महोत्तरीको जलेश्वरमा रास्वपाको बैठक सुरु

महोत्तरीको जलेश्वरमा रास्वपाको बैठक सुरु

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीको वृहत बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ।

तीन दिनसम्म चल्ने सो बैठकमा पार्टीको केन्द्रीय समिति सदस्य, सांसद, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । यस्तै  बैठकमा रास्वपाको मधेस प्रदेश सभापति र महामन्त्री समेत सहभागी  थिए ।

उक्त बैठकलाई पार्टी स्थापना भएपछिको सबैभन्दा बृहत बैठक बताइएको छ। बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराएका छन् । महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेश गर्ने कार्यसूची रहेको छ ।

आज नै पार्टी सभापति बाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको छ । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गर्नेछन् भने आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेश गर्नेछन् । नीति विचार प्रतिनिधि मण्डलको बैठक पनि आज साँझ नै बस्ने तय भएको बताइएको छ ।

त्यसैगरी मंगलबार बिहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्नेछ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने विहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे प्रतिवेदन पेश गर्ने बताइएको छ।

मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ । महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रिया सहितको प्रतिवेदन मंगलबार पेश गर्नेछन् ।

तेस्रो दिन बुधबार विहान ७ बजे सुरु हुने बैठक १२ः३० मा सक्ने कार्यतालिका छ । महाधिवेशन कार्यविधि तथा प्रक्रियामाथि दुई घण्टाभित्र सहभागीहरुले धारणा राख्नेछन् । त्यसलगत्तै, नीति र विचारमाथि बोल्नका लागि एक घण्टाको समय छुट्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved