पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

नेपालभ्युज

पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । आज आठ हजार पाँच सय भक्तजन पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।

मङ्गलबार चालु आर्थिक वर्ष सुरु भएपछि एकै दिन दर्शन गर्नेमध्येको सबैभन्दा धेरै रहेको पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी राजेन्द्र महतले बताए । महतका अनुसार दसैँको नवरात्रदेखि दसैँ अवधिभरमा एकै दिन छ हजार छ सयले मन्दिरको दर्शन गरेको अभिलेख छ । तर मङ्गलबार साढे आठ हजारले पाथीभरा मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

दर्शनार्थी बढी भएपछि केही समय मन्दिर दर्शनको लाइन व्यवस्थापनसमेत हम्मे परेको महतले बताए । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिको अगुवाइ र समन्वयमा मन्दिर दर्शन प्रक्रिया सहज बनाउन सहयोगीले भूमिका खेल्दै आएका छन् ।

दसैँको अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार तीन सय ६८ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य याम मानिन्छ ।

यस वर्ष दसैँपछि भने दर्शनार्थी बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा दर्शन गर्न मौसम अनुकूल रहेको, सडकसमेतमा मर्मतसम्भार र स्तरोन्नतिको कार्य चलिरहेको र आउँदा जाँदा समस्या कम हुन थालेपछि तीर्थालु थपिन थालेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved