बालकुमारी घटना

मृतक सुजनकी आमा सोध्छिन्- मेरो बाबुको होस आयो त ?

घरपरिवार र आफन्तले अझैसम्म छोरा सुजन रावतको निधन भएको खबर आमा नन्दालाई सुनाएका छैनन् । शृंखलाबद्ध विपत्तिको सामना गर्दै आएकी नन्दाले आफूलाई सम्हाल्नै नसक्ने आकलन गरेर आफन्तहरूले सुजनको मृत्युको खबर गुपचुप राखेका हुन् ।

नेपालभ्युज

मृतक सुजनकी आमा सोध्छिन्- मेरो बाबुको होस आयो त ?

काठमाडौं । अचेल दैलेखको महाबु गाउँपालिका– ६ स्थित नन्दा रावतको घरमा आउने–जाने मान्छे भइरहन्छन् । घरमा पुग्ने सबैले नन्दालाई सम्झाइ–बुझाइ गरिरहेका हुन्छन्, सान्त्वना दिइरहेका छन् । भन्छन्– बाबुलाई केही हुँदैन, छिट्टै होस खुलेर घर फर्कन्छ ।

४३ वर्षीय नन्दाको अवाज आउँदैन, तर आँखामा छोरा फर्कने आशा झल्कन्छ ।

हो, आज सोमबार बिहानसम्म पनि नन्दाका लागि आफ्ना छोरा सुजन अस्पतालको आईसीयूमा उपचाररत नै छन् । र, आफ्नो छोरा जीवन मरणको दोसाँधमा रहेको ठानेकी नन्दाले जीवन रक्षाको लागि भगवानसँग पुकार गरिरहेकी छिन् । तर सुजनले शुक्रबार नै संसार छाडिसेका छन् ।

घरपरिवार र आफन्तले अझैसम्म छोरा सुजन रावतको निधन भएको खबर आमा नन्दालाई भनेका छैनन् । शृंखलाबद्ध विपत्ति भोग्दै आएकी नन्दासामु कसैले वास्तविकता बताउन सकेका छैनन् । नन्दाले एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते पति भक्तबहादुर रावतलाई गुमाएकी थिइन् ।

पति भक्त बहादुरको उच्च रक्तचापका कारण निधन भएको थियो । पति वियोगमा रहेकी नन्दाले त्यसको एक महिनापछि आमा गुमाइन् । अहिले वर्ष दिन नपुग्दै उनले आफ्नो सहारा छाेरा सुजन गुमाइन् । त्यसैले आफूलाई संहाल्नै नसक्ने आकलन गरेर आफन्तले छोरा सुजनको मृत्युको खबर नन्दालाई सुनाउन नसकेका हुन् ।

सुजनको मृत्युले शोकमा दैलेखको महाबु : ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी

घरमा पुग्नेजतिले छोराको उपचार भइरहेको भनेपछि उनको मनमा छोरा बाँच्ने आशाको दीयो निभेको छैन । घरमा कोही पनि नयाँ मान्छे आउनेबित्तिकै सोध्ने गर्छिन् ‘‘मेरो बाबु (छोरा) साँच्चै आईसीयूमा छ र ? होस् आयो त ?’’

भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई स्वास्थ्य समस्या हुने डरले अझसम्म सत्य कुरा भन्न नसकिएको नन्दाका भाइ यामराज कटुवालले बताए ।

‘‘पोहोर साल भिनाजु बिते, त्यही साल हजुरआमा पनि बित्नुभयो । अहिले फेरि भान्जाको यस्तो भयो । दिदी सुगर र प्रेसरको बिरामी हुनुहुन्छ । यस्तो अवस्थामा सत्य कुरा सुनाउँदा कसरी सहलिन् दिदीले भनेर भन्न सकिएको छैन’’ यमराजले भने । आईसीयूमा राखेर उपचार भइरहेको छ भनेर ढाँटिरहेको उनले सुनाए ।

अहिले सुजनको आमा मात्र होइन, बहिनी र भाइसमेत सामान्य अवस्थामा छैनन् । उनीहरूलाई आफन्त र छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेका छन् ।

सम्बन्धित समाचार –

बुवालाई औषधिको गोली लिएर आउँछु भन्थे, बन्दुकको गोली लागेर ढले

बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान

प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु

मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र, दर्जनभन्दा बढी समातिए (फोटो फिचर)

बालकुमारी प्रदर्शन : प्रहरीसँगको झडपमा एक युवाको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved