आलेख

प्रविधिको विकाससँगै फराकिलो बन्दै सभ्यताको क्षितिज

संसारको अर्को कुनामा बसेको मानिससँग अन्तर्क्रिया गरिरहेको व्यक्तिले नजिककोलाई पहिलाजस्तो समय दिएन भन्दैमा सामाजिक सम्बन्ध कमजोर भएको निचोड निकाल्नु उपयुक्त हुँदैन । अवश्य पनि प्रविधिले हाम्रो सामाजिक सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बनाइदिएको छ । यसको मतलब यो होइन कि प्रविधिका कारण समाज विग्रहमा जान्छ ।

प्रविधिको विकाससँगै फराकिलो बन्दै सभ्यताको क्षितिज

झट्ट हेर्दा प्रविधिले उत्पन्न गरेको ‘अराजकता’का कारण चिन्ता बढिरहेको यो समयमा यसको विकासले मानव क्षितिजलाई फराकिलो गर्ने कुरा अटमट लाग्ने पनि हुनसक्छ । त्यसकारण यो लेखमा प्रवेश गर्नुभन्दा पहिला केही कुरामा प्रष्ट हुन जरुरी छ । जस्तै प्रविधिको विकास र प्रयोगले समाजलाई तीव्ररूपमा बदलिदिएको छ । यो भन्नुको अर्थ सधैँभरि यही कथित अराजकताको अवस्था रहने छैन । प्रविधिको विकाससँगै यसको सदुपयोग गर्ने ज्ञानको पनि विकास हुनेछ ।

अहिले नियन्त्रण गर्न राज्य असफल जस्तो देखियता पनि भविष्यमा यसको हस्तक्षेप बढ्नेछ । त्यसले विद्यमान सीमित व्यक्तिको एकाधिकारलाई कमजोर बनाउनेछ । वास्तवमा प्रविधिको विषेशता नै यस्तो छ, यो फैलिन चाहन्छ । मतलब प्राविधिक ज्ञान पहिलाजस्तो केही व्यक्तिको निजी सम्पत्ति बनिरहेन सम्भव छैन । यसको विकेन्द्रिकरणसँगै सबैको पहुँच पुग्नेछ । संक्रमणकालीन अवस्थामा राज्यको नियन्त्रणले जासुसी राज्यको उत्पत्ति भइहालेछ भने पनि त्यो लामो समय टिक्न सक्दैन । अर्थात् भविष्यमा मानव स्वतन्त्रताको यात्रा प्रविधिको कारण रोकिने होइन, बरु फड्को मार्नेछ ।

पछिल्ला केही दशकमा नै प्रविधिका कारण हाम्रा सामाजिक सम्बन्धहरू कायाकल्प भएका छन् । अहिले सञ्चार, स्वास्थ्य, शिक्षा, यातायात तथा व्यापारलगायतका सबैजसो क्षेत्रमा व्यापक परिवर्तन आएको छ । केही वर्ष पहिला अकल्पनीय मानिने कुराहरू वास्तविक बनेका छन् । कम्प्युटर, मोबाइल, इन्टरनेटसँगै अहिले कृत्रिम बौद्धिकतायुक्त मेसिनको प्रयोग बढेको छ । यसले धेरैलाई प्रभावित गरिसकेको पनि छ । वास्तवमा भन्ने हो भने अहिले प्रविधिका कारण हाम्रो सामाजिक यथार्थ नै बदलिएको छ ।

अवश्य पनि यस्तो अनपेक्षित परिवर्तनले अवसर र चुनौती दुवै ल्याएको छ । जस्तै प्रविधिले दैनिकीमा सहजतासँगै हाम्रो औषत आयु पनि बढाएको छ । तर, कतिपय सन्दर्भमा यसले समाजिक विभाजन, विवाद र भ्रम पनि उत्पन्न गरेको देखिन्छ । यसले ल्याएका चुनौतीका बारेमा ‘उत्कर्षतर्फ सूचना युद्ध’ र ‘इन्टरनेटको लत के हो ?’ शीर्षकका लेखमा चर्चा गरिएको छ । यसले यन्त्रमाथि बढाएको निर्भरता, झनै गम्भीर बनाएको वर्गान्तरको समस्या र कृत्रिम बौद्धिकताको विकाससँगै महामारी बन्नसक्ने बेकारीका बारेमा भविष्यमा थप छलफल गर्दै गइनेछ । प्रविधि आफैँमा भीमकाय विषय भएकाले पंक्तिकारले यसलाई विस्तारै क्रमबद्धरूपमा लेख्ने प्रयास गर्नेछ । यो लेखमा भने प्रविधिको विकासले हाम्रो सामाजिक यथार्थमा कसरी सकारात्मक परिवर्तन ल्याएको छ ? यस प्रश्नमा केन्द्रित भएर छलफल गरिने छ ।

प्रविधि मानव जीवनको अभिन्न अंग बनिसकेको छ । परिस्थिति कस्तो छ भने प्रविधिलाई नजरअन्दाज गरेर अब जीवन चल्ने अवस्था छैन । न त यसले ल्याएका चुनौती देखाएर प्रविधिको विकास रोक्नु व्यावहारिक छ, न सम्भव नै । यो यतिसम्म अनिवार्य भइसकेको छ कि यसको प्रयोग नगरी बस्न अब लुड्डीट्स (प्रविधि विरोधी) का लागि समेत मुस्किल अवस्था छ । वास्तवमा अबको सवाल भनेको प्रविधिको विरोध र समर्थन गर्ने नभएर यसको सदुपयोग कसरी गर्ने ? यसको प्रयोगबाट मानिसलाई कसरी पूर्ण स्वतन्त्रतातर्फ लैजाने ? यी सवालमाथि मन्थन गर्नुपर्ने हो ।

अवश्य पनि प्रविधिमा शतप्रतिशत भर पर्न सकिँदैन । यसका आफ्नै सीमितता छन् । यसबाट जतिबेला पनि धोका हुन सक्छ । यद्यपि यसले उपलब्ध गराएका अवसरका अगाडि ती सीमितता सामान्य लाग्दछन् । त्यसका अनेकन कारण छन् । यसले गर्दा हाम्रो दिनचर्या अतुलनीयरूपमा सहज बनेको मात्रै छैन यसैको सहयोगमा समाजको औसत चेतना पनि फराकिलो भएको छ । संसारको जुनसुकै ठाउँमा घटेको घटना अर्को ठाउँमा बसेकाले सहजै थाहा पाउँछ । एक कुनामा बसेर अर्को कुनाको मानिससँग भावनात्मक तथा व्यावसायिक सम्बन्ध राख्नु दैनिक कामको अंश भएको छ ।

वास्तवमा अहिले सामाजिक सम्बन्धमा विशिष्ठ प्रकारको दीर्घकालीन परिवर्तन आएको छ । भौतिकरूपमा नजिकको मानिससँग भन्दा हजारौं कोश टाढा रहेकोसँग नजिकको सम्बन्ध सम्भव भएको छ । आजभोलि एक संस्कृतिमा भएको राम्रो कुरा सिकेर अर्को समाज लाभान्वित हुन समय लाग्दैन । व्यक्तिले उसको अनुकूलता र उपयुक्त परिस्थितिअनुसार विभिन्न ज्ञानको उपयोग गरी आफ्नो जीवनलाई समृद्ध बनाउन सक्दछ । वास्तवमा ज्ञानको भौतिक सीमा मेटिनु सानो उपलब्धि होइन ।

अहिले परम्परागत समाजिक सम्बन्धहरू भत्किने र नयाँ निर्माण हुने क्रम तीव्र छ । परिवर्तनको गतिमा ती सम्बन्धहरूलाई पुनर्परिभाषित गर्नुपर्ने छ । त्यसका लागि पनि यो युगान्तकारी परिवर्तनको मूल्याङ्कन विश्लेषण अत्यन्तै जरूरी छ । यही उद्देश्य राखेर यो लेख लेखिएको हो । यद्यपि यो छोटो लेखमा उक्त परिवर्तनका दुई आधारभूत पक्षबारे मात्रै छलफल गरिनेछ ।

पहिलो— प्रविधिले मानिसलाई यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्त गरिदिएको छ । पहिले-पहिले सानो समाचार पुर्‍याउनका लागि लामो यात्रा गर्नुपर्ने हुन्थ्यो । कुनै घटना घटेको कयौं दिनपछि मात्रै थाहा हुन्थ्यो । समाचार पुर्‍याउनका लागि नै यात्रा गर्नुपर्ने वा मानिसलाई खटाउनुपर्ने हुँदा त्यसका लागि लामो समय र धेरै पैसा खर्च हुने गर्दथ्यो । निजी काम, रोजगारी तथा विवाहजस्ता सांस्कृतिक सम्बन्धहरू गाँस्दा पनि टाढा जानसक्ने अवस्था थिएन । वास्तवमा व्यक्तिका लागि संसार साह्रै ठूलो थियो । संसार घुम्नु, विभिन्न संस्कार र संस्कृतिका बारेमा बुझ्नु तथा संसारको एक कुनाको व्यक्तिले अर्को कुनाकासँग पारिवारिक सम्बन्ध राख्नु असम्भवप्रायः थिए ।

पहिले आफ्नो घरको छेउछाउमा जे उपलब्ध छ, त्यसैलाई प्रयोग गरेर जीवन चलाउनु पर्दथ्यो । त्यो खाद्यको कुरा होस् वा ज्ञानको, तीनको सीमा एकदमै साँघुरो थियो । पृथ्वीको अर्को कुनामा त के अर्को गाउँमा के भएको छ भनेर थाहा पाउनु ठूलो कुरा हुन्थ्यो । देश-विदेश भन्ने कुरा भन्नका लागि मात्रै हुन्थ्यो । वास्तवमा मानव जिवन ‘कुवा’ मा सीमित थियो ।

उक्त साँघुरो जीवनबाट मुक्त हुनु वा कुवाबाट समुद्रमा पुग्नु आफैँमा अतुलनीय परिवर्तन हो । सुरूमा समुद्रको व्यापकताले अत्यास लागेजस्तो भएपनि यसको आनन्द लिन थाले पछि मानिस बदलिने निश्चित छ । अब समाज कुनै पनि बहानामा कुवामा फर्कन सम्भव छैन । अर्को शब्दमा भन्नुपर्दा स-शरीर उपस्थित नभई संसारको ज्ञान लिन पाउनु प्लेटोको ‘एल्लिगोरी अफ केभ’ को मानिस ओडारबाट पहिलोपटक घामको उज्यालोमा आउनु बराबर हो ।

अहिले प्रविधिका कारण जहाँ भन्यो, त्यही छोटो समयमा नै यात्रा गर्न सकिन्छ । पृथ्वीको एक कुनाबाट अर्को कुनामा मात्रै होइन, अन्य ग्रह तथा उपग्रहको यात्राका लागि समेत सम्भव भएको छ । यो बुलेट ट्रेन र ‘हाईपर लूप’को समय हो । मानिस अब केही घण्टामा पृथ्वीको एक ठाउँबाट अर्को जनुसुकै ठाउँमा पुग्न सक्दछ । यो अवसरसँगै हामीले देख्छौँ अहिले मध्यम वर्गमा धेरैभन्दा धेरै देश घुम्ने संस्कृतिको विकास भएको छ । धेरै नेपालीले पनि विदेश कस्तो छ भन्ने स-शरीरदेखि सकेका छन् । अब मानिसले चाहेमा संसारको जुनकुनै समाज वा संस्कृति देख्न वा बुझ्न सहजै सम्भव भएको छ ।

यद्यपि सबैभन्दा महत्त्वपूर्ण र रोचक कुरा के छ भने प्रविधिले अब यात्रै गर्नु/नपर्ने बनाइदिएको छ । एक ठाउँमा बसेर सारा संसारका दृष्य हेर्न, अन्तर्क्रिया तथा जागिर गर्नका लागि यसैमार्फत सम्भव भएको छ । घुमेर पाइने ज्ञान र काम घरै बसी-बसी पाइने भएपछि यात्राका लागि हुने समय र पैसा बचेको छ । उक्त समय र पैसाको सहयोगमा आफ्नो व्यक्तित्व विकासका लागि थप अवसर उपलब्ध भएका छन् । वास्तवमा मानिसले पहिलेको तुलनामा काम कम गर्दा पनि जीवन जिउन सहज भएको छ । यद्यपि यो ऐतिहासिक अवसरको सदुपयोगले ज्ञानको दायरा अझै कति फराकिलो हुने हो अहिले नै अनुमान लगाउन भने गाह्रो छ ।

प्रविधिको प्रयोगले मानिस आफ्नै घरमा बसेर समाचार पाउने अथवा पठाउने मात्रै गर्दैन । अध्ययन, बैठक, ठूला-ठूला बैंकिङ्ग कारोबार, मनोरञ्जनलगायतका काम गर्न सक्छ । खेल खेल्नसमेत घरमा नै बसेर सम्भव भएको छ । बिजुली, पानी र अन्य बिल तिर्न अनि आवश्यक वस्तुहरू बजारबाट घरमा मगाउनसमेत प्रविधिको प्रयोग भइरहेको छ । यस्तो लाग्छ, हातमा इन्टरनेट जोडिएको मोबाइल भए सबै काम सम्भव हुन्छ ।

यदि व्यक्ति प्रविधिसँग अद्यावधिक भएको छैन भने उसलाई जीवन जिउन गाह्रो छ । प्रविधिको प्रयोग नगरी बाँच्नभन्दा यसको प्रयोग सिक्नु छिटो, सहज र उपयुक्त हुने अवस्था छ । अर्थात् प्रविधिको ज्ञान र प्रयोग अब अनिवार्य आवश्यकता बन्दैछ ।

प्रविधिको सहयोगमा सबै काम घरबाटै सम्भव छ भन्नुको मतलब स-शरीर उपस्थित भएर गर्नुपर्ने कामहरू छैनन् भन्न खोजिएको होइन । अहिलेसम्म आम मानिसका लागि कयौं कामहरू उपस्थित भएरै गर्नुपर्ने छन् । अहिले पनि किसान तथा औद्योगिक मजदुरहरूको ठूलो तप्का कठीन शारीरिक श्रमसँग जोडिएको छ । यद्यपि प्रविधिको प्रयोगले उनीहरूलाई फाइदा नगरेको भने होइन । मात्रै जति गर्नुपर्ने हो त्यो गरिरहेको छैन । कतिपय सन्दर्भमा त सिधा नोक्सानसमेत पुर्‍याएको छ । समान्यतयाः प्रविधि अहिले पनि सर्वशुलभ नभएर केही व्यक्तिको नियन्त्रणमा भएकाले यस्तो भएको हो ।

श्रमिक तथा किसानलाई प्रविधिको समुचित फाइदा नपुग्नुमा यसको दुरूपयोगले भूमिका खेलेको छ । उदाहरणका लागि एक श्रमिकको श्रमले उत्पादन गरेको पुँजीको लगानीबाट रोबोट बन्छ । रोबोटको आविष्कारमा जति पुँजीपतिको भूमिका छ, त्यति मजदुर र ईन्जिनियरको पनि छ । यद्यपि अहिले उक्त रोबोटको प्रयोगले तिनै मजदुर तथा ईन्जिनियरलाई बेरोजगार बनाएको छ । झट्ट हेर्दा के देखिन्छ भने उनीहरूले जे गरिरहेका छन्, आफ्नै लागि खाल्डो खनिरहेका छन् । यस्तो हुनुको कारण हो प्रविधिमाथि पुँजीपतिको एकाधिकार ।

यो बहस सामाजिक नैतिकतासँगै अर्थ राजनीतिसँग जोडिएको छ । मजदुरलाई जागिरबाट निकालेर अनिश्चितता र अभावमा धकेलेर त्यसबाट बचेको पैसाले झन् नयाँ रोबोटको विकासमा लगानी गर्नु नैतिक होइन । नयाँ प्रविधिको विकासमा लगानी गर्नु आफैँमा गलत नभए पनि मजदुरको जीविकालाई कठीन र दयनीय बनाएर यसो गरिनु मजदुरलाई उसको अधिकारबाट मात्रै बञ्चित गरिएको छैन, यसका कारण वर्गान्तरको थप समस्या पनि उब्जिएको छ । रोबोटको प्रयोग श्रमिकले गरिराखेको कामलाई सहज बनाउनका लागि हुनुपर्दछ । रोबोटको प्रयोगबाट हुने आम्दानीको असमान वितरणलाई रोक्न जरूरी छ ।

पुँजीवादमा समान वितरणलाई विकासको बाधकका रूपमा हेरिन्छ । पुँजीपतिलाई नाफामा एकाधिकार दिइएन भने उसले लगानी गरी थप उत्पादन गर्ने प्रेरणा पाउँदैन भन्ने भ्रम छरिएको छ । यसले मजदुरलाई बाँच्नका लागि नै संघर्ष गर्न बाध्य बनाएको छ भने केही सीमित व्यक्ति धनी हुँदै जाँदा पुँजीको केन्द्रिकरण भएको छ । यो समस्याको समाधानका लागि अहिलेको सामाजिक उत्पादनको उद्देश्य जुन नाफा छ, त्यसलाई बदल्नुपर्दछ । यद्यपि उक्त नयाँ उद्देश्यका बारेमा छलफल गर्नु यो लेखको उद्देश्य नभएकाले अन्यत्र नै छलफल गरिनेछ ।

दोश्रो— प्रविधिको विकासले सबैलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ । प्रविधिको प्रयोग आफ्नो लागि अरूले गरिदिन सम्भव छैन वा भए पनि त्यो सीमित स्तरमा मात्रै छ । यो एकदमै महत्त्वपूर्ण कुरा हो कि प्रविधिको प्रयोग व्यक्तिले आफैँ गर्‍यो भने मात्रै यसबाट सही अर्थमा लाभान्वित हुन सक्दछ । अरूबाट सहयोग लिँदा परनिर्भर बनाउने जोखिम हुन्छ । यो जसले खाना खायो त्यसैको भोक मेटिने जस्तो हो । चौबीसै घण्टा प्रविधि चाहिने हुँदा यसको सञ्चालनका लागि अरूको सहयोग लिने कुरा अव्यावहारिक छ ।

पहिलेपहिले खेती लगाउन एक्लै सम्भवै हुदैन्थ्यो । धेरै मानिस मिलेर एकअर्काको सहयोग गरेर लामो समय खर्ची खेतीपाति गर्नुपर्ने हुन्थ्यो । कपडा बुन्दा पनि लामो समय लाग्दथ्यो । दाउरामा आगो फुक्न जति छिटो भने पनि केही मिनेट लाग्थ्यो । उज्यालोका लागि दियालो, मैनबत्ती वा मट्टीतेलको प्रयोग गर्नु पर्दथ्यो । सामान बोक्नका लागि दर्जनौं मानिस लागेर सीमित तौल ढाडमा बोक्दै वा टाउकामा राखेर उतार्नु पर्दथ्यो । यस्ता अनेकौं काम छन्, जसबाट मानिसले केही सिक्दैनथ्यो । तर, पनि दोहोर्‍याएर गरिरहन बाध्य थियो । ती दिक्क लाग्ने काम थिए । ती काम गर्दा मानसिक तथा शारीरिक फाइदा हुँदैनथ्यो । अहिले प्रविधिको प्रयोगले ती सबै कामलाई सहज र एक्लै गर्नसक्ने बनाइदिएको छ ।

प्रविधिको प्रयोगले हेक्टरका हेक्टर जमिन एक व्यक्तिले नै खनजोत गर्न सक्दछ । हजारौं किलो तौललाई एकै पटक एक मानिसले मात्रै छोटो समयमा यताउता गराउन सक्दछ । अहिले अवस्था यस्तो छ प्रविधि चलाउन जानेको मानिसले एक्लै गर्न नसक्ने काम कम छन् । अन्यसँग अर्मपर्म तथा हातेमालो गर्नुपर्ने बाध्यताबाट मुक्त भएको छ । अहिले न हावाले बत्ती निभ्ने डर छ, न त आगो बाल्नका लागि कन्दै मुखले फुक्नुपर्ने बाध्यता छ । न त जंगलमा गएर काँधमा रूख बोकेर ल्याउनुपर्ने नै छ ।

प्रविधिको यस्तो व्यापक विकास र प्रयोग भएको छ कि मानिसले चाहेमा आफ्ना आधारभूत सबैजसो भौतिक कुराहरूको उत्पादन गर्न सक्षम बनेको छ । अब मानिसले दिनमा एक छोटो समय छुट्टाएर आफूलाई चाहिने खाना तथा नानाको व्यवस्था आफैँ गर्न सक्दछ । वास्तवमा आधारभूत कुरामा मानिस स्वतन्त्र हुनु अर्थात् आफ्नै उत्पादनमा निर्भर हुन वा आत्मनिर्भर हुनु भनेको हजारौं वर्षदेखि उसको हात खुट्टामा बाँधिएको सिक्रीलाई चुँडाउनु बराबर हो । यसले मानिसलाई पूर्ण स्वतन्त्रतातर्फ लाग्नका लागि ऐतिहासिक अवसर दिएको छ ।

प्रविधिले मानिसलाई यसको सही प्रयोगका लागि सकारात्मक दबाब वा प्रेरणा दिने तागत बनाइसकेको छ । यसको दुरूपयोगमा अल्झिने मानिस छिट्टै बेकम्बा हुने हुँदा त्यसो गर्नु मुर्खतापूर्ण काम हो । त्यो गलत हो भनेर बुझ्नका लागि मानिसलाई लामो पाठ पढाइरहुनु पर्दैन । अनुभवले सिक्दै जानेछ । प्रविधिले यसरी बौद्धिक र भौतिकरूपमा आत्मनिर्भर बन्नका लागि उपलब्ध गराएको यो अवसर महान् छ । ढिलोचाँडो यो अवसरको सदुपयोग गर्नबाट मानिस चुक्ने छैन ।

कतिपय सन्दर्भमा प्रविधिले मानिसबीचको सम्बन्ध वा सामाजिक सम्बन्ध कमजोर बनाइदिएको भन्ने गरिन्छ । यद्यपि संसारको अर्को कुनामा बसेको मानिससँग अन्तर्क्रिया गरिरहेको व्यक्तिले नजिककोलाई पहिलाजस्तो समय दिएन भन्दैमा सामाजिक सम्बन्ध कमजोर भएको निचोड निकाल्नु उपयुक्त हुँदैन । अवश्य पनि माथि भनिएजस्तै प्रविधिले हाम्रो सामाजिक सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बनाइदिएको छ । यसको मतलब यो होइन कि प्रविधिका कारण समाज विग्रहमा जान्छ । कतिपय प्रविधिसँग अनावश्यकरूपमा भुलेर वा लतमा फसेका कारण समाजबाट अलग्गिएका पनि हुन सक्दछन् । त्यो बेग्लै कुरा हो ।

वास्तवमा भएको के हो भने अहिले सामाजिक सम्बन्धमा व्यापक परिवर्तन आएको छ । पुराना सम्बन्धहरू असान्दर्भिक हुँदै गएका छन् । व्यक्तिले एक्लै धेरै काम गर्नसक्ने भएपछि उसको समाजप्रतिको निर्भरता घट्नु स्वाभाविक हो । त्यो कुनै नकारात्मक कुरा होइन । आफ्ना आधारभूत कुरा परिपूर्ति गर्नका लागि अर्कामा निर्भर हुँदा चाकडी गर्नुपर्ने वा खुसी पार्नुपर्ने बाध्यताबाट मुक्त भएको मानिसले पहिलेजस्तो व्यवहार अब गर्दैन । अब जे सत्य हो नि:स्वार्थ भएर बोल्न सक्छ । धेरै बोलिराख्नु पनि पर्दैन ।

अन्त्यमा,

वर्तमान विश्व व्यवस्थामा प्रविधिको नियन्त्रण केही सीमित पुँजीपतिको हातमा छ र यो आम मानिसको शोषणका लागि प्रयोग भइरहेको छ । यसका बाबजुद पनि आम मानिस यसबाट लाभान्वित भएका छन् । जब प्रविधिको नियमन र विकेन्द्रिकरण हुन्छ तब अहिलेको जस्तो शोषणका लागि प्रविधि हतियार बन्ने छैन । तब मानिसका लागि यसले झनै ठूलो अवसर लिएर आउने छ । मानिसलाई आत्मनिर्भर बनाई पूर्ण स्वतन्त्रताको यात्रामा लम्कन अहिले देखिएको प्रविधि कोशेढुंगा सावित हुनेछ । वास्तवमा अहिलेको आवश्यकता साम अल्टम्यानले भनेजस्तै यसको विकासमा अवरोध नहुनेगरी सक्रिय नियमनको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved