दुर्गा प्रसाईंको असफल आन्दोलनले राजावादीलाई भयो चार नोक्सानी

प्रसाईं आन्दोलनको हल्लीखल्ली निक्कै ठूलो थियो । तर, लिङ्देन र ज्ञानेन्द्र शाहले यो हल्लीखल्लीप्रति कुनै रुचि देखाएनन् । रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीजस्ता ‘नवराजावादी’ को समर्थनले प्रसाईंको आन्दोलनमा कुनै ऊर्जा आएन । बरु ‘मच्चियो, मच्चियो थच्चियो’ भन्ने उखान जस्तो मात्रै भयो । प्रसाईंको असफल आन्दोलनले राजावादी लाइनलाई उल्टै चारवटा गम्भीर राजनीतिक नोक्सानी भएको छ।

दुर्गा प्रसाईंको असफल आन्दोलनले राजावादीलाई भयो चार नोक्सानी

काठमाडौं । पाँच दिनमा व्यवस्था परिवर्तन गर्ने र राजतन्त्र फर्काउने हल्लासहित मंसिर ७ गते सुरु भएको दुर्गा प्रसाईंको काठमाण्डौंकेन्द्रित प्रदर्शन अन्ततः तुहिएको छ । न प्रसाईंले दाबी गरेजस्तो लाखौं मानिस सडकमा आए न त राजावादी समूहले नै उनलाई दिल खोलेर सहयोग गरे ।

प्रसाईंले हल्ला गरेजस्तो उनको पक्षमा कुनै माहोल देखिएन। अन्ततः उनी आफैं फिका सावित भए । प्रसाईंले आफूलाई मात्र हैन, सिंगो राजावादी शक्ति र आन्दोलनलाई नै हल्का र फिका सावित गर्दिए।

राजावादी दल राप्रपाभित्र नै प्रसाईंको आन्दोलनलाई सहयोग गर्ने विषयमा एक मत भएन। डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही प्रसाईंको आन्दोलनलाई समर्थन र सहयोग गर्नुपर्ने पक्षमा देखिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘नैतिक समर्थन गर्ने, भौतिक उपस्थिति नहुने’ नीति लिएका थिए।

प्रसाईंको आन्दोलनलाई सबै राजावादी शक्तिले एकमतले सहयोग गर्ने हो भने राम्रै राजनीतिक उपलब्धि हासिल हुन सक्दछ भन्ने कतिपयको बुझाइ थियो । तर, त्यसो भएन ।

अध्यक्ष लिङ्देनले प्रसाईंको आन्दोलनमा सहभागी नहुन र भौतिक सहयोग नगर्न राप्रपाभित्र कडा निर्देशन गरेका थिए । त्यसका बाबजुद पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत केही नेता ऐक्यबद्धता जनाउन सडकमा देखिए ।

झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले भने कुनै प्रतिक्रिया दिएनन् । उनी झापामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग एउटै मञ्चमा देखिए । प्रसाईंले ‘राजतन्त्र पुनर्स्थापनाका’ का लागि भन्दै राजधानीकेन्द्रित प्रदर्शन गरिरहँदा पूर्वराजा शाह भने झापामा राप्रपा अध्यक्षसँग एउटै मञ्चमा देखिनुले राजावादी कित्ताभित्र गहिरो अर्थ राख्ने बताइन्छ ।

ज्ञानेन्द्र शाहको विश्वास कमल थापाबाट केही वर्षअघि नै उठिसकेको थियो । राप्रपा महाधिवेशनमा पराजित भएपछि थापाले केही समय आवेगमा ज्ञानेन्द्र शाहको विरोध गर्दै हिँडे । उनले राजतन्त्रको मुद्दा परित्याग गरी ‘हिन्दू–राष्ट्र’ को मात्रै सवाल उठाउने सम्बर्द्धनवादी दलका रुपमा राप्रपा नेपाललाई ब्यूँताए । गत आम निर्वाचनमा एमालेको सूर्य चिह्नबाट चुनाव लड्न पुगे।

तर, उनी आफ्ना नयाँ निर्णयमा धेरै दिन टिक्न भने सकेनन् । स्वयं राजावादी धारमा पनि सबैको विश्वास गुमाए । राप्रपाका एक नेता भन्छन्– राजावादी राजनीतिमा अब कमल थापाको कुनै औचित्य र सान्दर्भिकता छैन ।

महाधिवेशनबाट पराजित भएलगत्तै पार्टी फोड्ने, राजतन्त्रको मुद्दा छोड्ने, स्वयं पूर्वराजाका बारेमा अनेक अन्टसन्ट बोल्दै हिँड्ने, राप्रपा नेपाल ब्यूँताउने तर एउटा दलको अध्यक्ष भएर अर्को दल एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने जस्ता कार्यपछि उनी लगभग समाप्त भएका छन् । भनिन्छ-  पूर्वराजा ज्ञानेन्द्र शाहले थापालाई एक चरम अवसरवादी र अतिमहत्वकांक्षी पात्रका रुपमा हेर्छन् । आफ्नो सान्दर्भिकता समाप्त हुँदै गएपछि थापा फेरि चर्को आवाजमा राजतन्त्रको कुरा गर्न थालेका छन् ।’

राजावादी धारको राजनीतिमा प्रसाईंको चर्चा बढ्न थालेपछि ज्ञानेन्द्र शाहले कमल थापालाई जस्तै राजेन्द्र लिङ्देनलाई पनि विश्वास गर्न छोडेको चर्चा चल्न थालेको थियो । प्रसाईंले कम्युनिष्ट पार्टी परित्याग गरी राजावादी अभियान सुरुवात गर्दा ज्ञानेन्द्र शाह सपरिवार काकरभिट्टा पुगेका थिए ।

यसपटक प्रसाईं आन्दोलनको हल्लीखल्ली निक्कै ठूलो थियो । तर, लिङ्देन र ज्ञानेन्द्र शाहले प्रसाईंको हल्लीखल्लीप्रति कुनै रुचि देखाएनन् । रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीजस्ता ‘नवराजावादी’ को समर्थनले प्रसाईंको आन्दोलनमा कुनै ऊर्जा आएन । बरु ‘मच्चियो, मच्चियो थच्चियो’ भन्ने उखान जस्तो मात्रै भयो ।

प्रसाईंको असफल आन्दोलनले राजावादी लाइनलाई उल्टै चारवटा गम्भीर राजनीतिक नोक्सानी भएको छ।

१. राजतन्त्रको मुद्दामा जनता सडकमा आउँदैनन् भन्ने पुष्टि

गणतन्त्र उल्टाउने र राजतन्त्र फिर्ता गर्ने उद्घोषका साथ आन्दोलनको आह्वान भएमा लाखौंको संख्यामा जनता सडकमा आउने विश्वास कतिपय राजावादीले गर्थे । यद्यपि यस्तो हुन सक्ने आधार भने देखिँदैनथ्यो । तर, निर्णायक संघर्षको घोषणा भएमा कुनै चमत्कार हुने आशा गरिन्थ्यो । राजतन्त्रप्रति आस्था र निष्ठा राख्ने जनमत अझै उल्लेखनीय छ भनिन्थ्यो ।

स्वयं प्रसाईंले कम्तिमा तीन लाख मान्छे सडकमा आउने बताउँदै आएका थिए । तर, प्रसाईं  आन्दोलनको पहिलो दिन करिब पाँच हजार मान्छे सडकमा देखिए पनि दोस्रो दिनदेखि त्यो आफैं सेलाएर गयो । प्रसाईंको प्रदर्शन पाँच दिन पनि टिक्न सकेन।

यसबाट राजावादी शक्ति र समर्थक निरास भएका छन् । राजाको नाममा ठूलै जनप्रदर्शन हुन र गणतन्त्र उल्टिन सक्दछ भन्ने उनीहरुको भ्रम टुटेको छ । यसले राजावादी राजनीतिबाट कार्यकर्ता र समर्थकको पलायन बढ्ने सम्भावना देखिन्छ ।

२.पूर्वराजाको छविलाई थप नोक्सानी

दुर्गा प्रसाईंको बोली र व्यवहारमा अनेक असंगति देखिन्छ । उनी जे पनि बोलिरहेका हुन्छन् । उनको बोलीमा कुनै मर्यादा, सन्तुलन, दृष्टिकोण र लगाम देखिँदैन । उनी कहिले महिलालक्षित अनेक अपमानजनक र अश्लील शब्द लाजैबिना बोल्दछन् भने निश्चित जाति र समुदायको नामै लिएर गाली गरिरहेका हुन्छन्।

पछिल्लो समयमा उनले ज्ञानेन्द्र शाहलाई समेत क्रस गरेर आफूलाई ‘पृथ्वी नारायण शाह र महेन्द्र शाहपछिको देशको तेस्रो सपुत’ भएको दाबी गर्न थाले । अझ अघि बढेर ‘भगवान कृष्णको नयाँ अवतार’ भन्न थाले ।

यस्ता उट्पट्याङ अभिव्यक्तिले प्रसाईंलाई भन्दा बढी नोक्सानी स्वयं ज्ञानेन्द्र शाहको छविलाई भयो । शाहले प्रसाईंजस्तो हल्का र सस्तो मान्छेलाई किन अघि सारेका वा समर्थन गरेका होलान भन्ने भाव जनताको मनमा उत्पन्न भयो । जनताको आँखामा स्वयं शाह हल्का र सस्तो सावित भए ।

३.राप्रपामा विग्रहको विजारोपण 

प्रसाईंको असफल आन्दोलनले राजावादी धारको सबैभन्दा ठूलो राजनीतिक समूह राप्रपामा मतभेद, विभाजन र विग्रहको बिउँ रोपिएको छ । रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीजस्ता नयाँ राजावादीले बढी नै खरानी घसेको र प्रसाईंलाई हिरो बनाएर पार्टी अध्यक्ष लिङ्देनलाई कमजोर पार्न खोजेको बुझाई संस्थापन पक्षको छ ।

लिङ्देन मिश्र र शाहीसँग भित्रभित्रै चिढिएका छन् । यो मनोवैज्ञानिक दुरीले भविष्यमा राप्रपालाई विग्रहतिर लैजाने सम्भावना बढेको छ ।

राप्रपाका ती नेता भन्छन्–‘राजेन्द्र लिङ्देनको नेतृत्वमा सकिन लागेको पार्टी बल्लबल्ल तंग्रिएको छ । अब सबै फेरि लिङ्देनलाई कमजोर बनाउने खेलतिर लागेका छन् । यसरी कसरी हुन्छ ? मिश्र र शाहीलाई हिजोका दिनमा राप्रपा हुनुको पीडा, दु:ख र अपमान के थाहा ? अहिले चुरीफुरी गरेर हुन्छ ?’

४. अन्तर्राष्ट्रिय समुदायको आँखामा हल्का सावित

पछिल्लो आम निर्वाचनमा राप्रपाको बढोत्तरीलाई सबैले ‘रिकनाइज्ड’ गरेका थिए । विदेशी कूटनीतिज्ञहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटघाट गर्ने र देशको एक राजनीतिक शक्तिसँग गर्नुपर्ने सम्मानजनक व्यवहार गर्ने गरेका थिए ।

छिमेकी देश भारतको रुढीवादी तप्कामा समेत नेपालमा राजावादी एक उल्लेखनीय शक्ति हुन् भन्ने भ्रम थियो । प्रसाईंको असफल आन्दोलनपछि त्यो बुझाई कमजोर हुने देखिन्छ ।

राजावादीहरू हिजो भारतमा ‘युपिए गठबन्धन’ सत्तामा हुँदा नेपालका तत्कालीन सात दल र युद्धरत विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको, त्यसैका आधारमा नेपालमा राजतन्त्र समाप्त भई गणतन्त्र स्थापित भएको, त्यहाँ ‘एनडिए गठबन्धन’ र भाजपा सरकारमा आएपछि नेपालमा राजतन्त्र स्थापनाका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्दछन् ।

यद्यपि उनीहरुका यस्ता मागलाई नरेन्द्र मोदी नेतृत्वको ‘हिन्दू–राष्ट्रवादी’ सरकारले कुनै महत्व दिने गरेको छैन । दिल्लीले कुनै महत्व नदिएपछि ज्ञानेन्द्र शाह बेलाबेला लखनउ जाने गर्थे । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ज्ञानेन्द्र शाहप्रति सहानुभूति भएको बताइन्थ्यो ।

दुर्गा प्रसाईंको असफल र कमजोर आन्दोलनले राजावादीहरुको शक्ति र सान्दर्भिकता अन्तर्राष्ट्रिय समुदायका आँखामा पनि फिका भएको छ ।

समग्रमा दुर्गा प्रसाईंको असफल जनप्रदर्शनले सबैभन्दा बढी घाटा कसैलाई भएको छ भने स्वयं राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved