प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको दोस्रो र मधेसको पहिलो जित

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीको दोस्रो र मधेसको पहिलो जित

काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले दोस्रो र मधेसले पहिलो जित हासिल गरेको छ। लुम्बिनीले कर्णालीलाई पराजित गर्दै र मधेसले गण्डकीलाई हराउँदै जित हासिल गरेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले कर्णालीलाई ३० रनले पराजित गरेको हो। १३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १०३ रन बनायो।

कर्णालीका लागि गौरी बोहोराले २२ र यमुना थारुले २१ रन बनाए। लुम्बिनीका लागि सरस्वती पुन र कृतिका मरासीनीले २–२ तथा चमेली चौधरी र शर्मिला रोक्काले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १३३ रन बनायो। कप्तान सरस्वती घर्ती मगरले अविजित ५३ रन र आश्मा पुलामी मगरले २५ रन बनाइन्। कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तृष्णा बुढाथोकीले १–१ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेसले गण्डकीलाई २७ रनले पराजित गर्यो।

११३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गण्डकीले १९.४ ओभरमा ८५ रनमा अलआउट भयो। गण्डकीका लागि सुमन खतिवडाले ४२ र सृष्टि जैसीले १५ रन बनाए।

मधेसका लागि पूजा महतोले ३ तथा सरस्वती कुमारी, कविता गौतम र साक्शी यादवले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ११२ रन बनायो। मधेसका लागि पुजा महतोले ३८ र सरस्वती कुमारीले अविजित २६ रन बनाइन्। गण्डकीका लागि भने सुमन खतिवडाले ३ तथा सृष्टि जैसी र कुसुम गोदारले १–१ विकेट लिए।

यससँगै लुम्बिनी ४ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा छ। लगातार ४ खेलमा पराजित भएको कर्णाली ८ औँ स्थानमा छ। पहिलो जित हासिल गरेको मधेस २ अंकसहित सातौं स्थानमा छ भने पराजित गण्डकी २ अंकसहित छैंटौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved