बसे ।
पुजनका दाजु मनोजको आफ्नै ट्याक्सी छ । उनले बुहारीलाई अस्पताल ल्याएका थिए । साथमा मनोजकी पत्नी (सविनाकी जेठानी)अस्मिता पनि थिइन् ।
नवजात शिशुसहित तीनै जनालाई आफ्नै ट्याक्सीमा अस्पताल पुर्याएर मनोज फर्किए । ओपीडी कक्षमा शिशुको स्वास्थ्य परीक्षण भयो । भिडिओ एक्सरे भयो । सविना र अस्मिता स्वास्थ्य एक्सरे रिर्पाेट कुरेर बसेका थिए । कुरेको लामै समय भएको थियो । सविना काखमा छोरी च्यापेर बसिरहेका थिइन् ।
बिहान ११ बजेतिर जेठानी अस्मिता एक्सरे रिपोर्ट लिन गइन् । सविनाको छोरीले दिशा गरिन् । उनी डाइपर फेर्दै थिइन् । त्यही बेलामा पहेँलो ब्यागसहित रातो कुर्था-सुरुवाल लगाएकी एक महिला आइन् ।
ती महिलालाई सविनाले चिन्दैनथिन् । “बच्चा लग्यो भने रिर्पाेट छिटो दिन्छु, यसैले हिँड्नुस् म बच्चा लगेर रिर्पाेट दिलाइदिन्छु,” ती महिलाले भनिन् ।
छोरीले दिसा गरेपछि सविनाले भर्खरै ‘डाइपर’ फुकालेर नयाँ लगाइदिएकी थिइन् । पुरानो डाइपर ‘डस्टबिन’ सम्म पुर्याउनुपर्ने बाध्यता थियो । त्यो मौकामा ती महिलाले बच्चा माग्दै भनिन्, ‘नानी मलाई दिनुस्, म सँगै तपाईँ हिँड्नुस् । रिर्पाेट छिटो आउँछ, तपाई छिटो घर जान पाउनुहुन्छ ।’
सविना विश्वासमा परिन् । आफ्नो काखको बच्चा उनलाई दिइन् । बच्चा लिएर महिला भर्याङ चढिन् । डस्टबिनसम्म गएकी सविना पछिपछि जाँदा ती महिला भेटिनन् । महिलालाई नदेखेपछि आत्तिइन् ।
रिर्पाेट लिएर जेठानी आइपुगिन्, तर छोरी भेटिइनन् । कतै पत्तो नलागेपछि सविनाले श्रीमान्लाई ‘छोरी हराइ’ भन्दै खबर गरिन् । प्रहरीमा पनि खबर पुग्यो । छोरी हराउनुअघि अस्पतालमा भएका सबै गतिविधि पनि सीसीटीभीमा हेरियो ।
काठमाडौं प्रहरीको टोली अस्पताल पुगेर सीसीटीभीमार्फत खोजबिन अघि बढायो । यतिबेला १ बजिसकेको थियो ।
अस्पतालकै सीसीटीभी फुटेजमा बिहान ११ बजेर ४० मिनेटतिर मुखमा कालो मास्क र सलले टाउको छोपेकी रातो कुर्था-सुरुवालवाली महिला बच्चा बोकेर वनस्पति विभागतर्फको गेटबाट बाहिरिएको भेटियो । केही दूरी पर पुगेर महिला ट्याक्सीमा गएको देखियो ।
प्रहरी सीसीटीभी फुटेजको आधार र अरू विवरणको आधारमा ट्याक्सी र महिलाको हुलिया पिछा गर्दै पेप्सीकोला सनसिटी अपार्टमेन्ट नजिकको स्थानसम्म पुगेको थियो । महिला दिउँसो साढे १२ बजेपछि डेरामा पुगिन् ।
तर, प्रहरी अनुसन्धान गर्दैजाँदा राति मात्र उनको निवासमा पुगेको थियो । सविनाको बच्चा चोरेर जाने अपरिचित महिला तीनै थिइन्, मनकुमारी सिंह ।बच्चा चोरेर ल्याउने योजनाका साथ उनी शुक्रबार आफूले नियमित लगाउने हुलिया बदलेर प्रसूति गृह पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडौंका एसएसपी भूपेन्द्र खत्री भन्छन्, “त्यही क्रममा ओपीडीमा पुगेकी उनी र नवजात शिशुकी आमा सविनाको भेट भयो । सविनालाई छलेर बच्चा चोरेको लगिन् ।”
बच्चा चोरीको घटनामा प्रहरीले आरोपितविरुद्ध अपहरण तथा शरीर बन्धक र मान्छे बेपत्ता पार्न नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
मनकुमारीविरुद्ध प्रहरीले मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ । जसअन्तगत ७ देखी १० वर्षसम्म कैद सजाय हुने छ ।
एक घण्टासम्म खोज्दा बच्चा भेटिएन । बच्चाको खोजी हुँदै थियो । अस्पतालको सीसीटीभी फुटेज सविनालाई देखाइयो । सीसीटीभीमा कैद भिडिओमा उनले अघि आफ्नो हातबाट बच्चा लिने महिला मास्क लगाएर ट्याक्सी चढेर भागेको देखिन् ।
त्यो देख्नासाथ उनलाई भाउन्न छुट्यो । मस्तिकस्कले उनलाई रिङ्ग्याइरहँदा, सविना फर्किइन् करिब एक महिना अघिको घटनामा । उनको मस्तिकसमा छोरी जन्माउँदाका कुरा सिनेमाका दृश्यझैँ घुमिरहे ।
नौ महिना पुगिसकेकाले सबै तयारी सकिएको थियो । जेठाजुको ट्याक्सीमा सविनालाई प्रसूति अस्पताल थापाथली लगियो । अस्पताल गएपछि डाक्टरले सुत्केरी व्यथा लाग्ने औषधि दिए । सुइँ पनि लगाइदिए ।
त्यसपछिको दुखाई उनी कल्पना समेत गर्न सक्दिनन् । तीन दिनसम्म व्यथा लाग्यो । तर, बच्चा निस्किन सकेन । त्यसपछि चौथो दिनमा इमर्जेन्सी अप्रेसन गर्ने कुरा भयो । त्यो समयको पीडाले अझ खपिनसक्नु थियो ।
त्यो बेलाको औषधि र सुइँ लगाएपछि पनि स्लाइन पानीमा दिएको औषधिको व्यथा पूरै शरीर छियाछिया बनाएर काटेको भन्दा पनि असह्य थियो । उनी त फत्रक फत्रक परेकी थिइन् ।
त्यस्तो हुँदा त उनले डाक्टरलाई भनिन्, “मलाई चक्कु दिनु म आफैँ काटेर नानी निकाल्छु ।” त्यो पीडाको छटपटी भएको धेरै समय पछि उनलाइ अप्रेसन थिएटर लगियो । केही समयपछि अप्रेसन भयो ।
एक छिनपछि च्याँ..च्याँ.. आवाज आयो । ऊ रोएको आवाजले सविनाको सबै पीडा हरायो । खुसीको आँसु झर्यो । डाक्टरले दुई हातले काखमा ल्याएर सविनालाई बच्चा देखाए । सुतिरहेकी उनको टाउको नजिकै लगिदिए ।
सविनाले टाउको हल्का ढल्काएर बच्चालाई चुमिन् । दुवै आखाँबाट बगेको खुसीको आँसु बच्चाको गालामा चुहियो । बच्चा गोरो थियो, उनी जस्तै ।
डाक्टरले बच्चा सविनाको छातीमा राखिदिए । बच्चा निकाल्दा एक छिनअघि चिरिएको पेट पनि उनलाई निको भए जस्तो लाग्यो । छातीमा बच्चा टासिँदा संसार जितेजस्तो अनुभव भयो ।
बच्चा उनको पेटबाट निकालिएर दुई ज्यान अलगअलग भइसकेपछि सविनाकै मुटुभित्रकै टुक्रा थियो । त्यही बच्चा २६ दिनको मात्र थियो । महिना दिन पनि नपुगेकी छोरीको भविष्यको बारेमा सोच्न थालिसकेकी थिइन्, सविना ।
सुत्केरी हुँदा चिरिएको शरीरको घाउ छोरीकै भविष्यको कल्पनामा निको बनाउँदै थिइन् । तर, तीनै छोरी आफ्नैकै काखबाट चोरी भएपछि सविना सम्हालिन सकिनन् ।
यसरी आफ्नो विगतका दिनहरू झलझली सम्झिरहेकी उनको काखमा छोरी नहुँदा मुर्छित भएर ढलिन् । सविना बेलाबेलामा ब्युँझिन्थिन् । ‘मेरो बच्चा देऊ, मेरो बच्चा देऊ’ भन्दै बरबराउँथिन् । फेरी होस् गुमाउँथिन् ।
अचेत सविनाले जब सुनिन् फेला परेको खबर
अचेत सविनाको बेलाबेलामा होस् खुलिरहेको थियो । आफूबाट चोरिएको बच्चा फेला परेको खबर उनले मध्यरात साढे ११ बजे थाहा पाइन् ।
घटनाको १२ घण्टा बितिसकेको थियो । त्यसपछि उनको मुहारमा खुसी फर्कियो । उनको परिवार तत्कालै ट्याक्सीमा प्रहरी कार्यालय पुगे ।
शिशुलाई राति नै प्रहरीले परिवारको जिम्मा लगायो । शिशुको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सविना भन्छिन्, “मेरी छोरी भेटिइन् । मेरो मुटुको टुक्रा चोरी हुँदा म बेहोश थिएँ । अब राम्रोसँग सुरक्षित तरिकाले हुर्काउँछु । पढाउनेछु । ठूलो मान्छे बनाउनेछु ।”
Facebook Comment
Comment