सुपर लिग प्रवर्द्धकद्वारा ‘६४ क्लब’ प्रतियोगिता आयोजना गर्ने घोषणा

नेपालभ्युज

सुपर लिग प्रवर्द्धकद्वारा ‘६४ क्लब’ प्रतियोगिता आयोजना गर्ने घोषणा

एजेन्सी । युइएफएले प्रतिद्वन्द्वी प्रतियोगिता अवरुद्ध गर्न युरोपेली युनियन (इयु)को कानून उल्लङ्घन गरेको युरोपेली अदालतले फैसला गरेपछि अलग भएका युरोपेली सुपर लिगका प्रवर्द्धकहरूले बिहीबार नयाँ ६४ टिमको पुरुष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् ।

ए२२ स्पोर्ट्स म्यानेनजमेन्टले योजनाबद्ध प्रतियोगिता कहिले सुरु हुनसक्छ वा क्लबहरूबीच कति समर्थन छ भन्नेबारे कुनै विवरण दिएको छैन । यद्यपि प्रतियोगितामा पदोन्नति (प्रमोसन) र घटुवा (रेलिगेसन) को सुविधा हुने र युनिफाई नामक ‘नयाँ स्ट्रिमिङ प्लेटफर्मममा’ प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

सन् २०२१ अप्रिलमा सुरुआती असफलताको प्रारम्भसँगै सुपर लिगलाई प्रवर्द्धन गर्न सन् २०२२ को अन्त्यमा ए२२ स्पोर्ट्स म्यानेजमेन्टको स्थापना गरिएको थियो ।

अदालतको फैसलाप्रति प्रतिक्रिया दिँदै ए २२ का प्रमुख कार्यकारी अधिकारी बर्नाड रिचर्टले स्ट्रिम गरिएको भिडियोमा भने, “फुटबल स्वतन्त्र हो, युइएफएको एकाधिकारबाट मुक्त, प्रतिबन्धहरूको डरबिना सर्वोत्तम विचारहरूलाई अगाडि बढाउनका लागि स्वतन्त्र छ ।”

युइएफएले प्रारम्भिक परियोजना रोक्नका लागि अवैध रणनीति प्रयोग गरेको थियो । उक्त परियोजनामा १२ वटा मात्र क्लब थिए र केही दिनमै पतन भएको थियो । बिहीबार घोषणा गरिएको नयाँ योजनामा ६४ टिमलाई तीन भिन्नाभिन्नै लिगमा विभाजन गरिनेछ । शीर्ष स्टार लिगमा १६ क्लबलाई आठ क्लबका हिसाबले दुई समूहमा विभाजन गरिनेछ ।

गोल्ड लिग नाम रहेको दोस्रो स्तरमा पनि १६ क्लब सहभागी हुनेछन् । यसमा पनि आठ÷आठ क्लबको दुई समूह हुनेछन् । ब्लु लिग नामको तेस्रो स्तरमा प्रत्येक समूहमा आठ क्लब रहने गरी ३२ क्लब सामेल हुनेछन् ।

“क्लबहरूको सहभागिता खेलको योग्यताका आधारमा हुनेछ, यसमा कोही पनि स्थायी सदस्य हुनेछैन र क्लबहरू आफ्ना घरेलु लिगहरूका लागि प्रतिबद्ध रहनेछन्”, रिचर्टले भने । प्रस्तावअनुसार प्रत्येक प्रतिस्पर्धी क्लबले नकआउट चरणअघि ग्यारेन्टी १४ म्याच खेल्नुपर्नेछ ।

ए२२ ले अन्य युरोपेली क्लबहरूको एकता भुक्तानीमा ‘कम्तीमा ४० करोड युरो (४३ करोड ९० लाख अमेरिकी डलर)’ प्रस्ताव गर्ने बताएको छ । यो युइएफएले वितरण गरेको ‘हालको राशिको दुई गुणाभन्दा बढी’ हो । पहिलो वर्षका लागि ‘पारदर्शी मापदण्ड र प्रदर्शनका’ का आधारमा क्लबहरूको छनोट गरिने बताइएको छ । खेल वर्तमान च्याम्पियन्स लिग र अन्य युइएफए प्रतियोगिताका खेल हुने समय मध्य सातामा खेलाइने छ ।

ए२२ ले ३२ टिमको महिलाहरूको प्रतियोगिताको पनि योजना बनाएको छ । यसको स्ट्रिमिङ प्लेटफर्मले ‘विज्ञापन, प्रिमियम सदस्यता, वितरण साझेदारी, अन्तरक्रियात्मक सेवा र प्रायोजकहरू’ बाट आम्दानी गर्ने जनाइएको छ ।

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved