राम मन्दिरको गर्भगृहमा राख्न अयोध्या लगिएका नेपालका दुई शिला अलपत्र

नेपालबाट अयोध्या लगिएका २४ टन र १४ टनका दुईवटा शिला अलपत्र परेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका शिला निकै कडा भएकाले आकार दिन नसकिने ठहर गरेपछि कर्नाटकको शिलाबाट मूर्ति बनाउन लागिएको हो । 

नेपालभ्युज

राम मन्दिरको गर्भगृहमा राख्न अयोध्या लगिएका नेपालका दुई शिला अलपत्र

काठमाडौं । भारतको उत्तरप्रदेशमा रहेको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा राख्ने प्रयोजनका लागि माघको दोश्रो साता नेपालको कालीगण्डकीबाट दुईवटा भव्य शिला लगिएको थियो । मन्त्रिपरिषदबाट पारित गराएर भौगर्भिक अध्ययनपछि लगिएका शिलालाई नेपाली र भारतीय भूमि अयोध्या नपुगुन्जेल भव्य स्वागत गरिएको थियो ।

तर, अब नेपालबाट लगिएका शिला प्रयोगमा नआउने निश्चित भएको छ । माघ १८ गते अयोध्या पुगेका शिलाबाट राम मन्दिरको गर्भगृहमा रामको बाल्यकालीन मूर्ति बनाउने भनिएको थियो । पछिल्लोपटक कर्नाटकबाट ल्याइएका शिलाबाट रामलीलाको मूर्ति बनाउने काम भइरहेको छ ।

नेपालबाट अयोध्या लगिएका २४ टन र १४ टनका दुईवटा शिला अलपत्र परेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका शिला निकै कडा भएकाले आकार दिन नसकिने ठहर गरेपछि कर्नाटकको शिलाबाट मूर्ति बनाउन लागिएको हो ।

ती शिला (शालिग्राम) गण्डकी प्रदेश सरकारका तर्फबाट जानकी मन्दिर हुँदै गोरखपुर पुगेर माघ १८ गते अयोध्या पुर्‍याइएको थियो । माघ १९ गते विधिवतरूपमा पूजाआजासहित जनकपुर मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई ती शिला हस्तान्तरण गरेका थिए ।

निर्माणाधीन राम मन्दिरको गर्भगृहमा श्रीरामको बालरूप झल्किने मूर्ति नेपालको शिलाबाट बन्ने खबरले कालीगण्डकी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा थियो । अयोध्या र जनकपुरको सम्बन्ध फेरि जोडिने र त्यसले नेपाल भारत सम्बन्धको सांस्कृतिक आयाममा ठूलो योगदान पुग्ने विश्वास थियो । तर, यो विश्वासमा तुषारापात भएको छ ।

मन्त्रिपरिषद् बैठकले पुस २ गते कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो । गिटी ढुंगा निकासीमा प्रतिबन्ध लगाउने सरकारी निर्णय दुईवटा शिलाको हकमा फुकुवा भएको थियो । नेपाल र भारतका विज्ञको टोलीले कालीगण्डकीमा एक सयभन्दा बढी शिलाबाट दुईवटा छानेका थिए । माघ १ गते शिलाको क्षमापूजा गरिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा शिला हस्तान्तरण गरेका थिए । शिला लिएर जनकपुरका महन्थ राम तपेश्वर दास जनकपुर हुँदै अयोध्या पुगेका थिए । साथमा कांग्रेस नेता विमलेन्द्र निधि पनि परिवारै सामेल थिए ।

शिला लैजानु अगाडि भौगर्भिक अध्ययन गरेका डा. कुलराज चालिसे मूर्तिकार पहिले छनोट नहुँदा यो समस्या आएको बताउँछन् । मूर्तिकारले नेपालको शिला निकै कडा भएको र काट्नका लागि हिरा नै चाहिने भएको साथै अर्कातिर समयको चाप भएकाले यस्तो अवस्था आएको बताउँछन् ।

चालिसे भन्छन्, ‘पहिले मन्दिरको ट्रस्टले भने अनुसार नै हामीले शिला पठाएका हौं तर मूर्तिकारले यी शिलामा मूर्ति बनाउन नसकिने बताएपछि परिवर्तन गरेर कर्नाटकको शिलाबाट बनाउन लागिएको भन्ने सुनिएको छ । यसमा हाम्रो कुनै कमजोरी छैन । उहाँहरूले मागे अनुसारकै हामीले पठाएका हौं । मूर्तिकार पहिले छनोट गरेर शिला खोज्नुपर्नेमा पछि समस्या आएको बुझिएको छ ।’

नेपालबाट गएका शिला अब फिर्ता ल्याउन सरकारी तहबाटै पहल गर्नुपर्ने चालिसेले सुझाव दिएका छन् ।

राम मन्दिरको निर्माण मार्च २०२० देखि हुँदै आएको छ । राम मन्दिर ७० एकड जमिनमा ३६० फिट लम्बाइ, २३५ फिट चौडाइ र १६१ फिट अग्लो बन्दैछ । मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा गर्भगृह रहनेछ । भुइँतलामा गर्भगृह हुनेछ । पहिलो तलामा राम दरबार निर्माण हुँदैछ ।

जनवरी २०२४ मा राम मन्दिरको उद्घाटन हुने र दर्शनार्थीका लागि खुला गर्ने तयारी छ । राम मन्दिर र कम्पाउन्ड निर्माणका लागि करिब २० अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले सरकारबाट रकम लिएको छैन । भक्तजनबाट ३२ अर्ब रुपियाँ भन्दा बढी संकलन भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved