बुक रिभ्यू

जयशंकरको नयाँ किताबमा भारतको ‘शक्ति-गाथा’ ‘न्यू इन्डिया’ अर्थात् ‘अझ बढी भारत’ को दाबी

जयशंकरको जोड सधैँ यस बिन्दुमा केन्द्रित देखिन्छ कि भारतमा भारतीय जनता पार्टीको सत्तोदय र प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकाल ‘एक अनिश्चित र अपूर्वानुमानीय विश्वको दौरान’ मा भएको छ । तर, यस्तो ‘अनिश्चिता’ र ‘अपूर्वानुमानीयता’ भारतीय उदयको अवसर हुन सक्दछ ।

जयशंकरको नयाँ किताबमा भारतको ‘शक्ति-गाथा’ ‘न्यू इन्डिया’ अर्थात् ‘अझ बढी भारत’ को दाबी

भारतीय विदेशमन्त्री एस जयशंकरको नयाँ किताब हालै बजारमा आएको छ– ह्वाई भारत म्याटर्स । स्मरणीय छ कि अंग्रेजीमा ‘इन्डिया’ लेख्ने आम प्रचलनको साटो उनले किताबको नाम मै ‘भारत’ शब्द प्रयोग गरेका छन् ।

भारतीय राजनीतिमा ‘इन्डिया’ भर्सेस ‘भारत’ संकथनको जुन लामो तर, सुषुप्त मनोवैज्ञानिक संघर्ष थियो– विपक्षी दलको ‘इन्डिया’ गठबन्धन र एस. जयशंकरको ‘भारत म्याटर्स’ सम्म आइपुग्दा त्यसले एक नयाँ मोड वा उचाइ हासिल गरेको अनुमान गर्न सकिन्छ ।

‘भारत भाष्य’ को परिप्रेक्ष्यमा जयशंकरका विचार, सोच, दृष्टिकोण र रणनीतिक योजनाको महत्त्व नि:सन्देह उच्च रहन्छ । उनी वर्तमान सरकारका विदेशमन्त्री मात्र हैनन्, अमेरिका, चीनजस्ता भारतका लागि विशेष रणनीतिक महत्त्व राख्ने देशको राजदूत रहिसकेका लामो समयदेखिका ‘करिअर डिप्लोम्याट’ पनि हुन्, विदेशमन्त्री हुनुअघि परराष्ट्र सचिव थिए ।

भारतीय राजनीति र कूटनीतिको अन्तर्सम्बन्धलाई पछिल्लो दशकमा नजिकबाट नियालेका मात्र छैनन्, अभ्यास गरेका छन् ।

जयशंकरको ‘नेपाल नेक्सस’ पनि उत्तिकै बलियो छ । उनी नेपालको दोस्रो संविधानसभाबाट नयाँ संविधान- २०७२ घोषणा गर्नु केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल आएका थिए ।

त्यसपछिको केही महिना नेपाल–भारत सम्बन्ध नराम्ररी चिसियो । त्यस घटनाक्रमका अन्तर्यमा के थिए ? यद्यपि कतिपय प्रश्न अनुत्तरित छन् । भर्खरै उनी नेपाल भ्रमणबाट फर्किएका छन् ।

एस. जयशंकरका ११ निबन्धको संकलन हो यो पुस्तक । पुस्तकमा उनले समकालीन विश्व राजनीति, अर्थतन्त्र र भूराजनीतिमा भारतले कहाँनेर, के-के कारणले किन विशेष महत्त्व राख्दछ र भारत कसरी एक ‘उदियमान विश्व शक्ति’ हो भन्ने कोणबाट विशद विवेचना गरेका छन् ।

जयशंकरको जोड सधैँ यस बिन्दुमा केन्द्रित देखिन्छ कि भारतमा भारतीय जनता पार्टीको सत्तोदय र प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकाल ‘एक अनिश्चित र अपूर्वानुमानीय विश्वको दौरान’ मा भएको छ ।

तर, यस्तो ‘अनिश्चिता’ र ‘अपूर्वानुमानीयता’ भारतीय उदयको अवसर हुन सक्दछ । जस्तो कि दोस्रो विश्वयुद्ध ताकाको युरोपेली ‘धुरी तथा मित्र राष्ट्र’ हरूको संघर्षले अमेरिकी उदयको आधार तयार गरेको थियो ।

एस. जयशंकरले यो कुरा कतै लुकाएका छैनन् कि उनी विश्व सन्दर्भमा अमेरिका र चीनलाई समकालिन ‘ग्रेट पावर’ र भारतलाई ‘राइजिङ पावर’ मान्दछन । अमेरिका र चीन, दुई ठूला महाशक्तिबीचको तीखो शक्ति-संघर्षले उदयमान शक्तिले चुनौती र जोखिमलाई मात्र हैन सम्भावना र अवसरलाई समेत बढाउँछ भन्ने उनको विश्वास छ । समकालीन विश्व जति ‘अनिश्चित’ छ, भारतीय भूमिकाको विस्तारका लागि उत्तिकै अवसरपूर्ण भन्ने बुझाइबाट वर्तमान भारतीय संस्थापन पक्षको विदेश नीति र कूटनीतिक सम्बन्ध सञ्चालित भएको सहजै बुझ्न सकिन्छ ।

तीन वर्षअघि उनले ‘द इन्डिया वेः स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्ड’ लेखेका थिए । त्यस पुस्तकमा उनले प्रस्तावित र भारतीय संस्थापन पक्षले अभ्यास गर्न चाहेको विदेश मामिला रणनीति–‘अमेरिकासँग संलग्न हुने, चीनलाई व्यवस्थापन गर्ने, युरोपलाई उपजाउ बनाउने, रुसलाई आश्वस्त पार्ने, जापानलाई खेलमा तान्ने, छिमेकीलाई भित्र राख्ने, छिमेकीपन विस्तार गर्ने र परम्परागत समर्थन क्षेत्र बढाउने’ थियो ।

नयाँ पुस्तकमा उनले यी सबै मोर्चामा उत्तिकै उपलब्धि नभएको स्वीकार गर्दछन् । यसबीच कतिपय सम्बन्धहरू सोचेभन्दा जटिल बन्न पुगेको अनुभूति उनलाई भएको छ ।

उनी भन्छन् कि विदेश सम्बन्धमा अनेक अनपेक्षित घटना क्रम आइरहन्छन् । विदेश नीतिको सार त्यस्ता घटनाक्रम नआइदिउन भनेर कामना गर्नु हैन, बरु त्यसलाई स्फूर्ति, दक्षता र प्रभावकारिताका साथ कसरी सामना गर्न सकिन्छ, त्यो महत्त्वपूर्ण हो ।

जयशंकरले पुस्तकको भूमिका सन् २०११ मा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पहिलो भेटबाट सुरू गरेका छन् । त्यो बेला उनी बेइजिङमा चीनका लागि राजदूत थिए । मोदी गुजरातको मुख्यमन्त्रीका रूपमा चीनको भ्रमणमा गएका थिए । भारतमा ‘युपिए गठबन्धन’ को सरकार थियो । मोदी विपक्षी दलको नेता मानिन्थे । मनमोहन सिंह सरकारको विदेश नीतिलाई अनुशरण गर्नु जयशंकरको कर्तव्य थियो ।

ठीक यही जटिल मोडमा मोदीको सोच र व्यक्तित्वबाट प्रभावित भएको जयशंकरको दाबी छ । उनी भन्छन् कि त्यस्तो बेला मोदीले उनीसँग आफूले चिनियाँ पक्षसँग केके कुरा गर्न उचित हुन्छ वा हुँदैन, भारतका राष्ट्रिय अडान केके हुन् ? विपक्षी नेता भएर पनि आफू राष्ट्रिय हितका सवालबाट बाहिर नजाने र चिनियाँ पक्षसँग भारतीय सरकारका एजेण्डालाई मद्दत पुग्ने गरी कुरा गर्ने भन्दै सल्लाह मागेका थिए ।

त्यो बेला भारतका मुख्य एजेण्डा थिए– सार्वभौमसत्ता र प्रतिआतंकवाद । तिनका अतिरिक्त मोदीले गुजरातको मुख्यमन्त्री हुँदादेखि नै भारतीय हितलाई बुझ्न र विरोधाभास हुन नदिन चाहेको, चिनियाँ भौतिक विकास, आर्थिक वृद्धि र प्रविधिलाई उच्च महत्त्व दिएको उल्लेख छ ।

सन् २०१४ को लोकसभा निर्वाचनपछि मोदी सत्तामा आए । जयशंकर त्यो बेला अमेरिकाका लागि राजदूत थिए । अमेरिकी राजदूतका रूपमा उनले प्रधानमन्त्री मोदी र राष्ट्रपति बराक ओबामाबीच संगति कायम गर्न भूमिका गरेका थिए । जयशंकरका अनुसार भारतीय डायस्पोरा, प्रविधि, लगानी र विकास मोदीको विशेष रुचिका विषय थिए ।

जयशंकर अन्तर्राष्ट्रिय रंगमञ्चमा भारतका पछिल्ला उपलब्धि मोदी शासनकालको विशेष नेतृत्व क्षमताको कारण सम्भव भएको ठान्दछन् । उनलाई लाग्दछ कि प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक बिशिष्ट प्रकारको नेतृत्व र सबैसँग मिल्न सक्ने, केमेस्ट्री मिलाउन सक्ने क्षमता छ । पश्चिमा लोकतान्त्रिक नेतादेखि खाडी क्षेत्रका शासकसँग समेत तालमेल मिलाउन सक्ने मोदी–क्षमताको उनी मुक्तकण्ठले प्रशंसा गर्दछन् ।

देशभित्रको मुद्दा शासनप्रशासनको गुणस्तर, सभ्यताको पुनर्जागरण र बृहत् भौतिक पूर्वाधार, भारतीय परम्परा र आधिकारिकतासँग आधुनिक विज्ञान र प्रविधिको सहज प्रेमालिङ्गन, देशभित्र राष्ट्रवाद र बाहिर अन्तर्राष्ट्रियतावादको संगतिपूर्ण अनुमोदन, लोकतन्त्रप्रतिको आशावादिता– नयाँ इन्डिया अर्थात् अझ बढी भारत ।

जयशंकर समकालिन विश्वमा भारतीय हितको रक्षाको शर्तमा अनिश्चितता बढाउन मुख्य तीन घटनालाई जिम्मेवार ठान्छन् । एक : भारत–चीन सीमा विवाद, दुई :रुस-युक्रेन युद्ध र तीन : पश्चिम एशियाली संघर्ष ।

उनलाई भारतीय विदेश मामिलाको अबको रणनीति ‘गम्भीर अपूर्वमानुमानको दौरान शक्ति उदयको स्थीर योजना’ हुनु पर्दछ भन्ने लाग्दछ । ‘राजनीति, अर्थतन्त्र, जनसांख्यिकी, संस्कृति र सोचको सबल संयोजन भारतीय शक्ति उदयको आधार’ हो भन्ने उनको ठहर छ ।

यी दाबी आधारहीन भने छैनन् । सन् २०२३ मा भारत चीनलाई उछिन्दै संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश बनेको छ । भारतलाई ‘जनसांख्यिक लाभांश’ उपलब्ध हुन थालिसकेको छ । बढ्दो मध्यम वर्ग आकार र उपभोक्ता संख्याको कारण कतिपय बहुराष्ट्रिय कम्पनीको लगानी गन्तव्य अब भारत बन्दैछ । भारतले आर्थिक वृद्धिदरमा समेत चीनलाई उछिनेको छ र यसै बीच विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भइसकेको छ ।

जयशंकरको ‘अस्थीर विश्वमा शक्ति उदयको स्थीर योजना’ आन्तरिक राजनीतिको पनि एक महत्त्वपूर्ण पाटो हो । भारतमा यो वर्ष लोकसभाको चुनाव हुँदैछ । भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको दाबी प्रस्तुत गरिसकेका छन् । सबैभन्दा ठूलो मध्यम वर्ग र विश्वको तेस्रो ठूलो अर्थतन्त्रको दाबीबाट ‘ह्याट्रिक’ को राजनीतिक औचित्य पुष्टि गर्ने महत्वाकांक्षा यससँग अभिन्न रूपमा जोडिएको छ ।

जयशंकरको विचारमा समकालीन विश्व राजनीतिका मुख्य ५ वटा आयाम छन् । भूमण्डलीकरण, पुनर्सन्तुलन, बहुध्रुवीयता, प्रविधि प्रभाव र राष्ट्रहरूका चलखेल । पूर्व-पश्चिम ध्रुवीकरण र उत्तर–दक्षिण विभाजनलाई उनले समानान्तर चुनौती मानेका छन् ।

यी ५ का अतिरिक्त भारतको विदेश नीतिलाई निर्णायक प्रभाव पार्ने एक स्थिर कारण छ– राष्ट्रिय सुरक्षा । उनी भन्छन्–‘राष्ट्रिय सुरक्षा एक यस्तो प्रश्न हो, जसको सम्बन्ध सधै कूटनीतिसँग हुन्छ, यसमा कुनै सम्झौता हुन सक्दैन ।’

भारतका लागि राष्ट्रिय सुरक्षा भनेको के हो ? यो प्रश्नलाई उनले राम्रैसँग पहिचान र परिभाषित गरेका छन् । प्रतिआतंकवाद, चीनसँगको सीमा विवाद र पाकिस्तानसँग जोडिएका प्रश्न पहिलो प्राथमिकतामा छन् ।

दोस्रो–छिमेकी देशसँगको सहज सम्बन्ध । यो डालोमा उनी नेपाल, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्ससँगको सम्बन्धलाई राख्दछन् । सन् २०१५ को बंगलादेशसँगको सीमा सम्झौतालाई यस सन्दर्भमा उल्लेखनीय सफलता मान्छन् ।

भारतीय राष्ट्रिय सुरक्षाको तेस्रो महत्त्वपुर्ण पाटो समुद्र क्षेत्रको सुरक्षा हो । यसका लागि श्रीलंका र मालदिभ्सका अतिरिक्त आशियान, टापु राज्य र सागर क्षेत्रलाई जोड दिएका छन् । मौरिसस र युएईसँगको सम्बन्धलाई विशेष जोड दिन खोजिएको छ ।

राष्ट्रिय सुरक्षाको चौथो महत्त्वपूर्ण आयाम उनको विचारमा देशभित्रको पृथकतावाद, धार्मिक कट्टरतावाद, अतिवाद र साम्प्रदायिकता हो । देशभित्रका यस्ता प्रवृतिलाई विश्व आतंकवादसँग जोडिन दिन नहुने उनले निष्कर्ष निकालेका छन् ।

विदेशमन्त्री जय शंकरको नयाँ पुस्तकको अर्को पाटो ‘मोदी काल–अमृत काल’ मा हासिल विदेश मामिला तथा कूटनीतिक उपलब्धिको विवरण दिनु हो । यसभित्र जी–२० अध्यक्षता र शिखर सम्मेलन, अन्तर्राष्ट्रिय योग दिवस, सन् २०१५ मा कोप–२१ पेरिस बैठकमा सौर्यऊर्जाको पैरवी तथा सौर्यऊर्जा गठबन्धन र विपद् व्यवस्थापन गठबन्धन, मुम्बईको २६-११ को घटना भएको स्थानमै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रतिआतंकवाद कमिटीको बैठक, कोभिड–१९ खोप विश्व अग्रसरता, छिमेकी पहिलो नीतिको प्रयोग, क्वाडमा संलग्नता र आरसीइपीमा असंलग्नता, युद्धका बाबजुद रुससँगको राम्रो सम्बन्ध र तेल खरिद सम्झौता, श्रीलंकालाई आर्थिक संकटबाट निकाल्न सहयोग, १२ यु २ र आइएमइसी (इन्डिया–मिडिल इस्ट–युरोप इकोनमिक करिडोर तथा एशिया–प्यासिफिक इकोनमिक सहकार्य अवधारणा, प्यालेस्टाइन र आतंकवादलाई फरक गरेर बुझ्ने दृष्टिकोण तथा ब्रिक्समा भूमिका विस्तारजस्ता घटनाक्रमको चर्चा छ ।

देशभित्र भने यस अवधिको मुख्य उपलब्धि संविधानको धारा ३७० को खारेजी, नवप्रवर्तन र स्टार्ट–अपलाई जोड, कोभिड लकडाउन अवधिका सीमा क्षेत्रमा विकास योजनाको प्रगति, चन्द्रायन–३ को सफलता र नयाँ लुनर पावरको उदय, विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नु, दीगो विकास लक्ष्य हासिल तिरको उन्मुखता, तीव्र आर्थिक बृद्धि र डिजिटलीकृत भारतलाई मानिएको छ । ‘कु अन्न’ मानिएको ‘कोदो प्रजाति’ लाई ‘श्री अन्न’ योजना अन्तर्गत विशेष खेतीमार्फत् विश्व खाद्य सम्प्रभुता तथा खाद्य अधिकारको प्रत्याभूतिका लागि योगदान समेत यो सूचीमा छ ।

भारतीय लोकतन्त्र क्षयीकरण भइरहेको आलोचना बीच उनी लोकतन्त्रको नि–जोखिमीकरण (डि–रिस्किङ ) को कुरा गर्दछन् भने बजार अर्थतन्त्रसँग यसको उपयुक्त सम्बन्धले मात्र दीगो र स्थीर आपूर्ति श्रृंखला निर्माण हुन सक्ने चर्चा गर्दछन् । ‘अझ बढी विकेन्द्रित विश्व अर्थतन्त्र विद्यमान चिन्ताहरूको व्यावहारिक समाधान हो’ भन्ने उनको धारणा छ । उनी भारतीय लोकतन्त्र क्षयीकृत भएको आलोचना अस्वीकार गर्दै ‘डेलिभरिङ डेमोक्रेसी’ को पैरवी गर्दछन् ।

जयशंकरको किताबले ‘सभ्यता राज्य’ को अवधारणालाई विद्यमान भारतीय राजनीतिको आधारस्तम्भका रूपमा स्थापित गर्न खोज्दछ । उनी ‘विश्वमित्र’ (विश्वको साथी) र बसुदैब कुटुम्बकम् (विश्व एक परिवार ) को विशेष महत्त्व दिएर चर्चा गर्दछन् । समकालीन भारतीय राज्य सञ्चालन र कूटनीतिमा रामायण र महभारतजस्ता काव्यको ‘सामान्य–सहसम्बन्ध’ भन्ने उनको दाबी छ । महाभारतले ‘राजनीतिक यथार्थको अभ्यास’ र रामायणले ‘विधिआधारित शासन व्यवस्था’ लाई अनुप्रेरित गरेको उनको ठहर छ । उनले ‘राम राज्य’ र रामायणका विभिन्न प्रसंगलाई बारम्बार प्रयोग गरेका छन् ।

उनी भन्छन् कि ‘जीवन श्वेत–श्याम बीचको छनोट हैन । जटिलताबीचको निर्णय संगति नै सफलताको आधार हो । इन्डिया त्यतिखेर मात्र शक्ति बन्न सक्दछ जब यो साँचो भारत हुन्छ ।’ ‘इन्डिया’ र ‘भारत’ बीचको संकथन–संघर्षलाई उनी यसरी सामञ्जस्यतामा ल्याउन खोज्दछन्–‘ न्यू इन्डिया नै अझ बढी भारत हो ।’

उनी थप्छन्–‘वास्तवमा ‘न्यू इन्डिया’ त्यस्तो इन्डिया जो आफ्ना हित परिभाषित गर्न, स्वयं आफ्नो स्थितिलाई स्पष्ट गर्न, आफ्नो समाधान आफैँ फेला पार्न र आफ्नो प्रारुपलाई आफैँ उन्नत बनाउन सक्षम छ । संक्षेपमा यो यस्तो इन्डिया हो, जो अझ बढी भारत हुन्छ ।’

२२६ पेज मोटो किताबमा उनी सार्कको चर्चा कतै गर्दैनन् । यसबाट प्रष्ट हुन्छ कि सार्क भारतको प्राथमिकतामा छैन ।

समकालीन विश्वमा भारतले एक उदयमान शक्तिको भूमिका ‘म्याटर्स’ गर्ने आधार के हुन त ? उनको विचारमा ती– चन्द्रयानको सफलता र अन्तरिक्ष शक्तिका रूपमा उदय, जी–२० को नेतृत्व, प्रदायन क्षमतायुक्त लोकतन्त्र, प्रतिभाहरूको पर्याप्तता, रणनीतिक संलग्नतामा अभिवृद्धि, ‘विश्व नै परिवार र भारत विश्वको साथी’ अवधारणा, बहुध्रुवीयता, पुनर्सन्तुलन र सभ्यता–राज्य हुन् ।

समकालीन विश्व राजनीति, आर्थिक तथा कूपटनीतिक परिवेश, दक्षिण तथा दक्षिण पूर्वी एशियाली भूराजनीति तथा भारतीय विदेश नीतिमा सामयिक अवधारणामा रुचि राख्नेका लागि एस. जयशंकरको यो किताबले विशेष महत्त्व राख्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved