भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदै, दिल्लीबाट रेकी टीम आएर फर्कियो

पशुपतिनाथको आशीर्वाद लिएर चुनावी अभियान सुरू गर्ने

नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ । स्रोतका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको छ ।

नेपालभ्युज

भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदै, दिल्लीबाट रेकी टीम आएर फर्कियो

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ ।

यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म मोदी नेपाल भ्रमणमा आउने गरी तयारी भइरहेको स्रोतले जनाएको छ ।

नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको छ ।

यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रचण्ड र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता हुँदा प्रचण्डले निमन्त्रणा दिएका थिए ।

मोदी लुम्बिनी भ्रमणमा आएको समयमा अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।

भारतमा आगामी मेमा लोकसभाको निर्वाचन हुँदैछ । त्यसअघि पशुपतिनाथको आशीर्वाद लिएर चुनावी अभियान सुरू गर्ने उद्देश्यसहित मोदीको भ्रमण हुन लागेको रेकी टिममा आएका एकजना सदस्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको एसपिजी, एसएसबी, भारतीय सेनाको डिएमआईलगायतको टोली काठमाडौं आएको थियो । टोली साधारणरुपमा आएर पशुपतिनाथको पूजाअर्जना गरेर फर्किएको छ ।

सुरक्षा टोलीका एक सदस्यले भनेका छन्, “समय परिस्थिति र नेपालको अवस्थाले साथ दियो भने प्रधानमन्त्री मोदीजी नेपाल आउनुहुन्छ । निर्वाचनमा जानुभन्दा पहिला बाबा पशुपतिनाथको दर्शन गर्ने उहाँको इच्छाअनुसार तयारी भएको हो ।”

भारतमा अकस्मात कुनै अप्रिय अवस्था सिर्जना नभए मोदीको भ्रमण हुने लगभग निश्चित भएको नेपालको परराष्ट्र स्रोतले बताएको छ । यद्यपि, यसबारे सरकारी निकायले औपचारिकरूपमा पुष्टि गरिसकेका छैनन् ।

यसअघि कार्यभार सम्हालेपछि प्रधानमन्त्री मोदी धेरैपटक नेपाल भ्रमणमा आइसकेका छन् । उनी सन २०१४ को अगस्टमा राजकीय भ्रमणमा आएका थिए ।

प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०२२ को मे जनकपुरधाम, काठमाडौं र मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसअघि सन २०१८ को अगस्टमा उनी बिमस्टेकको सम्मेलनका लागि काठमाडौं आएका थिए ।

प्रधानमन्त्री भएपछि दोस्रो भ्रमणका रूपमा उनी सार्क सम्मेलनका लागि सन् २०१४ को नोभेम्बरमा नेपाल आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved