पुलिसको अपराजित यात्रा कायमै, कर्णाली ६ विकेटले पराजित

नेपालभ्युज

पुलिसको अपराजित यात्रा कायमै, कर्णाली ६ विकेटले पराजित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रालाई छैठौं खेलसम्म निरन्तरता दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पुलिसले कर्णालीलाई ६ विकेटले पराजित गरेको छ। योसँगै शीर्ष स्थानमा कायम रहेको पुलिसले ६ खेलबाट १२ अंक बनाएको छ। कर्णालीको भने यो चौथो हार हो । कर्णाली ७ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ ।

१७२ रनको मध्यम लक्ष्य पुलिसले २३.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।  पुलिसका लागि दिलिप नाथले उल्लेख्य पारी खेले। दिलिप ६२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ७५ रनमा अविजित रहे।  कुशल भूर्तेलले ४३ र कप्तान दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए।

कर्णालीका लागि प्रकाश जैसीले २ तथा दिवान पुन र दिपेन्द्र रावतले १–१ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको कर्णाली ४२.५ ओभरमा १७१ रनमा अलआउट भएको थियो। कर्णालीका लागि निश्चल रावलले अर्धशतकीय पारी खेले। उनले १०७ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए। कप्तान रविन्द्र शाहीले ४० र अर्जुन घर्तीले २३ रन बनाए। कर्णालीका ५ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका सागर ढकालले ३, ललित भण्डारीले २ तथा कुशल भूर्तेल, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved