जनार्दन शर्माको पुनः प्रष्टीकरण– व्यापारिक लाभ लिन नपाएकाहरू ममाथि खनिए

नेपालभ्युज

जनार्दन शर्माको पुनः प्रष्टीकरण– व्यापारिक लाभ लिन नपाएकाहरू ममाथि खनिए

काठमाडौं। भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहत बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएको भन्दै विभिन्न मिडियामा समाचार आएपछि पूर्वअर्थमन्त्री जनार्दन शर्माले पुनः खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा त्यसबारे प्रस्ट पारेका उनले विज्ञप्ति जारी गर्दै ‘हुँदै नभएको ट्रक र सोलारको कुराहरू जनतालाई भ्रम दिने दुष्प्रयास’ भन्दै खण्डन गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य शर्माले काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई बीच बाटोबाटै कब्जा गर्दै रुकुम पश्चिम पठाएर संवेदनहीन राजनीति गरेको भन्दै विभिन्न मिडियामा समाचार प्रकाशन भएको थियो । शर्माले भने यथार्थतालाई तोडमोड गरी समाचार प्रकाशन गरिएको आरोप लगाएका हुन् ।

शर्माले आफू भूकम्पलगतै आफू क्षति बुझ्न, पीडितका पीडा सुन्न, घाइतेको उद्धार र पीडितको राहतका लागि प्रभावित क्षेत्र पुगेको बताएका छन् । उनले पछिल्लो समाचार तथ्यहीन, कपोलकल्पित र भ्रामक रहेको भन्दै शर्माले सम्पादकले स्थानीय संवाददातालाई ‘यो–यो कुरा लेख्नु’ भनी लगाएको भन्ने बुझिन आएको दाबी गरेका छन् ।

जनार्दन शर्माको प्रष्टोक्ति- राहत कब्जा गरेको छैन, यथार्थलाई तोडमोड गरी समाचार आयो

उनले भनेका छन्, ‘‘म अर्थमन्त्री भएका वेला ‘स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्छ’ भनी मलाई दिएको दबाबबाट सुरु भएको सुनियोजित षड्यन्त्रपूर्ण समाचार श्रृखलाकै रूपमा मैले यसलाई लिएको छु । लाइसेन्स दिने अधिकार मन्त्रीको हातमा नभएको, प्रक्रियासंगत ढङ्गले अगाडि बढ्ने कुरा मैले जानकारी गराएपछि बारम्बारको अनर्गलको प्रचार र मलाई जोडेर लेखिएका आधा दर्जनभन्दा बढी भ्रमपूर्ण सम्पादकीयबाट उनीहरूको नियत स्वतः स्पष्ट हुन्छ ।’’

उनले विपत्तिका बेला सहयोग गर्ने मित्रराष्ट्र, देशभित्रका सबै संघसंस्था, उद्योगी व्यवसायी तथा सबैमा धन्यवाद दिएका छन् । खोज, उद्धार तथा राहतको कार्यमा अहोरात्र खटिने सबै सुरक्षाकर्मी, राष्ट्रसेवक, नेपाल रेडक्रस, नेपाल स्काउटलगायतका संघ–संस्था, राजनीतिक दलका भ्रत् संस्था तथा व्यक्तिहरू सबैमा हार्दिक धन्यवाद दिएका छन्।

यता जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)ले पनि समाचारप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको बताएको छ ।

समाचारमा उल्लेखित राहत सामाग्रीहरूको वितरणको सम्बन्धमा यस कार्यालयमा समेत कुनै अभिलेख नरहेको बताएको छ ।

साथै सम्बन्धित आठविसकोट नगरपालिकाको नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्दा समेत सामाग्री वितरण नभएको जानकारी हुन आएको बताएको छ ।

उसले विज्ञप्ति जारी गर्दै भनेको छ ‘‘जिल्लामा विभिन्न निकायहरूबाट प्राप्त राहत सामाग्रीहरू वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरूमा वितरणको’लागि पठाउने गरिएको विषय जानकारी गराउँदै यो विपद्को समयमा यस प्रकारका यो र अन्य समाचारहरू सम्बन्धित निकायहरूबाट आधिकारिकता बुझेर मात्र सम्प्रेषण गर्नु÷गराउनु, हुन समेत अनुरोध गरिन्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved