राजनीतिमा किन आउँछन् मान्छे ? यस्ता हुन्छन् मुख्य १० कारण

राजनीति गर्नेहरूको कारण र मनोविज्ञान एउटै हुँदैन । फरक-फरक व्यक्ति फरक-फरक परिवेशमा फरक-फरक कारण, भावना, अपेक्षा, उद्देश्य र आकांक्षासहित राजनीतिमा आएका हुन्छन् । जानौं १० कारण ।

नेपालभ्युज

राजनीतिमा किन आउँछन् मान्छे ? यस्ता हुन्छन् मुख्य १० कारण

काठमाडौं । ठूला-ठूला राजनेता हुन् वा सामान्य कार्यकर्ता, लोकतान्त्रिक आन्दोलनका योद्धा हुन् वा अधिनायकवादी शासन र विचारका पक्षपोषक राजनीति गर्ने सबैको दाबी एउटै हुन्छ- देश र जनताको सेवा गर्न आएको हुँ । राजनीतिमार्फत समाज, राष्ट्र र मानवताको सेवा गर्दछु ।

तर, यो त भन्ने कुरा न हो । यदि ती सबै देश, जनता र मानवताको सेवा गर्नकै लागि राजनीतिमा आएका भए भ्रष्टाचार किन गर्थे ? पदका लागि मरिहत्ते किन गर्थे ? एकअर्काप्रति धोकाबाजी र षड्यन्त्र किन गर्थे ? गुटबन्दी किन गर्थे ? खुंखार तानाशाह किन जमिन्थे ? अवसरवादको जन्म नै किन हुन्थ्यो ? राजनीतिलाई ‘फोहोरी खेल’ किन बनाइन्थ्यो ?

दाबी गरिएजस्तो राजनीति गर्नेहरूको कारण र मनोविज्ञान एउटै हुँदैन । फरक-फरक व्यक्ति फरक-फरक परिवेशमा फरक-फरक कारण, भावना, अपेक्षा, उद्देश्य र आकांक्षासहित राजनीतिमा आएका हुन्छन् । अध्ययनले के बताउँछ भने मान्छे राजनीतिमा लाग्नुपर्ने कारण र मनोविज्ञान मुख्य १० वटा हुन्छन् ।

१.निश्चित विचार, सिद्धान्त र सवालप्रतिको निष्ठा :

कतिपय मान्छेमा जीवनका भोगाइ, अनुभूति, अध्ययन र परिवेशले निश्चित विचार, सिद्धान्त र सवालप्रति आस्था र विश्वास पैदा हुन्छ । ती विचार, सिद्धान्त र सवाल ठीक हो, त्यसका लागि संघर्ष गर्नु पर्दछ भन्ने भावना पैदा हुन्छ ।

यो एकप्रकारले सत्यनिष्ठा, त्याग र समर्पणको भावना हो । सत्य के हो ? अन्तिम अर्थमा यसलाई कसैले व्यक्त गर्न सक्दैन । सत्यको कुनै एउटा रुप, रंग, अर्थ, परिभाषा र आकार छैन ।

वैचारिक सत्य एक नभएर अनेक प्रकारका हुन्छन् । जस्तो कि कोही सम्वर्द्धनवादमा विश्वास गर्दछन्, कोही साम्यवादमा, कोही समाजवादमा विश्वास गर्दछन्, कोही उदारवादमा, कोही राष्ट्रवादमा विश्वास गर्दछन् त कोही फासीवादमा ।

कसैलाई दलित, महिला र धार्मिक तथा जातीय अल्पसंख्यकका मुद्दाले छुन्छ । कसैलाई गरिबी, बेरोजागरी र भौतिक तथा आर्थिक विकासका मुद्दाले छुन्छ । कसैलाई वातारणीय मुद्दाले छुन्छ । कसैलाई आध्यात्मिक तथा नैतिक सवालले छुन्छ । कोही लोकतन्त्र, सुशासन र सामाजिक न्यायको सिद्धान्तबाट प्रभावित हुन्छ ।

यस्ता अनेक विचार र सवालबाट प्रेरित मान्छे राजनीतिमा आउँछन् । यो राजनीतिमा आउनुको सकारात्मक कारण हो । यसकारणबाट राजनीतिमा आएका मान्छेको निश्चित लक्ष्य हुन्छ । दूरदृष्टि, उद्देश्य र गन्तव्य हुन्छ ।

यस्ता राजनीतिकर्मी लक्ष्य, उद्देश्य र गन्तव्यप्रति समर्पित हुन्छन्, विचार, सिद्धान्त र सवालप्रति दृढ हुन्छन् । जस्तै परिस्थितिमा पनि उनीहरूले आस्थाको परित्याग गर्दैनन् ।

२. व्यक्तिगत स्वभाव र स्वान्तः सुखायको अनुभूति :

कतिपय मान्छेको व्यक्तिगत प्राकृतिक चरित्र नै राजनीतिमैत्री हुन्छ । ती राजनीति नगरिकन चैनले बस्नै सक्दैनन् । राजनीति नगर्दा उनीहरूलाई एक प्रकारको खट्पटी, छटपटी, असन्तुष्टि र जीवन नै खेर गएजस्तो अपूर्णताको अनुभूति हुन्छ ।

यस्ता मानिसलाई विचार, सिद्धान्त र सवालको मतलब नै नहुने हैन, हुन्छ । तर, व्यक्तिगत मानसिक आवेग, छटपटी र असन्तुष्टिको कारणले तीनले विचार, सिद्धान्त र सवालप्रतिको निष्ठा परिर्वतन गर्न सक्दछन् ।

नेता, दल, गुट र खेमा परिवर्तन गर्न सक्दछन् । तर, यो वा त्यो रूपमा राजनीतिमा नै रहन्छन् । यस्ता मान्छेको जीवनको अन्त्य सक्रिय राजनीतिसँगै हुन्छ । राजनीति यस्ता मान्छेको अन्तर्निहित चरित्र हो ।

३. युवा उमेरको संगत, परिवेश र स्कुलिङ :

कतिपय मान्छेमा जीवनको प्रारम्भमा राजनीतिप्रति त्यतिधेरै लगाव, इच्छा वा रुचि हुँदैन । न त कुनै विचार, सिद्धान्त र सवालप्रतिको प्रष्ट बुझाइ नै हुन्छ । यस्ता मान्छे युवाकालको संगत, परिवेश र स्कुलिङबाट प्रभावित हुन्छन् ।

स्कुल, कलेजका शिक्षक, साथीभाइ र परिवेशबाट प्रभावित हुन्छन् । यस्तो संगत, प्रभाव र परिवेशले उनीहरूलाई राजनीतिमा तानेर ल्याउँछ ।

४. पारिवारिक विरासत :

कतिपयले इच्छा होस् वा नहोेस्, राजनीतिको ज्ञान र क्षमता होस् वा नहोस्, पारिवारिक राजनीतिक विरासतलाई धान्न बाध्य भएर राजनीतिमा आउनुपर्ने हुन्छ । परिवारको प्रतिष्ठा र उत्तराधिकार धान्न राजनीति गर्नुपर्ने हुन्छ ।

राजतन्त्रका राजा वा राजकुमार सबैलाई राजनीति गर्ने इच्छा, रुचि, लगाव वा चाहना थियो वा हुन्छ भन्न सकिँदैन । तर, ती कुनै खास वंश वा परिवारमा जन्मिएकै कारणले राजनीति गर्न बाध्य हुन्छन् ।

लोकतन्त्रमा पनि कतिपय परिवारमा विरासतको राजनीति हुने गर्दछ । दक्षिण एशियाली राजनीतिमा यस्ता थुप्रै परिवार छन् । भारतको नेहरु–गान्धी परिवार त्यस्तै एउटा चर्चित परिवार हो ।

यस परिवारका राजीव गान्धीलाई राजनीतिमा कुनै रुचि थिएन । पढाइ र पेशाले उनी पाइलट थिए । तर, आमा इन्दिरा गान्धीको हत्यापछि उनी पारिवारिक विरासत धान्न राजनीतिमा आए ।

अहिले उनकी पत्नी सोनिया गान्धी, छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धी पारिवारिक विरासतकै कारण राजनीतिमा छन् । भलै कि उनीहरूको बलियो राजनीतिक रुचि, क्षमता र इच्छशक्ति देखिँदैन ।

५. अभियानात्मक उद्देश्य :

संसारमा त्यस्तै पनि धेरै राजनीतिकर्मी छन्, जो अभियानात्मक उद्देश्यबाट प्रेरित भएर विस्तारै राजनीतिमा आउँछन् । भारतमा आम आद्मी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल त्यस्तै एक अभियानकर्मी थिए ।

उनी सूचना अधिकार र सुशासनका अभियानकर्मी थिए । सन् २०१२ को जनलोकपाल विधेयक र अन्ना हजारे आन्दोलनपछि राजनीतिमा आए । केजरवालले राजनीतिमा आउँने उद्देश्यले यी अभियान गरेका थिए भन्न सकिन्न। तर, अभियानले उनलाई राजनीतिमा ल्यायो ।

संसारमा धेरै प्रकारका अभियान तथा अधिकारकर्मी हुन्छन् । मानवअधिकार, पशु अधिकार, महिलाअधिकार, बालअधिकार, वातावरणीय अधिकारका आदिमा पक्षमा अनेक अभियान र आन्दोलन भइरहेका हुन्छन् । युद्ध तथा घातक हातहतियार विरोधी अभियान भइरहेका हुन्छन् ।

आदिवासी, जनजाति, पिछडा वर्ग, दलित तथा उत्पीडित समुदायमाथिका विभेद र अपमानविरुद्ध अभियान भइरहेका हुन्छन् । यस्ता अभियानकर्मी निश्चित बिन्दु वा अवस्थामा राजनीतिकर्मीमा परिणत हुने गर्दछन् ।

६. प्रतिशोधको भावना

मान्छे आफ्नो उन्नतिको प्रेरणाले मात्र हैन, ‘इगो’ मा ठेस लाग्यो भने अर्कालाई पराजित गर्ने, हराएर देखाइदिने, अर्कालाई पराजित गर्दा आफ्नो अहं, आत्मसम्मान र अस्तित्व पुष्टि भएको आत्मगौरवको भावना जाग्रित हुने कारणले पनि प्रेरित हुन्छ ।

इर्ष्या र प्रतिशोधको भावना मानव जीवनको नकारात्मक पाटो त हो, तर राजनीतिमा यो पक्ष पनि क्रियाशील भने हुन्छ ।

यो भावनाबाट प्रेरित मान्छे त्यस्तो विचार, आन्दोलन र दलमा लाग्छ, जो उसको अहंमा ठेस पुर्‍याउन व्यक्ति वा शत्रु पक्ष लागेको भन्दा ठीकविपरीत र मुख्य प्रतिस्पर्धी हुन्छ । जहाँ लागेर आफ्नो शत्रुसँग आमनेसामने हुन, लड्न र पराजित गर्न सकिन्छ, मान्छे त्यही लाग्छ ।

७ .पद, शक्ति र सामाजिक प्रतिष्ठा प्राप्तिको आकांक्षा

राजनीतिले धेरैलाई राजकीय पद, शक्ति र सामाजिक प्रतिष्ठा दिन्छ । राजनीतिमा लाग्ने सबैले यस्तो अवसर पाउने ग्यारेन्टी हुँदैन । तर, सम्भावना रहन्छ । यस्ता मान्छेले पद, प्रतिष्ठा, चर्चा र शक्तिलाई जीवनको ठूलो उपलब्धि ठान्दछन् । जताबाट हुन्छ, राजकीय पद प्राप्त गर्ने आकांक्षा राख्दछन् ।

यस्तो भावनाबाट प्रेरित मान्छेका लागि विचार, एजेण्डा र दलको कुनै मान्य हुँदैन । जताबाट पद प्राप्त गर्ने सम्भावना हुन्छ त्यतै लाग्दछन् । यस्ता मान्छे अक्सर अवसरवादी हुन्छन् । विचार वा दल परिवर्तन उनीहरूका लागि सामान्य कुरा हुन्छ ।

८. जीवनको कुनै खास संयोगिक घटना

राजनीतिमा यस्ता पनि थुप्रै मानिस आइपुग्दछन्, जसलाई राजनीति गर्ने न इच्छा हुन्छ न रुचि, न ज्ञान हुन्छ न क्षमता न कुनै विचार, सिद्धान्त र सवालप्रतिको निष्ठा हुन्छ वा पारिवारिक विरासत, न कसैप्रति कुनै प्रतिशोध साँध्नपर्ने हुन्छ न पद, प्रतिष्ठा प्राप्तिको आकांक्षा ।

ती आ-आफ्ना पारिवारिक जीवन, पेशा र व्यवसायमा व्यस्त हुन्छन् । तर, उनीहरूको जीवनमा कुनै बेला कुनै आकास्मिक घटना भइदिन्छ, जसले बाध्यतावंश तानेर राजनीतिमा ल्याउँछ ।

जस्तो कि शहरको सडकमा कुनै आन्दोलन हुँदै थियो, कुनै कामले कोही मानिस कतै जाँदै थियो । आन्दोलनकारी ठानेर प्रहरी पक्राउ गर्‍यो, पिट्यो, घाइते बनायो वा मुद्दा लगायो र जेलमा हाल्यो । सम्भावना हुन्छ कि त्यो मान्छे जेलबाट नेता बनेर निस्कन्छ ।

नेपालमा यस्ता थुप्रै उदाहरण छन् । टीकापुर थारु विद्रोह र दमनले त्यस्ता थुप्रै मानिसलाई राजनीतिमा ल्याएको र चुनाव जित्ने हैसियतामा पुर्‍याएको छ, जसको राजनीतिका खासै रुचि र सरोकार थिएन। माओवादी जनविद्रोहका घटनाक्रममा समेत त्यस्तो भएको छ ।

नेपाली राजनीतिमा पछिल्लो समय रवि लामिछानेको उदय त्यस्तै एक आकास्मिक घटना हो । आत्महत्या दुरुत्साहन मुद्दामा उनलाई चितवन प्रहरिले हिरासतमा राख्नु उनको राजनीतिक उदयको आकस्मिक कारण बन्यो ।

९. धनार्जन गर्ने लालसा 

राजनीति राज्यको शक्ति र स्रोतमा पहुँच पुर्‍याउन सकिने माध्यम हो । राजनीतिमार्फत नै मान्छे राज्यका पदमा पुग्दछन् । क्रुर, हिंस्रक, भ्रष्ट र अनैतिक तत्वले राज्य कब्जा गर्‍यो भने राज्यको धनलाई निजी धनजस्तै बनाउँछन् ।

संसारका अधिकांश राजा र बादशाह धनी हुन्छन् । तिनीहरू उद्यम, व्यापार र व्यवसाय गरेर हैन, राज्य शक्तिमार्फत राज्यकोष र जनता लुटेर धनी भएका हुन् । सैनिक तानाशाह तथा अधिनायकवादी शासकहरू असाध्यै धनी हुन्छन् । तिनका परिवारको श्रीसम्पत्ति र रजगजको वर्णन गरेर साध्य हुँदैन ।

राजा र अधिनायकवादी शासक मात्र हैन, कतिपय निर्वाचित र लोकतान्त्रिक शासकमा समेत राजनीतिमार्फत धन कमाउने महत्वाकांक्षा हुन्छ । अन्य काम गरेर धन कमाउन जसलाई गाह्रो लाग्दछ, ती राजनीतिमा लागेर छिटो धन कमाउन चाहन्छन् ।

१०. धन वा अन्य प्राप्तिबाट असन्तुष्टि वा बैराग्य 

उद्यम, व्यापार, व्यवसायबाट प्रशस्त धन कमाएका मान्छे जीवनको उत्तरार्धतिर राजनीतिमा आएका धेरै उदाहरण छन् । अमेरिकाका डोनाल्ड ट्रम्प र नेपालका विनोद चौधरीलाई त्यसका उदाहरण मान्न सकिन्छ । यति धेरै धनी मान्छे किन राजनीतिमा आउँछन् ? यात धनको रक्षाका लागि शक्ति हासिल गर्न यात धनदेखि असन्तुष्टि वा बैराग्य उत्पन्न भएर सार्वजनिक चर्चा र प्रसंशा बटुल्न ती राजनीतिमा आएका हुन् ।

मान्छेको प्राकृतिक स्वभाव हो, जससँग जे चिज हुँदैन वा अभावको अनूभूति चर्को हुन्छ, मोह वा आशक्ति पनि त्यसैको हुन्छ । धन नहुनेलाई धनको आशक्ति हुन्छ, शक्ति नहुनेलाई शक्तिको आशक्ति हुन्छ, सार्वजनिक चर्चा र प्रतिष्ठा नहुनेलाई त्यसैको मोह र आशक्ति हुन्छ ।

समग्रमा राजनीति नियमित आकस्मिकताको खेल हो । भन्न सकिन्न को कतिखेर उदाउँछ, कसको कतिखेर अन्त्य हुन्छ । को केही समय राजनीतिमा टिक्छ र को लामो समय टिकिरहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved