जसपा भर्सेज जनमत : मधेसमा वर्चस्व स्थापित गर्ने सङ्घर्ष

पृष्ठभूमिमा जे-जस्तो घटना-परिघटनाहरू घटे पनि समग्रतामा जसपा-जनमतबीचको ‘वार’ मधेसमा को स्थापित हुने भन्ने मुख्य विषय रहेको विश्लेषक बताउँछन् ।

जसपा भर्सेज जनमत : मधेसमा वर्चस्व स्थापित गर्ने सङ्घर्ष

काठमाडौं । पछिल्लो संसदीय निर्वाचनमा सप्तरी- २ मा २०६२/६३ यता एकछत्र राज गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष  उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले १८ हजार ६३ मतान्तरले पराजित गरे ।

जसपा र जनमतबीच खासगरी यसपछि नै दलीय तिक्तता चुलिँदै आयो । राउत संसद् छिरेको ६ महिनापछि यादव पनि छिरे । २०८० वैशाख १० मा भएको उपनिर्वाचनमार्फत यादव बारा- २ बाट संसद् छिरे । आपसी तिक्तता भएपनि यसपछि यादव-राउत केन्द्रीय तथा प्रादेशिक सत्ता गठबन्धनमा सँगसँगै रहे ।

अहिले पनि केन्द्रीय सत्ता गठबन्धनमा त सँगै छन् ।  तर, दुवै दलको वर्चश्व भएको मधेस प्रदेशमा भने उनीहरू छुट्टिए । केही दिन अगाडिसम्म उनीहरू दुवै सत्तापक्षको हैसियतमा थिए । तर, अहिले जनमतका मन्त्रीहरू सरकारबाट बाहिरिसकेका छन् भने जनमत विपक्षी बेञ्चमा पुगेको छ ।

यसको पृष्ठभूमिमा मधेस कृषि विश्वविद्यालयको प्रसङ्ग जोडिन्छ ।

जनमतको विरोधका बीच यादवले मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास गरे । राजविराज नगरपालिका १३ मा रहेको उक्त विश्वविद्यालय राउतको क्षेत्रमा पर्छ । यादवले भवन शिलान्यास गरिरहँदा प्रहरी र जनमत कार्यकर्ताहरूबीच झडपसमेत भयो । जहाँ जनमतका तर्फबाट प्रदेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री रहेका महेशप्रसाद यादवको टाउकोमा गहिरो चोट लाग्‍यो ।

जनमतले भने यादव बाराको जनप्रतिनिधि रहेको र सप्तरीमा बन्ने विश्वविद्यालयसँग उनको कुनै सम्बन्ध नरहेको भन्दै विरोध गरेको थियो । जनमत प्रवक्ता शरदसिंह यादवले नेपालभ्यूजसँग भने, “उहाँ (उपेन्द्र यादव) बाराको जनप्रतिनिधि हुनुहुन्छ । न उहाँ राज्यको कुनै राजकीय पदमा हुनुहुन्छ न यहाँको प्रतिनिधि नै । हामीले बरु प्रधानमन्त्री वा शिक्षामन्त्रीबाट शिलान्यास हुँदा हुन्छ भनेका थियौँ । शिक्षामन्त्री (अशोक राई) त अझ जसपाकै हुनुहुन्छ ।”

तर, यादवले गौर हत्याकाण्डको पुनरागमन गर्न खोजेको आरोप प्रवक्ता यादवको छ । भन्छन्, “त्यहाँ नदेखिकन भाला, खुकुरीदेखि हात-हतियार नै लिएर जसपा कार्यकर्ताहरू खटिएका थिए । तर, जनमत कार्यकर्ताहरूले त्यो बुझेर जोगिए । धन्न !”

जसपा-जनमत तिक्तताको शृङ्खला यत्तिमात्रै होइन । राज्य पुनर्संरचनापछि निर्वाचित पहिलो प्रदेशसभा (मधेस) मा पनि पाँचैवर्ष जसपाकै सरकार थियो भने अहिले पनि जसपाकै सरकार छ । जसपा नेतृत्वको प्रदेश सरकारले निरन्तर ब्रह्मलुट मच्चाएको आरोप जनमतको छ ।

“मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ, साइकलदेखि सरकारले सञ्चालन गर्ने योजनाहरूमा जसपा नेतृत्वको सरकारले ब्रह्मलुट मच्चाउँछ र त्यसविरुद्ध हामीले खबरदारी गर्छौँ । त्यहीँबाट दलीय तिक्तता सुरू हुन्छ” प्रवक्ता शरदसिंह यादव भन्छन् ।

तर, जसपा नेताहरू भने जनमत पूर्वसहमतिअनुरूप नचलेको बताउँछन् । जसपा प्रवक्ता मनिष सुमन नेपालभ्यूजसँग भन्छन्, “सहमतिअनुरूप नचल्नेहरूसँग कुनैखाले सहमति/समझदारी हुँदैन ।”

मधेस सरकारका सन्दर्भमा पनि जनमतको कदम त्यस्तै भएको तर्क प्रवक्ता सुमनको छ । “मधेसमा केही भएको छैन । सबै कुरा ठीक छ । यत्तिकै हो-हल्ला भएको छ । सरकारमा रहन मन भए रहँदा भयो, बाहिरन मन भए बाहिरँदा भयो,” उनी भन्छन् ।

तर, जसपा नेतृत्वको सरकारले आफूहरूलाई हेपेर व्यवहार गरेको जनमत नेताहरूको दाबी छ । जनमतका उपाध्यक्ष अब्दुल खानले यही कारण आफूहरू सरकारबाट बाहिरन बाध्य भएको सुनाउँछन् ।

मधेसमा को स्थापित हुने भन्ने ‘वार’ !

पृष्ठभूमिमा जे-जस्तो घटना-परिघटनाहरू घटे पनि समग्रतामा जसपा-जनमतबीचको ‘वार’ मधेसमा को स्थापित हुने भन्ने मुख्य विषय रहेको विश्लेषकहरू बताउँछन् ।

त्यसो त मधेसमा मूलत: जसपा र जनमत नै ठूला पार्टीहरू हुन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पछिल्लो निर्वाचनबाट झनै खुम्चिएको छ । राष्ट्रिय दलको मान्यता नै गुमाएको उसको राजनीतिक हैसियत मधेस प्रदेशमा मात्रै होइन, केन्द्रमा पनि टिठलाग्दो छ ।

बारम्बार टुटफुटको स्थितिबाट गुज्रिएका पुराना पार्टीहरू एकपछि अर्को गर्दै अस्तित्व नै गुमाउने अवस्थामा पुगेपछि मधेसमा मुख्यगरी जसपा-जनमतबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । पछिल्लो निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएपछि जनमतले मधेसमा जसपालाई राम्रैसँग टक्कर दियो । प्रतिस्पर्धाको तहमा उक्लिएपछि यी दुई दलबीच सङ्घर्ष चर्कियो । यद्यपि राजनीतिक सङ्घर्ष भने पहिल्यैदेखि नै थियो ।

निर्वाचनमा कुनै पनि गठबन्धनमा नरहेको राउत स्वयम्‌‌‌ले यादवलाई हराउँदा उनको दल जनमतले मधेसमा अप्रत्यासित मत पायो । प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिटसहितको पार्टी बन्दा जसपाले १६ सिट (प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ ७ सिट) मात्रै हात पार्‍यो ।

तर, लोकप्रिय मत (समानुपातिक) तर्फ जनमतले जसपालाई उछिन्यो । जनमतले तीन लाख २९ हजार १७७ (१६.८६ प्रतिशत) मत ल्याउँदा जसपाले दुई लाख ९८ हजार ७७४ (१५.३ प्रतिशत) मात्रै मत पायो । जनमतभन्दा धेरै सिट एमाले र कांग्रेसले मात्रै प्राप्त गरे ।

यसपछि जसपा-जनमतसँग झस्किएको छ । त्यसो त पछिल्लो समय मधेसमा यादवभन्दा राउतको लोकप्रियता चुलिँदो छ । विखण्डकारी र विध्वंसकारी पृष्ठभूमिबाट आएपनि मूलधारको राजनीतिक बाटो समाएपछि राउतसँग मधेसले धेरै नै अपेक्षा गरेको छ भनेर बुझ्न सकिन्छ । राजनीतिक बाटो स्पष्ट भइनसके पनि जनमत अब मधेसको जबरदस्त शक्तिको रूपमा स्थापित भएको राजनीतिक विश्लेषक सीकेलाल बताउँछन् ।

“अब कसैले स्वीकारे पनि, नस्वीकारे पनि जनमत मधेसको एउटा जबरदस्त शक्ति हो । पछिल्लो निर्वाचनले यो स्थापित गरेको छ,” उनी भन्छन् ।

त्यसो त सहभागी भएको पहिलो निर्वाचनमै राष्ट्रिय दल बनेको सत्य हो । मधेसमा मात्रै ‘फोकस्ड’ भइ चुनावमा सहभागी भएर राष्ट्रिय दल बन्नु चानचुने कुरा नभएको विश्लेषकहरूले बताउने गरेका छन् ।

त्यसो त जसपा भने मधेसकेन्द्रित दल नभएको बुझाइ विश्लेषक सीकेलालको छ, भन्छन्,”बाहिर पनि सङ्गठन बनाउने भनेर लाग्यो । तर, सकेन र फेरि मधेस नै फर्कियो । त्यसैले ऊ मधेसकेन्द्रित होइन, मधेसआश्रित दल हो । उसको नेतृत्वप्रति जनताहरू आश्वस्त छैनन् ।” हुन पनि जसपा नेताहरू आफ्नो पार्टीलाई मधेसकेन्द्रित दल भन्न हिच्किचाउँछन् ।

मधेसको राजनीतिका जानकार हरेराम ठाकुरको बुझाइमा मधेस आन्दोलनबाट उदाएका जसपा अध्यक्ष यादवलाई टक्कर दिने नेताका रूपमा अब जनमत अध्यक्ष राउत ‘फ्रन्ट’मा देखा परेका छन् ।

“तराईको राजनीति पहिले जमिनदारी र ठाठू प्रवृत्तिको थियो । त्यसमा विस्तारै परिवर्तन आएको छ, जनता सुझबुझयुक्त भएका छन् । अब यहाँ विरासतको राजनीति चल्दैन भन्ने देखिएको छ । अन्तत: मधेसमा कुन दल स्थापित हुने भन्ने हो,” ठाकुर भन्छन् ।

जसपा-जनमतबीचको राजनीतिक टकराव मधेसमा को स्थापित हुने भन्नेबारेको ‘वार’ रहेको कुरामा ठाकुर सहमत हुन्छन् । “मुख्यगरी त्यही नै हो । अहिलेको प्रतिस्पर्धा पछिको स्पेश बनाउने कुरा हो,” उनी भन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved