कांग्रेस मधेस प्रदेश सम्मेलन : शेखरलाई दोस्रो मर्यादाक्रममा नराखेपछि आठ नेताको ‘नोट अफ डिसेन्ट’

कांग्रेस मधेस प्रदेश सम्मेलन : शेखरलाई दोस्रो मर्यादाक्रममा नराखेपछि आठ नेताको ‘नोट अफ डिसेन्ट’

जनकपुरधाम । डा. शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ।

सम्मेलनमा सभापति शेरबहादुर देउवापछि नेता शेखर कोइरालालाई मर्यादाक्रममा नराख्दा विवाद भएको हो ।

बुधबार बसेको प्रदेश कार्यसमिति बैठकमा कोइराला पक्षीय ८ जना नेताले फरक मत राख्दै देउवापछि कोइरालालाई मर्यादाक्रममा राख्न समितिको ध्यानाकर्षण गराएको छ ।

फरक मत राख्नेहरुमा मधेस प्रदेशका वरिष्ट नेता राम सरोज यादव, सदस्यहरु रेखा यादव, प्रमेश पोखरेल, रनि चन्द्र कोइराला, मो. ताज अलि अंसारी, उदय नारायण चौधरी, उषा देवकोटा र नितु झा रहेका छन् ।

पुस ५ र ६ जनकपुरको तिरहुतिया गाँछीमा हुने कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलनको उद्घाटन पार्टीका सभापति देउवाले गर्ने छन् । मधेश प्रदेश सम्मेलन उदघाटन समारोहमा सभापति देउवापछि मर्यादाक्रममा कोइरालालाई राख्नु पर्ने भनि ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् ।

कांग्रेसको मधेश प्रदेश समितिको बैठकले देउवापछि पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई आशन ग्रहण गराउने गरी मर्यादाक्रम मिलाएको छ । कोइरालालाई भने केन्द्रीय सदस्यको हैसियतमा आशन ग्रहण गराइने बैठकले निर्णय गरेको छ ।

‘हामीले शेखर दाईलाई दोस्रो मर्यादामा राख्न बैठकमा कुरा राख्यौं,’ कांग्रेस मधेश प्रदेशका सदस्य रविनराज कोइरालाले भने,‘तर, हाम्रो कुराको सुनुवाइ भएन । मर्यादाक्रमको निर्णय भइसकेको भनियो । म बैठकमा अलि ढिलो पुगेको थिएँ ।’

कांग्रेस मधेस प्रदेश समितिमा देउवा पक्षको बहुमत छ । कांग्रेस मधेश प्रदेश समितिको निर्वाचनमा देउवा पक्षबाट कृष्णप्रसाद यादव अध्यक्षमा निर्वाचित भएका हुन् । कोइराला पक्षले भने कांग्रेस नेता बिमलेन्द्र निधिका उम्मेदवार रामसरोज यादवलाई सघाएको थियो ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो ।

पार्टीको २५ औँ वरियतामा रहेका कोइरालालाई इतर पक्षका प्रदेश सभापति रहेका लुम्बिनी र गण्डकीमा दोस्रो वरियतासहित विशिष्ट अतिथि बनाइएको थियो ।

कांग्रेसका मधेश प्रदेश सदस्य रेखा यादवले कार्यसमितिको बैठकमा प्रदेश सम्मेलनको उद्घाटन समारोहको मर्यादाक्रमबारे कुरा झिक्दा प्रदेश अध्यक्ष यादवले ‘सबै कुरा प्रदेश समितिको हातमा नरहेको, केन्द्रीय नेताको पनि सरसल्लाहअनुसार मर्यादाक्रम मिलाइएको’भन्ने जवाफ दिएका थिए ।

प्रदेशका सदस्य रविनराज कोइरालाले भने, ‘शेखरदाईलाई दोस्रो मर्यादामा राख्न हामीले अडान लिएपछि प्रदेश सभापतिज्यूले पहिला सम्मेलन सफलतापूर्वक सकौं, पछि बसेर यस विषयमा छलफल गरौला भनेर भन्नुभयो, मधेश प्रदेश सम्मेलनमा सहभागी हुन शेखरदाई बिहीबार बिहानै जनकपुर आइपुग्ने कार्यक्रम थियो । तर यही किचलोले उहाँ अब आउनुहुन्न ।’

यता काँग्रेस मधेस प्रदेश समितिका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन संशोधनसहित सर्वसम्मत पारित गरिएको बताए ।

महामन्त्री श्रेष्ठले पुस ५ हुने उदघाटनको खुला सत्रमा नेपाली काँग्रेसका मधेस प्रदेशका आठै जिल्लाबाट नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने र ६ गते हुने बन्द सत्रमा ८ सय २५ जना प्रदेश प्रतिनिधिहरुले भाग लिने जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved