धनगढीमा आगलागी नियन्त्रणका लागि ‘फायर बाइक’ सेवा

नेपालभ्युज

धनगढीमा आगलागी नियन्त्रणका लागि ‘फायर बाइक’ सेवा

धनगढी । विपदको सामना गर्नका लागि धनगढी उपमहानगरपालिकामा ‘फायर बाइक’ सेवा सुरु गरिएको छ । दमकल नपुग्ने सडक मार्गबाट छिटो आगलागी नियन्त्रण तथा उद्धारका लागि ‘फायर बाइक’ सेवा सुरु भएको हो ।

उपमहानगरीय प्रहरी बलले ‘फायर बाइक’ सेवाबाट आगलागी नियन्त्रण तथा उद्धारको काम गर्नेछ । यति मात्रै नभएर पछिल्लोसमय आम नागरिकलाई सुविधा दिने गरी उपमहानगरले विभिन्न उपकरणसँगै जनशक्तिसमेत थप्दै आएको छ ।

उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘फायर बाइक’ सेवाबाट यहाँका नागरिक लाभान्वित भइरहेका छन् । आगलागी नियन्त्रणका लागि खबर गर्दा दमकल पुग्न धेरै समय लाग्ने क्षेत्रमा ‘फायर बाइक’ सेवा छिटै पुग्ने भएका कारण क्षति कम हुने अपेक्षा स्थानीयको छ ।

धनगढीका भीमबहादुर सार्कीले फायर बाईक सेवाले आगलागी नियन्त्रणमा सहज हुने बताए । उनले धनगढीमा पूरा सडकहरुमा ठूला दमकलहरु जान नसक्ने भएका कारण फायर वाईक प्रभावकारी हुने विश्वास लिएका छन् । उनले उपमहानगरपालिका लाई सेवा सुरु गरेकोमा धन्यवाद दिदै यसलाई सबैको पहुँचमा विना झन्झट ल्याउन आग्रहसमेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा ‘फायर बाइक’ सेवा सुरु भएपछि आगलागी नियन्त्रण तथा उद्धारमा सहज भएको छ । विपद परेको बेला नगर प्रहरीले तत्काल उद्धार गर्न यस्तो सेवा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । धनगढीका १९ वडाभित्रै यस्तो सेवा प्रदान गरिनेछ ।

कहिँकतै आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि घटना भएको स्थानमा तत्काल पुग्न सजिलो होस भनेर उपमहानगरले फायर बाइक सेवा सञ्चालनमा ल्याएको धनगढी उपमहानगरपालिका प्रहरी बल प्रमुख भुपेन्द्र खड्काले जानकारी दिए ।

आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक लिएर प्रहरी बल जाने भएका कारण दमकमभन्दा समेत छिटो पुग्ने दाबी गरिएको छ । ‘फायर बाइक’ले तत्काल बचाउनुपर्ने कुरालाई बचाउनमा मद्दत गर्न धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले बताए । आगलागी तथा विपदजन्य जोखिमका बेला फायर बाइक दमकल उपयोगी मानिएको उनको भनाई छ । युएनडीपी र उपमहानगरपालिकाको समान ५०-५० प्रतिशत लगानीमा यो सेवा सञ्चालनमा ल्याइएको मेयर हमालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved