टिकटक बन्दको निर्णयसँगै विरोध सुरू, प्रयोगकर्ता भन्छन्-विरोधको डर भए कुशासन बन्द गर !

‘रील’को कमिसन खाएर ‘टिकटक’ बन्द गरिएको आशंका

आलोचना र विरोधको डर छ भने टिकटक होइन, कुशासन बन्द गर’, सुशासनको बाटो हिँड । आफ्नो नियत सुधार र देशलाई गतिलो बनाऊ । तिनै टिकटकमा एकदिन तिम्रो जयजयकार हुन्छ । दाग अनुहारमा छ भने रिसले ऐना फुटालेर केही हुँदैन ।

नेपालभ्युज

टिकटक बन्दको निर्णयसँगै विरोध सुरू, प्रयोगकर्ता भन्छन्-विरोधको डर भए कुशासन बन्द गर !

काठमाडौं । सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ बहानामा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै विरोध सुरु भएको छ।

नेपालमा ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेसँगै कतिपयले सरकारको नियतमै प्रश्न उठाएका छन् ।

राजनीतिक दलका नेतादेखि प्रयोगकर्ताले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि विरोध गर्न शुरू गरेका हुन् ।

कतिपयले भनेका छन्, ‘आलोचना र विरोधको डर छ भने टिकटक होइन, कुशासन बन्द गर’, सुशासनको बाटो हिँड ।’ टिकटक प्रयोगकर्ता पत्रकार लेनिन बन्जाडे लेख्छन्, ‘‘आफ्नो नियत सुधार र देशलाई गतिलो बनाऊ । तिनै टिकटकमा एकदिन तिम्रो जयजयकार हुन्छ । दाग अनुहारमा छ भने रिसले ऐना फुटालेर केही हुँदैन ।’’
कतिपय प्रयोगकर्ताले भने अरूको प्रगतिमा जल्नेहरूले टिकटक बन्दको विरोध गरेपछि सरकारको नियतमा प्रश्न उठाउने ठाउँ रहेको बाएका छन् ।

दुर्गा पंगेनी भन्छन्, ‘‘टिकटकबाट पैसा कमाउन नसकेकाहरू, जति उफ्रेर उपद्रव गर्दा पनि भाइरल हुन नसकेकाहरू, अरूको चर्चा र प्रगतिमा डाहा गर्नेहरू “टिकटक बन्द” हुँदा खुशी भएका छन् । टिकटकमा विकृति मात्रै थिएन, व्यापार थियो विज्ञापन थियो मनोरञ्जन थियो समग्रमा धेरै मेहनतीहरूको आम्दानीको स्रोत बनिसकेको थियो टिकटक । यसलाई बन्द गर्ने सरकारी निर्णय त्रुटिपूर्ण छ । फेसबुक इन्स्टाग्राम रिल्स, युट्युब सर्ट्सलगायत अन्य धेरै छोटा भिडियो प्लेटफर्महरूमा लगभग सबै समानता छ । फेसबुक र गुगलले त छोटा भिडियो मोनिटाइज गराएर पैसा समेत मनग्य दिइरहेका छन् । टिकटक अलि बढी युजरफ्रेण्डली भएको कारण बढी लोकप्रिय भएको हो। टिकटक बन्द हुँदैमा पब्लिकको भिडियो बनाउने बानी बन्द हुँदैन । विकृति हटाउन जनता लाई शिक्षित बनाउने हो, नियमन गर्ने हो–जनता बानी परेको ठामै हटाएर के गर्नु उनीहरू अर्को प्लेटफर्ममा जान्छन् ।’’

टिकटक बन्द गर्ने सरकारको निर्णय

पत्रकार मानसी पौडेलले भने टिकटक जस्तै ‘फेसबुक रील’ चल्ने अनि ‘टिकटक’ मात्रै बन्द हुँदा सरकारको नियतमा आशंका गरेकी छिन् । उनी भन्छिन्, ‘‘रीलले ठूलै कमिसन दिए जस्तो छ । उपसमिति गठन नगरी सरकारले सिधै टिकटक बन्द गर्‍यो त ।’’

कतिपयले भने यो निर्णय कार्यान्वयन नहुने बताइरहेका छन् । टिकटक प्रयोगकर्ता प्रवीण सुवेदी एक्स (ट्विटर)मा लेख्छन्, ‘टिकटक बन्द गर्ने निर्णय टिक्न गार्हाे छ । १) व्यापक विरोध पश्चात् सरकारले फिर्ता लिन्छ । २) अदालतबाट न्यायिक पुनरावलोकन हुन सक्छ । ३) प्राविधिक रूपमा चुनौतीपूर्ण छ । ४) सरकारले निर्णय कार्यान्वयन गराउन सक्दैन ।’’

यता एमाले नेता महेश बस्नेतले भने सरकारको निर्णयको स्वागत गरेका छन् । केही समयअघि टिकटककै विवादित भिडिओ सार्वजनिक भएपछि उनी आक्रोशित थिए ।

अहिले उनले भनेका छन्, ‘‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस् ।’’

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले टिकट बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved