राममन्दिर प्राण प्रतिष्ठामा नेपालबाट १५ जना अयोध्या जाँदै, पूर्वराजा ज्ञानेन्द्रलाई आएन निम्तो

अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ राम रोशन दास मुख्य छन् । उनीहरुलाई सबैभन्दा पहिले निम्तो प्राप्त भएको थियो । सीताको माइतीबाट जाने उनीहरुलाई विशेष सम्मानसाथ राखिने बताईएको छ ।

नेपालभ्युज

राममन्दिर प्राण प्रतिष्ठामा नेपालबाट १५ जना अयोध्या जाँदै, पूर्वराजा ज्ञानेन्द्रलाई आएन निम्तो

काठमाडौं । भारतको अयोध्यामा राममन्दिर प्राण प्रतिष्ठाका लागि जोडतोडका साथ तयारी चलिरहेको छ । आगामी सोमबार (डिसेम्बर २२ तारिख) मा हुने प्राण प्रतिष्ठामा सहभागी हुन नेपालमा क-कसलाई निम्तो आएको छ भन्ने अहिले चासो छ ।

उक्त विशाल कार्यक्रममा सहभागिताका लागि नेपालमा १५ जनालाई निम्तो आएको नेपालभ्यूजले पत्ता लगाएको छ । यसरी निम्तो पाउनेमा अधिकांश धर्मगुरु र धार्मिक सङ्गठनसँग सम्बन्धित व्यक्ति छन् ।

हिन्दू सम्राट भनेर प्रचार गरिने पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने उक्त कार्यक्रममा सहभागी हुन निम्ता दिइएको छैन ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका तर्फबाट नेपालका १५ जना प्रमुख सन्त-महन्थलाई निमन्त्रणा पठाइएको पुष्टि भएको छ । उनीहरूलाई विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय सङ्गठन सचिव प्रल्हाद रेग्मीले लिएर जाने कार्यक्रम छ । परिषद्का पदाधिकारीले निम्ता कार्ड वितरण गरिसकेका छन् ।

अयोध्याबाट निम्ता पाउनेमा जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र उत्तराधिकारी महन्थ राम रोशन दास मुख्य छन् । उनीहरूलाई सबैभन्दा पहिले निम्तो प्राप्त भएको थियो । सीताको माइतीबाट जाने उनीहरूलाई विशेष सम्मानसाथ राखिने बताइएको छ ।

चतराधाममा बस्ने जगदगुरु बालसन्त मोहन शरण देवाचार्यलाई पनि निमन्त्रणा आएको छ । यस्तै देवघाटमा रहेको हरिहर सन्न्यास आश्रमका पीठाधिश स्वामी ज्ञानानन्द सरस्वतीसहित तीन जनालाई निमन्त्रणा पठाइएको छ ।

पशुपतिनाथ मन्दिरका मूलभट्ट रावल गणेश भट्टलाई पनि विशेष निमन्त्रणा छ । रावललाई पनि भारतभरिबाट आउने प्रमुख साधु सन्तका प्रमुखको स्थानमा राखिने बुझिएको छ ।

बूढानीलकण्ठ मन्दिरका पीठाधिश स्वामी निगमानन्दलाई पनि निमन्त्रणा आएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु क्षेत्री र कोषका पूर्वसदस्य रमेश उप्रेतीलाई पनि अयोध्याबाट निम्ता आएको छ ।

ट्रष्टका महासचिव चम्पत रायले हस्ताक्षर गरेको निमन्त्रणापत्र सबैले पाइसकेका छन् । उनीहरू सबैलाई यहाँबाट अयोध्या लगेर जनवरी २३ तारिखमा राममन्दिरमा दर्शन गराउनेगरी कार्यक्रम तयार भएको छ । परिषद्का तर्फबाट आउने, जाने बस्ने खाने सवै खर्च हुने बताइएको छ ।

यो पनि पढ्नुहोस:

राममन्दिर प्राण प्रतिष्ठाका दिन भारतले आधा दिन छुट्टी दिने, यसरी पुनर्स्थापना भयो मन्दिर

राम मन्दिरको गर्भगृहमा राख्न अयोध्या लगिएका नेपालका दुई शिला अलपत्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved