विमलेन्द्र-शशाङ्कले किन अहिल्यै नेपाललाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिए ?

बुधबार दाङ पुगेका कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि र बिहीबार नवलपुर पुगेका कांग्रेस पूर्वमहामन्त्री शशाङ्क कोइरालाले एउटै कुरा बोले— अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाऔँ

नेपालभ्युज

विमलेन्द्र-शशाङ्कले किन अहिल्यै नेपाललाई प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिए ?

काठमाडौं । बुधबार दाङ पुगेका कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि र बिहीबार नवलपुर पुगेका कांग्रेस पूर्वमहामन्त्री शशाङ्क कोइरालाले एउटै कुरा बोले— अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाऔँ

२०७८ पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा वर्तमान सरकार गठन हुँदा सत्तारूढ गठबन्धनका तीन दल; नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच एउटा समझदारी बनेको थियो ।

समझदारीमा सुरूको २ वर्ष नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बीचको एक वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र अन्तिमको दुईवर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख छ ।

त्यसो त समझदारीअनुसार प्रचण्ड अझै १ वर्ष प्रधानमन्त्री पदमा कायम रहनुपर्छ । प्रचण्ड प्रधानमन्त्री बनेको १३ महिना मात्रै पूरा भएको छ । तर, समझदारीअनुसार प्रचण्डको कार्यकाल डल्लै बाँकी छँदै कांग्रेस नेताहरूले भने अब माधवकुमार नेपालाई प्रधानमन्त्री बनाइहाल्नुपर्ने बताउन थालेका छन् । यसबारे माओवादी केन्द्रभित्र अनौपचारिकरूपमा नेताहरूका बीचमा छलफलसमेत सुरू भएको छ ।

जसै, कांग्रेसकै संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला, गगनकुमार थापालगायतले सार्वजनिकरूपमै सरकार (पुष्पकमल दाहाल ‘प्रचण्ड’) को विकल्प खोज्नुपर्ने बताउँदै नै आएका छन् । तर, त्यसमा सभापति शेरबहादुर देउवाले केही प्रतिक्रिया दिने गरेका छैनन् । तर, अहिले आएर सभापति देउवाकै विश्वासपात्र र उनीनिकटका नेताहरूले नै यसरी सार्वजनिकरूपमा बोल्न थालेपछि माओवादी केन्द्रका नेताहरूले अनौपचारिकरूपमा असन्तुष्टि पोख्न थालेका छन् ।

कांग्रेसका कतिपय नेताहरू समझदारीलाई बेवास्ता गर्दै बोल्ने गरेको उल्लेख गर्दै माओवादी नेताहरूले त्यसको समीक्षा हुनुपर्ने बताउने गरेका छन् ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ यसबारे आफूलाई आधिकारिकरूपमा सूचना प्राप्त नभएको तर, समाचारहरूमा देखेको बताउँछन् । “समाचारहरूमा देखेको थिएँ । मलाई थाहा हुने कुरा भएन । उहाँहरूले कसरी र किन बोल्नुभयो,” उनले भने ।

तर, जिम्मेवार नेताहरूले नै त्यसरी बोलिदिँदा गठबन्धनका लागि राम्रो नहुने भनाइ उनको छ । “जिम्मेवार नेताहरू नै त्यसरी बोलिदिँदा जनतामा पनि राम्रो सन्देश जाँदैन । गठबन्धनलाई पनि राम्रो गर्दैन,” महासचिव गुरुङले भने ।

माओवादीकै अर्का पदाधिकारी भने अलिक कडारूपमा प्रस्तुत हुन्छन् । गठबन्धनको सरकार सबै लागेर सफल बनाउनुपर्नेमा उल्टै सकारले केही गरेन भन्नु अस्वाभाविक र अराजनीतिक भएको उनको भनाइ छ ।

“गठबन्धनको सरकार छ । ती नेता साथीहरूले चाहिँ सरकारले केही गरेन भनेर हिँड्नुहुन्छ । अनि सरकारमा त उहाँहरूकै मन्त्री अझ धेरै हुनुहुन्छ नि त्यसोभए त । उहाँहरूले अराजनीतिक बोली बोल्नुभयो,” ती पदाधिकारी भन्छन्, “उहाँहरूले समझदारीअनुसार भनेर भन्नुभएको रहेछ । समझदारीअनुसार नै भए त अहिल्यै कसरी प्रचण्ड प्रधानमन्त्रीबाट हट्न मिल्छ ? भर्खर एक वर्ष हुँदै छैन र ?”

तर, कांग्रेस नेताहरूले भने दुई नेताले बोलेको कुरालाई व्यक्तिगतरूपमा बुझ्नुपर्ने बताउँछन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका नेता मीनबहादुर विश्वकर्मा भन्छन्, “उहाँहरूले बोलेको मैले पनि थाहा पाएँ । त्यसलाई संस्थागतरूपमा नबुझीकन व्यक्तिगतरूपमा बुझ्नुपर्छ । कांग्रेसमा एउटै कुरा जहाँ पनि बोल्नुपर्छ भन्ने छैन । त्यसकारण नेताहरूले आफ्नै ढङ्गले कतिपय कुराहरू बोल्नुहुन्छ ।”

अगाडि उनले भने, “कांग्रेसमा कम्युनिष्ट पार्टीहरूमा जस्तो एउटा नेताले बोलेकै कुरा अर्को नेता पनि बोल्नुपर्छ भन्ने छैन उहाँहरूले बोल्नुभएको कुरा अप्रासङ्गिकचाहिँ होइन, तर त्यो आधिकारिक धारणा भने होइन ।”

विमलेन्द्र-शशांकनिकटका नेताहरूले भने वर्तमान सरकारसँग जनता खुसी नभएको र आफ्ना नेताहरूले त्यो मात्रै बोलेको जिकिर गर्छन् । विमलेन्द्रनिकट एक नेता भन्छन्, “विमल दाइले असही बोल्नुभयो भन्ने लाग्दैन । उहाँले जे हो, त्यही बोल्नुभएको हो । लौ तपाईं नै भन्नुस् न, अहिलेको सरकारसँग जनता खुसी छन् त ? समस्या कहाँबाट कहाँ पुग्यो, त्यो त सबैलाई थाहा नै छ। देखिरहेकै छौँ ।”

विमलेन्द्र-शशांकले पनि काठमाडौंबाहिर गएर यही बोलेका थिए । क्रमश: दाङ-नवलपुरमा फरक मितिमा बोलेका उनीहरूले भनेका थिए— वर्तमान सरकारसँग जनता खुसी छैनन् । अब यसको विकल्प खोज्नुपर्छ, समझदारीअनुसार माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार चम्पादेवी कार्कीलाई कांग्रेसले नै हराएको ठहरसहित बसिरहेका प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमलेन्द्र-शशांकको अभिव्यक्तिलाई पनि गम्भीररूपमा लिएको निकटस्थहरू बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved