सिटौला राष्ट्रियसभा अध्यक्ष कि गृहमन्त्री ?

नेपाली कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल लगभग पक्का गरिसकेका छन् ।

नेपालभ्युज

सिटौला राष्ट्रियसभा अध्यक्ष कि गृहमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल लगभग पक्का गरिसकेका छन् ।

माघ ११ गते हुने आसन्न राष्ट्रियसभा निर्वाचनमा उनको जित पक्कापक्कीजस्तै देखिन्छ । किनकि यसपटकको राजनीतिक समीकरणअनुसार सत्तारूढ गठबन्धनकै पल्लाभारी देखिन्छ ।

सिटौलाले कोशी प्रदेशबाट उम्मेदवारी दिएर पनि निर्वाचनको माहोल बनाइरहेका छन् । उनै सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने चर्चा छ । वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि आगामी फागुन २० गते नै सकिँदैछ । यसपछि अध्यक्षमा सिटौलाको चर्चा गर्ने गरिएको छ ।

उनीनिकट मानिएका एक नेता भन्छन्, “उहाँ (कृष्णप्रसाद सिटौला) राष्ट्रियसभा अध्यक्ष बन्नुहुन्छ । पार्टीले अघि बढाएकै त्यसकै लागि हो । राष्ट्रिय सभाको आफ्नै गरिमा छ । उहाँको व्यक्तित्व त्यो गरिमासँग मिल्छ पनि ।”

ती नेता त सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने कुरामा गठबन्धनले पनि नरोक्ने दाबी गर्छन् । “यो गठबन्धनबाट सिधै पास हुने विषय हो । गठबन्धनका कुनै दलले त्यसमा तगारो हाल्दैनन् भन्ने लाग्छ,” ती नेताको विश्वास छ ।

तर, सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पनि अध्यक्षमा दाबी गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ भन्छन्, “अध्यक्ष को बन्ने भन्नेबारे छलफल प्रारम्भ नै भएको छैन । छलफल हुन्छ । अहिल्यै पात्रको विषयमा कुरा गर्नु ठीक हुँदैन । उपयुक्त पात्रलाई अध्यक्ष बनाउने कुरा हुन्छ ।”

तर, कतिपयले भने सिटौला गृहमन्त्री बन्ने बताउँछन् । यसअघि पनि एकपटक गृहमन्त्री बनिसकेका उनी फेरि बन्ने भनाइ कतिपय कांग्रेस नेताहरूकै छ ।

अहिले राष्ट्रिय सभामै रहेका नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन् । उनी उपप्रधानसहित गृहमन्त्री बनेको झन्डै १ वर्ष नै पुग्न लागिसकेको छ । उनीसँग सिटौलाको दल नेपाली कांग्रेस खुसी छैन । श्रेष्ठसँग खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा नै खुसी छैनन् । उनले गृहमन्त्री श्रेष्ठलाई यसअगावै हटाउन चाहन्थे । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिराखेका हुन् ।

कांग्रेस खासगरी नेता बालकृष्ण खाणलाई पक्राउ गरेको घटनायता खुसी छैन । उस्तै-उस्तै प्रकृतिका मुद्दामा नेता खाण पक्राउ परेको तर, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई उन्मुक्ति दिइएको भन्दै कांग्रेस नेताहरूले यसअघि नै गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यही मौका पारेर सिटौलालाई गृहमन्त्री बनाउने चर्चा कांग्रेसमा छ । त्यसो त यसबीचमा गृहमन्त्री श्रेष्ठ अस्वस्थ भए । चीनको एक कार्यक्रममा सहभागी हुन गएका उनलाई हृदयघात भयो र एक हप्तापछि डिस्चार्ज भएर स्वदेश फर्किएका उनलाई कम्तिमा दुई हप्ता काम नगर्न चिकित्सकहरूको सल्लाह थियो ।

त्यहीबीच नेपालको सुरक्षा संयन्त्र कमजोर बनेको विश्लेषण एकथरिले गरे । कतिपय कांग्रेस नेताहरूले यी नै विषयहरूलाई ठूलो बनाएर गृहमन्त्री श्रेष्ठलाई हटाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएका छन् ।

सिटौला गृहमन्त्री बन्छन् त ? प्रश्नमा एक कांग्रेस नेता भन्छन्, “उहाँ गृहमन्त्री हुनका लागि अयोग्य त होइन । तर, अहिलेको लागि उहाँको स्थान त्यो होइन होला । सहमतिको कुरा हो । उहाँ बन्न पनि सक्नुहुन्छ ।”

नेपालभ्यूजले स्वयम् सिटौलालाई पनि तपाईंको ‘टार्गेट’ के हो भनेर सोधेको थियो । त्यत्ति बोल्न नरुचाएका उनले भने, “मैले भनेर पाउने पनि होइन । पार्टी र गठबन्धनको निर्णय मान्छु ।”

उनीनिकट नेताहरूले बताएअनुसार उनले राष्ट्रियसभा अध्यक्ष नै बन्न चाहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved